२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

क्यास नबोक्नु मेरो गल्ती होर ? 

क्यास नबोक्नु मेरो गल्ती होर ? 

-केशब सापकाेटा

हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्यालको ‘जय भोली’ जस्तो ‘भोली भोली’ भन्दै हिँडिरहेको थिए । समस्या परेपछि मात्र चेत खुल्ने मेरो बानी ! सायद ट्राफिक प्रहरीको फन्दामा नपरेर होला ! भोली जान्छु भन्दाभन्दै ४ महिना कटेको पत्तै भएन ।

मंगलबार भने कार्यालय निस्कने वित्तिकै सबैभन्दा पहिले यातायात व्यवस्था कार्यालय गौरिघाट गएँ । लाइसेन्स रिन्यू गर्ने स्थानमा अन्य समयको भन्दा भिड थिएन । भर्खर १० बजेकोले होला ।

कोठा नं. ३ मा गएर सोधे–‘लाइसेन्स रिन्यू गर्नुपर्ने थियो ।’

कार्यालयका कर्मचारीले पहिले २ नम्बर कोठामा लाइसेन्स र नागरिकताको सक्कल सहित जानु भने । २, जना पछि पालो आइहाल्यो । कर्मचारीले लाइसेन्स नम्बर कम्प्युटरमा इन्ट्री गर्दै एउटा प्रिन्ट निकालेर मलाई दिँदै फेरी ३ नम्बर कोठामा जानु भन्यो । पहिले नै ३ नम्बर कोठामा गएको फेरि गए । हाकिम साब हिटर ताप्दै बस्नु भएको रहेछ । मैले लाइसेन्स र प्रिन्ट गरेको पेपर दिँदै भने, ‘सर, २ नं.बाट पठाइदिनु भएको ।’ उहाँले लाइसेन्स हेरेर त्यसको नम्बर कम्प्युटरमा इन्ट्री गर्दै आठ नम्बर कोठामा जान भन्नु भो ।

आठ नम्बर कोठा मेडिकल जाँच गर्ने ठाउँ रहेछ । ५० रुपैंयाको रसिद काटेर लाइन बसे । ४, ५ जना पछि पालो आईहाल्यो । बाहिरबाटै एउटा आँखा छोपेर ७ देखि १० फिटको दुरीबाट अङ्ग्रेजी सिम्बोलहरु हेर्न लगाइयो । सबै मिलाए । त्यसपछि कोठाभित्र गएर केही अंकहरु पढें । सबै मिलेपछि कम्प्युटरमा इन्ट्री गर्नुपर्दो रहेछ । तर, मेरो रेकर्ड त्यहाँको कम्प्युटरले देखाएर । ‘तपाईंको रेकर्ड देखाएन, ३ नम्बरमा जानुस’ त्यहाँ कार्यरत पुरुष कर्मचारीले भने ।

‘सर, भर्खर त्यहीँ बाट आएको’ मैले भने ।

मेरो रेकर्ड नदेखिएकोले पुनः ३ नम्बरमा चेक गरेर इन्ट्री गराएर आउनु भन्नु भो ।

मनमा चिसो पस्यो मेरो, केही दिन अगाडी मात्रै यातायात व्यवस्था कार्यालयबाट मिलेमतोमा १ लाख नक्कली लाइसेन्स निकालिएको समाचार प्रकाशित भएको थियो । कतै मेरो लाइसेन्स पनि नक्कली भनेर छानविनमा त परेन ! त, मैले त बक्काइदा लाइसेन्स परीक्षा पास गरेको थिए । त्यसको भिडियो पनि हेर्न पाइन्छ भन्ने थियो । त्यसकारण मनको चिसो मेटाउँदै फेरी ३ नं. कोठाकै हाकिमकोमा गएँ ।

‘सर, ८ नम्बरबाट फेरी यहीँ पठाउनु भयो ।’ हाकिमका अगाडी पर्दै मैले भने । उहाँले नागरिकता देखाउनुस भन्नुभयो । तर, मैले नागरिकता बोकेको थिइन् । ‘सर, अफिस हिँडेको नागरिकता बोकेकै छैन के गर्ने होला !’ मैले आफ्नो समस्या भने ।

‘नागरिकता चाहिन्छ ।’ उहाँले भन्नु भयो । ‘अरु कार्ड मतदाता परिचयपत्र, प्यान कार्ड छ ?’ हाकिमसावले भन्नु भयो ।
हतारहतार पर्स खोतल्दै मतदाता परिचयपत्र देखाएँ । उहाँले सायद, नागरिकता नम्बर होला इन्ट्री गर्नुभयो होला । ‘ल ८ नम्बरमै जानुस’ साइन गर्दै भने ।

‘हस् धन्यवाद सर’ भन्दै हतारहतार ८ नं. कोठातिर कुदे ।

एक जना सेवाग्राहीको इन्ट्रि हुँदै गर्दा मेरो पालो आइहाल्यो । तर, अकस्मात कार्यालय पोशाकमै बुढानिलकण्ठ नगरपालिकामा काम गर्ने २ जना .(महिला पुरुष) कर्मचारी आइपुगे । पुरुष कर्मचारीले मलाई ठेल्दै मेडिकलका कर्मचारीसँग कुरा गर्दै ‘म्याडमको भयो ल सर, यो गर्दिनुस त’ भन्दै भने–‘उहाँ पक्काको मान्छे हो, पछि बच्चाबच्चीलाई भ्याक्सिन लगाई माग्न सजिलो हुन्छ । मैले भनेको थिएन नी सर, उहाँको हुन्छ भनेर ।’ यस्तै कुरा गरे । ती कर्मचारीले मेरो काम गर्नुको सट्टा ती महिला कर्मचारीसँग मुस्काउँदै उनको काम अगाडी गरे ।

उसको पछि मेरै पालो आउने हो भन्दै खासै प्रतिवाद गरिन । तर, काम भइसकेपछि पनि गफमा अल्झिइरहेको देख्दा चैं रिस उठेको थियो । रिस खाइ आफु बुद्धि खाई अरु भन्थे । मौन नै बसे । ४ मिनेट तिर मेरो कागजात समाएर इन्ट्री गरिदिँदै अब ७ कि ४ नम्बर भने अहिले विर्सिए, त्यहाँ जानु भने ।

राजश्व तिर्ने ठाउँ रहेछ । एकजना महिला कर्मचारी रहिछिन्, झ्यालबाटै लाइसेन्स र कागज दिए ।
कम्प्युटरमा इन्ट्री गर्दै भनिन् ‘चार हजार’
‘हँ, चार हजार कसरी ?’ मैले सोधे ।
‘तपाईंको रिन्यू फेल छ, डबल जरिवाना पर्‍यो ।’ म लाचार भएँ ।

समस्या यहाँनिर आइपर्‍यो । म सँग २ हजार, २५ सय जति क्यास थियो । ‘क्यास पूग्दैन, क्यूआर दिनुन’ मैले भने । म प्रायः पैसाको कारोबार मोवाइल बैकिङ, अनलाइन, एटिएम वा क्यूआरबाट गर्छु । क्यास कमै बोक्छु । जान्ने भएर होकी के यसले कहिले काँही यस्तै समस्यामा पर्छु ।

‘क्यूआरबाट लिन मिल्दैन । क्यासै चाहिन्छ । क्यास नबोकी किन आएको ?’ कर्मचारीले भनिन् । ‘ला.. मसँग क्यासै पुगेन यता एटिएम होला ?’ मैले सोधे । ‘एटिएम छैन तपाई तल जानुस त्यहाँ पसल (विचौलिया)हरुमा ट्रान्सफर गरिदिनु उनीहरुले क्यास दिन्छन् ।’ उनले सुझाइन् ।

हतार हतार यातायात कार्यालय भवनकै भित्रपट्टी लाइनै रहेका काउन्टर जस्ता (विचौलियाका अखडा) कहाँ गए । ‘कति चाहिने ? एउटा काउन्टरमा पैसा ट्रान्सफर हुन्छ भनेर सोध्दै गर्दा युवतीबाट जवाफ पाँए ।
‘दुई हजार, चार्ज २ सय लाग्छ ।’ जवाफ आयो ।

‘वाफ रे २ हजार ट्रान्सफर गर्दा २ सय यो त अत्ति भएन ! ८ रुपैंयाको काम हो’ त्यो पनि मेरै एकाउन्टबाट काट्छ !’ आश्चर्य लाग्दै प्रश्न गरे ।

२ सय दिएमात्र काम गरिदिने भन्दै ती युवतीले जवाफ फर्काइन् । नजिक एटीएम थिएन, मलाई हतार थियो । बाध्यतामा परें । आफ्नो एकाउन्टबाट उसको एकाउन्समा २ हजार हालिदिए । २ सय क्यास दिए । युवतीले २ वटा हजारका नोट थमाइन् । पैसा लिँदै गर्दा ‘लूटतन्त्र नै रहेछ नी’ भन्न मन लाग्याथ्यो । तर, बोली फुस्किएन ।

दगुर्दै राजश्व तिर्ने झ्यालतिर गएँ । ४ हजार दिएपछि पैसा बुझाएको रसिद पाइयो ।
तपाईको काम सकियो, ‘अब कहाँ जाने ? भनेर प्रश्न गर्दा उत्तर पाएँ ।
‘लाइसेन्स लिन कहिले आउनु ?’ सोधें ।

‘एक वर्षपछि’ मतिर नहेरी जवाफ दिइन् । सोधिहालें, ‘त्यतिञ्जेल के गर्ने ?’

पुरानो लाइसेन्स बोक्ने, ट्राफिकले माग्दा पुरानो लाइसेन्स र यो रसिद देखाउने ।’ उनको रेडिमेड जवाफ आयो । लाइसेन्स रिन्यू गर्न आउने हरेकलाई उनले दिने जवाफ त्यही रहेछ ।

सेटिङमा लाइसेन्स बाँडेको समाचारको एक दुई दिनमा यातायात व्यवस्था कार्यालयमा लाखौं लाइसेन्स आएको समाचार पनि पढेको थिएँ । मैले आज मात्रै रिन्यू गरेकाले त्यस भित्र मेरो लाइसेन्स पर्ने कुरा त भएन ।

यातायात व्यवस्था कार्यालयको गेटबाट बाहिरिँदै गर्दा एउटाले भन्यो ‘दाई लाइसेन्स अर्जेन्ट चाहिने हो भने काम गरिदिन्छु !’ मैले भने, ‘भो भाई पर्दैन, म कुरेरै लिउँला ।’

मेरो गल्ती, या अपराध !
समयमै लाइसेन्स रिन्यू गर्नुपर्छ भन्ने चेत हुँदाहुँदै लाइसेन्स रिन्यू नगर्दा डबल फाइनमा पर्नु ।
केही सरकारी तथा अधिकांश नीजि कार्यालय र व्यवसायमा क्यासलेस (कार्ड, अनलाइन) बाट कारोबार हुन्छ यातायातमा पनि होला भन्ठानेर क्यास पैसा नलिइकन जानु ।

यातायात व्यवस्था कार्यालयको गल्ती या कमजाेरी क्यासलेस (क्यूआर, एटिएम, अनलाइन) सेवा सञ्चालन नगर्नु ।
कार्यालय परिसरमै विचौलियालाई ठाउँ दिनु ।

सरकारले जनतालाई सवर्सुलभ सेवा प्रदान गर्ने हाेभने, प्रविधि मैत्री हुनुपर्ने हाे । तर, नेपालका अधिकांश सरकारी निकाय जानीजानी सेवाग्राही नबनाइएकाे हाे । हरेक सरकारी निकायले लिने राजश्व अनलाइन बैकिङ प्रणालीबाट डाइरेक्ट सरकारी खातामै जम्मा गर्ने व्यवस्था गर्न कुनै ठूलाे कार्य हैन । तर, यसाे गर्दा त्यहाँका हाकिम र कर्मचारीहरूले विचाैलियाबाट दैनिक पाउने खान्की गुम्दाे चैं रहेछ । नत्र, हरेक नीजि कार्यालयहरू अनलाइन सिस्टममा गइसक्दा यातायात व्यवस्था कार्यालयलाई चाहीँ केले राेकिरहेकाे हाे ?

पछिल्लाे समय क्यासलेस सिस्टम हरेक क्षेत्रमा पुगिसक्याे । नीजि कार्यालयहरूदेखि ठूल्ठूला सपिङ मलसम्म क्यासलेस छ । तरकारी किन्न जाँदा हाेस् वा लुगाकपडा किन्न जाँदा माेवाइल, एटिएमबाटै भुक्तानी गर्न सकिन्छ । यहाँसम्मकी सैलुनमा, सार्वजनिक शाैचालयमा समेत क्यूआरबाट पैसा तिर्न सकिन्छ ।

क्यासलेसकाे अर्काे फाइदा तपाइले कुनै पनि सेवा र वस्तुकाे जति मुल्य हुन्छ त्यत्ति नै दिन सक्नुहुन्छ । उदाहरणका लागि १२०.५० पैसाकाे सामान किन्नु भयाे भने तपाईले माेवाइल बैकिङ वा कार्ड स्वाएपबाट त्यत्ति नै पैसा तिर्न सक्नुहुन्छ ।

तर, नगद काराेबार गर्दा १२०.५० पैसा दिन सकिन्न । आजभाेली ५० पैसा हैन ५ रूपैंया भन्दा तलकाे नाेट नै पाइन्न । यस्ताेमा तपाईले कि १२० मा सामान वा सेवा पाउनु पर्याे या तपाईले ५ रूपैंया बढि तिर्नुपर्याे । अँ, किराना पसलमा चकलेट छ भने २, ४ वटा पाउनु हुन्छ १२५ रूपैंया तिरेपछि । भन्नेले जावाे ५, १० रूपैंयाकाे कुरा भन्लान् तर, हरेक सेवाग्राहीबाट ५, १० रूपैंया बढी लिएकाहरूलाई भ्रष्टाचार गर्न हामीले नै पाे प्राेत्साहन गरिरहेका छाैं कि !

जनतालाई सहज रूपमा डेलिभरी दिने क्षेत्रलाई प्रविधिमैत्री बनाउँदा सुशासन कायम हुन्छ । विचाैलिया हट्छन् । राज्यप्रति, सरकारप्रति नागरिककाे विश्वास बढ्छ । यति कुरा पनि राज्य चलाउनेहरूका मस्तिष्कमा किन नघुसेकाे हाेला ! याे चेत यातायात व्यवस्था कार्यालयमा मात्र हैन राज्यका हरेक निकायमा कहिले पुग्ला !

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij