पछिल्लो समय नेपालका ग्यास व्यवसायीहरु ग्यासमा कमिसन रकम कम भयो भन्दै यसको विरोध गर्दै आएका छन् । लगानी, घरभाडा, दैनिक जीवनयापन खर्च लगायत अन्य सबै कुराहरु बढेर निकै माथि पुगेको अवस्थामा प्रति सिलिण्डर प्राप्त गर्ने ३२ रुपियाँ कमिसन मध्ये ४ रुपियाँ भ्याट बापत राज्यलाई तिर्दा बच्ने २८ रुपियाँ अप्रयाप्त रहेको अधिकृत ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापा बताउँछन् । अहिले एउटा सिलिण्डर बिक्री गर्दा सामान्य खाजा समेत खान नसक्ने अवस्था रहेको भन्दै ग्यास व्यवसायीहरु साँच्ची समस्यामा नै रहेको गुनासो गरेका हुन् ।

ग्यास व्यवसाय प्रत्यक्ष जनजिविकासँग जोडिएको र सबैको निम्ति अत्यावश्यक वस्तु समेत भएको कारण यस व्यवसायमा काम गर्ने व्यवसायीहरु उपभोक्ताको हितलाई ध्यानमा राख्दै बन्द हड्तालको सधैं विरोधी रहेका र आफू पनि त्यसमा नलागेको समेत बताए ।
अहिले नेपाल निर्वाचनमा होमिएको अवस्थामा आफू लगायतका ग्यास व्यवसायीहरु बन्दहड्तालको पक्षमा नरहेको बताउँदै देशैभर जुन तवरले ग्यासको सहजतामा लैजानको निम्ति देशैभरका व्यवसायीहरुलाई महासंघले सहज तवरले ग्यास उपलब्ध गराउन सर्कुलर गरेको बताएका छन् । यद्यपि हामी लामो समय देखि राज्यलाई दबाब दिने काम भने गरि नै रहेको बताउँदै राज्यले आफूहरुका समस्या समाधानमा चासो नदिए बाध्यतावश निर्वाचन पश्चात् आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने थापा बताउँछन् ।
आफूहरु लामो समय देखि राज्य सामु विभिन्न मागहरु राख्दा पनि कुनै किसिमको सुनुवाई नभएको अवस्थामा बिना आन्दोलन आफ्ना मागहरु पूरा हुँदारहेनछन् भन्ने कुराको महसुस भएको कारण आफूहरु आन्दोलनमा जानुपर्ने अवस्था बनेको समेत थापाले बताएका छन् ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि आयल निगमबाट भएको र त्यसलाई तत्कालै पहिलेको मूल्यमा नै विक्री हुने गरी वृद्धि भएको मूल्य फिर्ता गरिएको प्रसङ्ग उल्लेख गर्दै थापाले भने, ‘जनताहरुलाई महँगीको मार पर्ने गरी मूल्य समायोजनको नाममा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको र प्रधानमन्त्रीको निर्देशनमा १० घण्टा नबित्दै मूल्य वृद्धि फिर्ता हुनु स्वागतयोग्य हो ।’
विगतमा नेपालमा लामो समय नाकाबन्दी भएको समयमा ग्यासको अभाव भएकाे र त्यस समयमा नेपालका केही उपभाेक्ताले ग्यास सहजै प्राप्त गर्न सकेकाे तर अधिकांश उपभोक्ताले भने ३-४ महिनामा १ सिलिण्डर ग्यास समेत प्राप्त गर्न नसकेको अवस्था बारे कुरा उठाउँदा यसलार्इ व्यवस्थित गर्नकाे निम्ति ग्यास काराेबारकाे पूर्ण तथ्याङ्क सङ्कलन गरी सफ्टवेयरकाे माध्यमबाट समानुपातिक तवरले ग्यास वितरण सहजै गर्न सकिने भन्दै महासचिव थापाले भने।
यसो हुनुको मुख्य कारण भनेको ग्यास वितरणको क्रममा राम्रो प्रणाली विकसित हुन नसक्नु नै हो । आगामी दिनमा यस्तो अवस्था आउन नदिनको निम्ति ग्यास कार्ड वा अन्य कुनै प्रविधि अपनाएर व्यवस्थित तवरले ग्यास वितरण गर्नुपर्ने आवश्यकता छ । यसो हुन सकेको खण्डमा मात्र सबैको पहुँचमा समानुपातिक तवरले ग्यास वितरण हुन सक्छ । यसैकारण सफ्टवेयरको माध्यमबाट ग्यास वितरणको तथ्याङ्कलाई एकीकृत रुपमा संकलन गरी सोही बमोजिम ग्यासको वितरण गर्न सकिए तुलनात्मक रुपमा समानुपातिक तवरले ग्यास वितरण हुन सक्ने हामीले देखेका छौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij