२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

कोरोनाको सन्त्रासमा जापानवासी नेपाली, सावधानीमा जोड दिऔं

कोरोनाको सन्त्रासमा जापानवासी नेपाली, सावधानीमा जोड दिऔं

लक्ष्मी केसी महर्जन

महामारीको रूपमा विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) एक संक्रामक रोग हो । शुरुमा यो कोरोना भाइरस चीनको बुहान शहरमा देखा परेको थियो । हाल यो महामारीको रुपमा विश्वका सबैजसो राष्ट्रहरुमा फैलिसकेको छ । यो आलेख लेखिरहँदा सम्म १३ लाख ७० हजार भन्दा बढी मानिस संक्रमित र ७७ हजार मानिसको मृत्य भैसकेको छ । थप ३ लाखजति मानिसको सफल उपचार पनि भएको छ । यो महामारीले यतिबेला बिश्व आछुआछु पारेको बेला हामी नेपालीहरुमा पनि संक्रमित भएको खबर संसारभरबाट आइरहेका छन् । अमेरिकामा मात्रै ५०० भन्दा बढी नेपालीहरु कोरोनाबाट संक्रमित भइसकेका छन् भने, अमेरिकामा यहि घातक कोरोनाले ५ नेपालीको मृत्युको खबर आएको छ । विश्वका विभिन्न मलुुकमा करिब ५० लाख नेपालीहरू पुगेका छन् । त्यसमध्ये जापान पनि एक हो । यस प्राणघातकबाट जापानमा अहिलेसम्म १ जनामात्र नेपाली संक्रमित फेला परेका छन् । के यसको अर्थ हामी जापानबासी नेपालीहरुमा कोरोनाको प्रभाव कम परेको हो रु के हामी नेपालीहरु कोरोना भन्दा बलिया छौं त रु पक्कै छैनौं । पछिल्लो अवस्थामा जापानमा पनि यो संक्रमण दिनकै बढेको रिपोर्टहरु आइरहेका छन् । जापानमा मात्रै अहिले संक्रमितहरुको संख्या ४ हजार नाघिसक्यो भने मर्नेहरु पनि लगभग १०० जनाको हाराहारीमा पुगेको छ । कोरोनाले कसैलाई पक्षपात नगरी समान रुपमा आफ्नो प्रभाव देखाईरहेको छ ।

अहिलेको अवस्थामा हामीले के गर्ने त ? हो, हरेक विदेशीको साझा समस्या भन्नु नै कसैको घरको तल्ला थप्नु होला, कसैलाई घडेरी जोड्नु होला, कसैलाई ऋण ब्याज तिर्नु होला त कसैलाई आफ्नो बाल बच्चा राम्रो बिद्यालय, कलेजमा पढाउनु होला । यी यावत कुराहरु हाम्रो प्राथमिकता भए पनि पहिला स्वास्थ्य नै सम्पति हो भन्ने कुरालाई मनन गर्न जरुरि छ ।

हाल प्राय कामहरु बन्द भैरहेका छन् भने अधिकांस कामहरु बन्द हुने अवस्थामा छन् । त्यसैले हामीहरु काम बन्द भयो, अब के गर्ने कहाँ जाने भनेर बढी चिन्तित र तनाव लिइरहेका छौ । प्राय जसो मानिसहरु घर बस्न थालेको अवस्थामा हामी नेपालीहरु मौकामा चौका भनेसरी यता १२ सय दिएको छ उता १४ सय येन दिएको छ भनेर दौडधुप गरेको देख्दा मेरो मनमा अनेकौं प्रश्नहरु उठ्छन् । हो हाम्रो समस्याहरु अनेकन छन् तर यो मौका छोप्ने समय पक्कै पनि होइन । यदि हामीनै कोरोनाबाट संक्रमित भयौ भने कम्तिमा पनी १४ दिन क्वारेन्टाईनमा बस्नु पर्ने हुन्छ र भोलिको दिनमा आइपर्ने जोखिममा कोहि पनि पछुताउनु नपरोस् । यदि कोरोनाकै कारण मृत्युवरण हुन पुग्यौं भने यो कुनै कालगतिले होइन अकालको मृत्यु हुनेछ र यदि यस्तो भइहाल्यो भने हाम्रो पार्थिव शरीरलाई हाम्रा आफन्तजन साथीभाईहरुले छुन त के हेर्न सम्म पनि पाउने छैनन् । त्यसैले केहि समयको लागि हामी सबैले सावधानी अपनाउनै पर्छ । कामहरु सबै बन्द भएको अवस्थामा घर भाडा,पानी, बिजुली, ग्यास, मोबाइल आदिको समस्या कसरी टार्ने भन्ने होला तर यो एक या दुइ जनाको समस्या नभई सबै विदेशीहरुको साझा समस्या हो । जहाँ समस्या त्यहाँ समाधान पनि पक्कै हुन्छ । त्यसैले आत्तिनु र तनाब गर्नु जरुरी छैन । जरुरी सावधानी अपनाई आफु सुरक्षित रहनु हो । यो भाइरसले को ठुलो को सानो, को धनी को गरिब छुट्याउँदैन । त्यसैले सावधानी अपनाई सुरक्षित रुपमा घरमा बस्नु नै अहिलेको लागि एकमात्र औषधि हो । हाल सम्म यो रोगको कुनै औषधि वा भ्याक्सिन विकास हुन सकेको छैन । यो कुनै दीर्घकालिन रोग होइन । यसलाई निर्मुल पार्न सारा विश्व लागि परेका छन् र एक दिन अवश्य सफलता मिल्ने नै छ ।

हाल जापानमा पनि संक्रमितहरुको संख्या तिब्र रुपमा बढेसँगै जापानी प्रधानमन्त्री शिन्जो आबेले जापानको टोकियोसहित ७ वटा प्रान्तमा सङ्कटकालको घोषणा गरेको छ । आपतकाल (संकटकाल) भइसकेको हुनाले नआत्तिकन संयमता अपनाई जापान सरकारले निर्देस गरेका कुरालाई पालना गरी आफु र आफन्तजनको सुरक्षाका उपायहरु अबलम्बन गर्न जरुरी छ । यो अवस्थामा स्टे होम नै एक मात्र अचुक औषधि हो र यसलाई सकेसम्म पालना गरौं र गराऔं ।

लेखक लक्ष्मी केसी महर्जन एनआरएनए जापान चिबा महिला उपसंयोजक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij