
काठमाडौं । ग्लोबल आइएमई बैंकले निर्यात व्यवसायी महासंघ नेपालमा आवद्ध सदस्यहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।
हिजो बानेश्वरको होटल एभरेष्टमा एक भव्य कार्यक्रम बीच उक्त समझदारी भएको हो ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा महासंघका अध्यक्ष रामबहादुर गुरुङ्गले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकले निर्यात व्यवसायीहरुलाई आवश्यकताअनुसार अल्पकालिन तथा दीर्घकालिन अवधिसम्मका लागि सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्नेछ । ग्लोबल आइएमइ बैंकका अध्यक्ष एवं चर्चित उद्यमी चन्द्र ढकाल आफू पनि निर्यात क्षेत्रको प्रवद्र्धनमा केन्द्रित भइरहेको र साना एवं मझौला व्यवसायीहरुसँग सहकार्यमा रही व्यावसायिक प्रवद्र्धनमूलक कार्य गर्न पाउँदा गौरवान्वित भएको बताउनुभएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आफूहरु विगत देखि नै साना व्यवसायीहरुसँगकै सहकार्यमा यो उचाइ प्राप्त गर्न सफल रहेको बताउँदै आगामी दिनमा पनि औचित्यतालाई विचार गरी सहकार्यमा अन्य कार्यहरु समेत गर्न इच्छुक रहेको बताउनुभयो । बज्राचार्यका अनुसार बैंक र व्यवसायी आपसी सहकार्यमा अघी बढ्नुपर्ने आवश्यकतालाई ख्याल गर्दै बैंकले कुल कर्जा मध्ये ६० प्रतिशत एसएमइ लोन नै प्रवाह गरेको बताउनुभएको छ ।
बज्राचार्यले सार्वजनिक गरेकाे व्यावसायिक सहजीकरण प्याकेज अन्तरगत अब महासंघका सदस्यहरुले स्प्रेड दर भन्दा ०.५ प्रतिशत मात्र बढाएर सहुलियतपूर्ण कर्जा पाउन सक्नेछन् । डलर खातामा २.५ प्रतिशत व्याजको अलावा सहज रुपमा कर्जा प्रवाह गरिनेछ । यसको अलावा अन्तराष्ट्रिय रुपमा हुने मुद्रा कारोबारलाई सहज बनाउन आफूहरु पेपलसँग सहकार्यको लागि प्रक्रिया अघी बढाएको समेत बज्राचार्यले बताउनुभयो ।
बैंकले महासंघका सदस्यहरुलाई आवश्यक अन्य बैंकिङ्ग सेवालाई सरल र सहज रुपमा उपलब्ध गराउने जनाएको छ ।
सम्झौता अनुसार बैंकले कर्जा प्रदान गर्ने, निकासी डकुमेण्ट खरिद गर्ने, नगद अनुदान, पुनरकर्जा, विदेशीमुद्रा खाता तथा सटही सुविधालगायत निर्यात व्यवसायसँग सम्बन्धी अन्य सेवाहरु उपलब्ध गराउने छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीको प्रमुख उद्देश्य देशमा उत्पादित वस्तुहरुको निर्यात वृद्धि गरी अर्थतन्त्रलाई थप मजबुत बनाउने रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा महासंघका अध्यक्ष तथा गण्डकी प्रदेश सांसद राम गुरुङ्गले महासंघले आफ्ना सदस्य निर्यात व्यवसायीहरुलाई बैंकसँग कारोबार गर्न सुसुचित गराउने बताउँदै सहकार्यको लागि बैंकप्रति आभार समेत प्रकट गर्नुभयो ।
महासंघका महासचिब दुर्गा विक्रम थापाले निर्यात प्रवद्र्धनको लागि उत्पादन वृद्धि, डिजाइन तथा प्याकेजिङमा सुधारको अलावा अन्तर्राष्ट्रिय प्रवद्र्धनमा विशेष केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको थियो । नेपालबाट बढी निर्यात हुने वस्तुमा पाम, यार्न र जुट भएको बताउँदै निर्यातमा रहँदैआएका समस्या न्यूनीकरणमा सबै पक्षको सहयोग रहेको बताउनुभयो । साथै बैंकको सहकार्य प्रति उहाँले महासंघ पक्षबाट खुसी समेत प्रकट प्रकट गर्नुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij