
कृतज्ञता अर्थात हृदय देखिको प्रशन्नता र धन्यवाद भावमा ठूलो शक्ति छ । हामीबाट व्यक्त भएको कृतज्ञ भावले अर्को व्यक्तिलाई समेत आनन्दित बनाउँछ । यसले हामीलाई थप जिम्मेवार र अनुशासित बनाउँछ । आफू कुन बाटोमा छु भन्ने कुरा ज्ञात गराउँछ । आफूमा निरन्तर कृतज्ञता अभ्यास बढाउँदै लैजाँदा हामीले थुप्रै शारीरिक, मानसिक एवं भावनात्मक समस्याबाट छुटकारा समेत पाउन सक्छौं । साथै हामी आफू चेतनाको कुन अवस्थामा छु भन्ने ज्ञान समेत प्राप्त गर्दै जान सक्छौं । आफैं भित्रका सकारात्मक तत्वहरु, खुसी, आनन्द र अनन्त कार्यक्षमता बारे सजग समेत बन्दै जान सक्छौं । बिस्तारै–बिस्तारै यसरी आत्मनिरीक्षण तर्फ गहिरिँदै जाँदा हामीले आफूले थाहै नपाई हाम्रो अवस्थामा बदलाव आएको महसुस हुँदै जान थाल्नेछ । जब हामी सचेत रुपमा आफ्ना विचार र भावनाहरुको निरीक्षण गर्न शुरुवात गर्छौं, तब हामी आफ्नो वर्तमान अवस्था बारे जानकारी त प्राप्त गर्छौं नै । साथै हामी कुन गञ्तव्य तर्फ अघी बढ्न चाहेका छौं, त्यस गञ्तव्यमा अघी बढ्ने क्रममा हामी अहिले कुन स्थितिमा छौं, हाम्रा अहिलेका बाधाअवरोधहरु के हुन् ? त्यस नयाँ गञ्तव्यमा पुग्नको लागि हामीले आफूमा के–कस्ता बदलावहरु ल्याउनुपर्छ ? हाम्रा अहिलेका राम्रा पक्षहरु के–के हुन् ? कुन–कुन कुराहरुमा सुधार ल्याउनुपर्छ भन्ने कुराको समेत पहिचान गर्न सक्छौं । जब हामी सचेत रुपमा यस्तो अभ्यास शुरुवात गर्छौं र त्यस अभ्यासलाई बढाउँदै लैजान्छौं, तब हाम्रो जीवमा एक पछि अर्को गर्दै अन्य राम्रा वस्तु, परिस्थिति र घटना प्राप्ति वा घटित हुँदै जान्छन् ।
यदि हामीमा सकारात्मक सोच, दृष्टिकोण र योजनाहरु धेरै छन् भने हामी स्वभाविक रुपमा सकारात्मक कर्म तर्फ प्रेरित हुन्छौं, यदि हामीमा नकारात्मक सोच र दृष्टिकोणको मात्रा बढी छ भने हामी नकारात्मक कर्म तर्फ नै प्रेरित हुन्छौं । किनकि हाम्रो मष्तिष्कले एकै पटकमा राम्रो र नराम्रो दुवै कुरा सोच्न र काम गर्न सक्दैन । आफ्नो मष्तिष्कमा भएको सकारात्मक सोच र योजनाले हामीलाई केही समय सकारात्मक यात्रामा अघी बढाउँछ, त्यस अवस्थामा हामीमा एक पछि अर्को सकारात्मक योजना र उपलब्धि प्राप्ति भएको हामीले महसुस गर्दछौं । जब हामीमा नकारात्मक चीजहरुले प्रभाव पार्न शुरु गर्दछन्, त्यसपछि एक पछि अर्को गर्दै थप नकारात्मक घटनाहरु नतिजाको रुपमा हामीलाई प्राप्ति हुन थाल्दछन् ।
अहिले सम्म हामीले सचेत रुपमा आफ्नो अवस्था विष्लेषणको लागि कुनै प्रयत्न गरेनौं, जसले गर्दा अहिले हामीलाई जे प्राप्त भएका छन्, यत्तिकै अर्थात् हाम्रो सचेत अभ्यास बिना प्राप्त भए । अर्थात् हाम्रो पारिवारिक पृष्ठभूमि, वातावरण, शिक्षा, सङ्गत, हामीले समाजबाट कुनै वस्तु, व्यक्ति वा घटना प्रति हेर्न सिकेको दृष्टिकोण, सामाजिक एवं धार्मिक मूल्य मान्यता, हामीमा स्वभाविक रुपमा विकास भई स्वचालित बनिसकेका हाम्रा सोच र बानी व्यवहार, विगतका अनुभव लगायतबाट हामी अहिलेको अवस्थामा आयौं । अब हामीले आफ्नो उत्पादकत्व, सामाजिक दायित्व (योगदान), आर्थिक पक्ष, सामाजिक प्रतिष्ठा बढाउने हो भने बिस्तारै–बिस्तारै तर निरन्तर रुपमा सचेत प्रयत्न गर्नु जरुरी छ । हामीले जुन दिशामा कदम चाल्छौं, त्यस दिशामा काम गर्ने क्रममा उक्त कामबाट प्राप्त हुने नतिजा चक्रीय रुपमा वृद्धि हुँदै हामीलाई प्रतिफल दिन्छ । यसरी आफूमा सकारात्मक मनोभाव विकास गर्नको लागि पहिलो प्रयत्न कृतज्ञता अर्थात् धन्यवाद भावलाई बनाउँ ।
कृतज्ञता अभ्यास हामीलाई सकारात्मक मनोभाव विकासको लागि निकै महत्वपूर्ण हुन्छ । स्वभाविक रुपमा हामी आफूमा धेरै हद सम्म तत्कालिन लाभ र आवश्यकतालाई बढी महत्वपूर्ण ठान्छौं । दीर्घकालिन उद्देश्य सहित सुझबुझमा अघी बढाउन निरन्तर चालिरहने भनेर गरिएका संकल्पहरुबाट हामी छिट्टै थकित बन्न पुग्छौं । किनकि हामी माथि अर्थात् हाम्रो बौद्धिक एवं रचनात्मक क्षमता माथि धेरै हद सम्म संवेग र भावनाले हामीलाई निर्देशित गर्दछन् । जब सम्म हामी सचेत रुपमा जीवन जिउन प्रयत्न गर्दैनौं, तब सम्म हाम्रो गञ्तव्य निश्चित दिशामुखी नबन्न सक्छ । मानिसका आर्थिक, भौतिक, पारिवारिक, स्वास्थ्य, व्यक्तिगत सम्बन्ध लगायतका हरेक क्षेत्रको विकासको लागि निश्चित योजना र उद्धेश्य सहित गञ्तव्यमुखी तवरले अघी बढ्न सक्नुपर्छ । यसको लागि आवश्यक रहन्छ कृतज्ञता अभ्यास ।
यसरी कृतज्ञतालाई अभ्यास बढाउँदै लैजाने क्रममा हामीले चाहे अनुसार जीवनमा परिवर्तन हुँदै जाने थाल्नेछ । बिमारीको बदलामा सुस्वास्थ्य, चिन्ता र तनावको बदलामा खुसी, प्रशन्ता र आनन्द, पराजयको बदलामा विजय लगायत हामीलाई प्राप्ति हुनेछन् । किनकि जब हामीले आफ्नो केन्द्रबिन्दु (फोकस एरिया) बदल्छौं, तब हाम्रा उपलब्धि पनि सोही बमोजिम बदलिँदै जान थाल्नेछन् । आफ्नो व्यवहार बदलावका लागि प्रयत्न गर्ने क्रममा परिणाममा बदलाव देखिन शुरुवादी दिनमा अलि लामै समय पनि लाग्न सक्छ, तथापि हामीले गरेका स्वभाविक वा सचेत प्रयत्नको प्रतिफल त हामीले पाउनैपर्छ र पाउँछौं नै । जब यस किसिमको अलग दिशामा हुने रुपान्तरणको अनुभव गर्न हामीलाई प्रारम्भिक चरणमा अलि बढी नै समय लाग्न सक्छ । तथापि जब हामीलाई यस किसिमको अनुभव हुन शुरु गर्छ, त्यसपछि आउने सकारात्मक बदलावको गति तीव्र बन्दै जान्छ । किनकि चक्रीय नियमले शुरुवाती चरणमा खासै असर देखाउँदैन, जब यसमा असर देखिन्छ, तब यसले घाताङ्कीय (एक्स्पोनेन्सियल) दरमा वृद्धि वा प्रभाव देखाउन थाल्नेछ । हामीले जे काम गर्छौं, त्यो काम बानी बन्दै जाने क्रम अर्थात रुपान्तरणको प्रक्रियामा त्यसको प्रभाव हामीमा चक्रीय रुपमा वृद्धि हुँदै जान्छ । यसरी प्राप्त हुने नतिजा हाम्रो लागि चामत्कारिक उपलब्धि भएको हामीले महसुस गर्नेछौं ।
विगतबाट जे सिक्यौं…..
अहिले सम्म हामी आफूलाई सधैंजसो सदैव अभागि नै ठानिरह्यौं । कहिलेकाहीँ हामीले आफू बढी नै कमजोर वा पीडित देखिएर अन्य व्यक्तिहरुको ध्यान आकर्षित गर्ने प्रयाश पनि गरेका हुन सक्छौं । हामी आफूलाई अन्य व्यक्तिले कठै विचरा भनेको खण्डमा आफू माथि कृपा भएको महसुस गर्छौं । यो मानवीय स्वभाव हो तर यस किसिमको करुणाले हामीलाई तत्कालको लागि शान्ति वा आनन्दको अनुभुति गराएपनि त्यसले पार्ने दीर्घकालिन प्रभाव सकारात्मक हुँदैन, बरु हामीलाई थप कमजोर बन्नको लागि बल प्रदान गर्छ । यसकारण अब हामी अन्य व्यक्तिको दया र करुणाको कारण बन्नुछैन, बरु हामी समाजको प्रेरक पात्र बन्नुछ, मार्गदर्शक बन्नुछ । त्यसकै लागि हामीले आफूमलाई थोरै तर नियमित रुपमा कृतज्ञ अवस्थामा राखिरहनु जरुरी छ । हामीले कृतज्ञता अभ्यासलाई हरेक दिन अभ्यास गर्दै जानेछौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij