कोरोना महामारीको कारण मुलुक यतिबेला लकडाउनको अवस्थामा छ । यस सङ्कटको घडीमा ग्यास अभाव हुन नदिन नेपाल आयल निगम र सम्बन्धित मन्त्रालय निरन्तर लागिपरिरहेका छन् । यसलाई सहज र व्यवस्थित बनाउन ग्यास उद्योगीहरु र हामी विक्रेताहरु पनि त्यत्तिकै जिम्मेवार भएर लागिरहेका छौं । जसले गर्दा अहिले बजारमा ग्यास अभाव छैन । विगत केही दिन अगाडि छिमेकी मुलुकले गरेको लकडाउनसँगै ग्यास नआउने हो कि भनी कतिपय उपभोक्ताहरुले आत्तिएर घरमा भएका खालि सिलिन्डरहरुलाई भरी गराउन खोज्दा माग र आपुर्ति बीच केही समस्या हुन गयो । जसबाट एउटै मात्र सिलिण्डर हुने उपभोक्ताले ग्यास सकिने बित्तिकै पाउन कठिन भयो र अभाव देखिन गयो । जसलाई मध्यनजर गर्दै तत्कालै आधा सिलिन्डर ग्यास भरेर बजार पठाउने निर्णय र सोही निर्णय अनुरुप काम भयो । तत्पश्चात् सबैको घरघरमा ग्यास पनि पुग्यो । अहिले अवस्था सामान्य भएपछि भरी सिलिण्डर (१४.२ किलो) ग्यास आउन शुरु भइसकेको छ । यतिबेला होटलहरु बन्द छन् । धेरै उपभोक्ताहरु गाउँ फर्किसकेका हुनाले ग्यासको खपत र विक्रीवितरण कमै छ ।
संक्रमणको समयमा ग्यास वितरण गर्दा लगाउनको लागि हामीले गुणस्तरीय मास्कहरु बजारमा नपाएको कारण हामीलाई गुणस्तरीय मास्क, पञ्जा र यससँग सम्बन्धित जनचेतना आवश्यक भएको हुँदा सो व्यवस्था गरिदिन नेपाल आयल निगम र ग्यास उद्योगीहरुसँग अनुरोध गर्दछौं ।
लकडाउनमा ग्यास बिक्रेताहरुको अवस्था
अहिले कोरोना भाइरसको सम्भावित संक्रमणलाई लक्षित गरी लकडाउन गरिएको यस अवस्थामा सरकारले सबै नागरिकलाई घरमै बस्न निर्देशन दिइरहेको हुँदाहुँर्द पनि हामी ग्यास बिक्रेताहरु भने सडक किनाराको पसलमा रहेर ग्यास विक्रीवितरण गर्नु निकै चुनौतीको विषय छ । विहान घरबाट पसल खोल्न जान लाग्दा बच्चाहरुले ‘बाबा लकडाउनको अवस्था छ, संक्रमण बढिरहेको छ, सरकारले घरबाट ननिस्कनु भनिरहेको अवस्था छ । यस्तो अवस्थामा घर छोडेर पसल खोल्न नजानुस्’ भनेर रुँदै गर्दा हामीले ‘सुरक्षित भएर काम गर्छौं, चिन्ता नगर’ भन्दै सम्झाउँदै आफ्नो जिम्म्मेवारीलाई महत्वपूर्ण ठान्दै सम्भावित संक्रमण हुनबाट जोगाउन सरकारबाट गरिएको लकडाउनमा यसरी आवतजावत गर्न हुँदैन भनी कतिपय अवस्थामा सुरक्षाकर्मीबाट गरिएको अवरोधलाई समेत अनुरोध गर्दै ग्यास पसल खोलेर आफ्नो डिलरमा आएको र भएको ग्यास साधारण मास्क, पञ्जा र सामाजिक दूरीलाई ध्यानमा राख्दै काम गरिरहेका छौं ।
हामी बुझ्छौं, यतिबेला उपभोक्तालाई समस्या परेको बेला हामीले ग्यास वितरण नगरेर कसले गर्ने ? जसरी पनि उपभोक्ताको चुल्हो ग्यासको कारण निभ्न दिनुहुँदैन भन्ने सोच राख्दै जिम्मेवार भएर देशैभरीका हामी विक्रेताहरुले काम गरिरहेका छौं । यस संकटको घडीमा उपभोक्ताहरु पनि मास्क लगाएर डिलरमा आइदिन र डिलरमा आएर सामाजिक दूरी कायम गर्दै भीडभाड नगरी पालो पर्खिएर ग्यास लिन हामी अनुरोध गर्दछौं ।’
निकट भविष्यमा कोरोना महामारीको कारण मुलुकले विभिन्न खाले संकटहरुको सामना गर्नुपर्ने हुन सक्छ । त्यस मध्ये खाद्यव्यवस्था पनि महत्वपूर्ण विषय हुन सक्छ । जसमा आपुर्ति भन्दा पनि उत्पादनको भूमिका प्रमुख हुन्छ । उदाहरणको लागि छिमेकी मुलुकमा उत्पादित प्याजले सोही देशको माग धान्न सकेन भने नेपाल नआउन पनि सक्छ । यदि आयो भनेपनि अत्यन्तै महँगोमा किन्नुपर्ने हुन्छ । जो विगतमा हामीले भोगिसकेका छौं ।
कुनै पनि उद्योग वा व्यवसायीको लागि उपभोक्ता भनेको भगवान सरह नै हुन्छन् । यदि उपभोक्ताले खरिद गरिदिनुभयो भने मात्र त्यो उद्योग वा व्यवसाय चल्ने हो । त्यसकारण यी र यस्ता सङ्कटहरुलाई सामना गर्दै हामी जिम्मेवार भएर आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ, जुन विषय हामी देशैभरिका ग्यास विक्रेताहरुले बुझेका छौं र काम पनि गर्छौं । वर्तमान सङ्कटलाई कुनै विक्रेताहरुले अवसर बनाएर उपभोक्ताहरु बढी मूल्य लिने जस्ता गलत सोचले काम गर्छन् भने उनीहरु विक्रेताको नाममा कलंक हुन् । साथै त्यस्ता विक्रेताहरु जो कोही भएपनि अपराधी सरह हुन् भन्ने बुझाइ हामीमा छ ।
सरकारसँग हामी ग्यास विक्रेताहरुको अनुरोध
यो महामारीको पीडामा रहिरहँदा सरकारले लकडाउनको माध्यमबाट संक्रमण फैलिन नदिन गरेका कामहरु प्रशंसनीय छन् । अहिलेको यस विषम परिस्थितिमा आलोचना भन्दा पनि सल्लाह सुझाव र सहयोग महत्वपूर्ण हुन्छ । यतिखेर नेपाल सरकार, राजनीतिक दल, निजी क्षेत्र र जनता एक भएर महामारीको विरुद्ध लड्नुपर्छ । अहिलेको यस संक्रमणबाट बाँच्नु र बचाउनु अनि संक्रमणलाई पराजित गर्नु नै प्रमुख हुन्छ । अहिले सरकारको निर्णय र निर्देशनलाई पालना गर्दै लकडाउनमा रहनु महामारीबाट बच्ने सबैभन्दा भरपर्दो विधिको रुपमा बुझ्नुपर्छ । यही अवधिमा नेपालमा भएका विज्ञ डाक्टरहरु अनि सम्बन्धित क्षेत्रका वैज्ञानिकहरुले अब कुन विधि प्रयोग गर्ने भन्नेमा जोड दिनु आवश्यक देखिन्छ । अहिलेको विषम परिस्थितिमा उद्योग व्यवसाय लगायत विभिन्न क्षेत्रहरुमा उत्पन्न संकटहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सरकार गम्भीर रहेको हाम्रो बुझाई छ । उपयुक्त सम्बोधनको आशा र भरोसामा अहिले निजी क्षेत्र छ । अहिलेको परिस्थितिलाई राम्ररी विश्लेषण गरी के गर्ने कसो गर्ने भन्ने सम्बन्धमा उपयुक्त समाधान दिन राज्य मातहतका व्यक्तिहरु नै संक्षम हुनुहुन्छ । यस सन्दर्भमा सरकारको उपस्थितिको अनुभुति हुनुपर्छ भनी अनुरोध मात्र हामी गर्न सक्छौं ।
निकट भविष्यमा कोरोना महामारीको कारण मुलुकले विभिन्न खाले संकटहरुको सामना गर्नुपर्ने हुन सक्छ । त्यस मध्ये खाद्यव्यवस्था पनि महत्वपूर्ण विषय हुन सक्छ । जसमा आपुर्ति भन्दा पनि उत्पादनको भूमिका प्रमुख हुन्छ । उदाहरणको लागि छिमेकी मुलुकमा उत्पादित प्याजले सोही देशको माग धान्न सकेन भने नेपाल नआउन पनि सक्छ । यदि आयो भनेपनि अत्यन्तै महँगोमा किन्नुपर्ने हुन्छ । जो विगतमा हामीले भोगिसकेका छौं । तब समय छँदै विज्ञ जनशक्ति उपयोग गर्दै कृषकहरुको उच्च मनोबलमा सरकारबाट उन्नत जातका बिउविजन र मलखादको व्यवस्था गरी कृषियोग्य जमीन हराभरा बनाउन सम्बन्धित मन्त्रालय र स्थानीय तहले तत्कालै काम शुरु गर्नुपर्ने हाम्रो बुझाइ र सुझाव छ ।
अन्त्यमा
यस संक्रमणको समयमा ग्यास वितरण गर्दा लगाउनको लागि हामीले गुणस्तरीय मास्कहरु बजारमा नपाएको कारण हामीलाई गुणस्तरीय मास्क, पञ्जा र यससँग सम्बन्धित जनचेतना आवश्यक भएको हुँदा सो व्यवस्था गरिदिन नेपाल आयल निगम र ग्यास उद्योगीहरुसँग अनुरोध गर्दछौं । यो संकटको घडीमा सुरक्षित विधि अपनाएर ग्यास विक्रीवितरण गर्न देशैभरीका ग्यास विक्रेता साथीहरुलाई सर्कुलर गरिरहेका छौं । र सोहीअनुरुप साथीहरुले काम गरिरहेको हाम्रो बुझाई छ । प्रज्वलनशिल पदार्थ एलपी ग्यास सावधानीपूर्वक प्रयोग गर्न सम्पूर्ण उपभोक्ता महानुभावहरुलाई म स्वयं र ग्यास विक्रेता महासंघको तर्फबाट अनुरोध गर्दछौं । साथै नयाँ बर्षले सबै नेपालीहरुमा खुसी, शान्ति र आरोग्यता ल्याउन सकोस् भन्ने कामना पनि गर्दछौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij