२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कृषि क्षेत्रबाट राम्रो हासिल गरेका बास्तोला दम्पतीको अनुभव र जीवनकथा

कृषि क्षेत्रबाट राम्रो हासिल गरेका बास्तोला दम्पतीको अनुभव र जीवनकथा

चन्द्रा बास्कोटा, व्यावसायिक कृषक तथा दुर्गा चन्द्रा अर्गानिक कृषि फार्म प्रा.लिकी सञ्चालक

नेपाल कृषि प्रधानदेशको रुपमा परिचित देश हो । यद्यपि अधिकांश नेपालीहरु कृषिमा नै आश्रित रहेको र कृषिप्रधान भनेर चिनिने यस देशमा पछिल्ला दिनहरुमा भने यहाँको लागि आवश्यक पर्ने सबैजसो कृषिजन्य सामानहरु बाह्य मुलुकबाट नै भित्रिइरहेका छन् । रोजगारीको लागि खाडी मुलुक धाउनुपर्ने र त्यहाँबाट भित्रिएको विप्रेषण रकम दैनिक आवश्यकता पुर्तिको लागि पुःन बाहिर नै पठाउनुपर्ने स्थिति नेपालको लागि सामान्य जस्तै बनिसकेको छ । यो अवस्था अझ विकराल बन्दै गइरहेको छ । यद्यपि मुलुकलाई कसरी स्वावलम्बन र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने सम्बन्धमा भने कसैको पनि ध्यान पुगेको देखिँदैन । यसै कारणले गर्दा नेपालमा कृषि कार्य पछाडि परेको छ ।

नेपालमा राम्रो उत्पादन सम्भावना नभएको कारण खाद्यान्न, तरकारी लगायत कृषिजन्य वस्तुहरु बाह्य बजारबाट भित्र्याउनुुपरेको होइन । बरु नेपालमा कृषि कार्यमा संलग्न रहन चाहने युवाहरुलाई प्रोत्साहनमूलक वातावरण नभएको र राज्यले कृषिको प्रवद्र्धनको लागि उचित पहल गर्न नसकेको कारण यस्तो अवस्था सृजना भएको हो । राज्यको सहयोग उपलब्ध नहुँदा पनि केही व्यक्तिहरुले भने कृषि कार्यमा संलग्न भएर नै लोभलाग्दो सफलता हासिल गरिरहेका छन् ।

यसरी आफ्नै पहलमा तरकारी खेती, पशुपालन लगायत कृषि कार्यमा संलग्न व्यक्तिहरु मध्ये काठमाडौंको पेप्सीकोलामा गाई फार्म सञ्चालन गर्ने बास्तोला दम्पती पनि एक हुन् । हाल उनीहरुले दुर्गा चन्द्रा अर्गानिक कृषि फार्म प्रा.लि.को नाममा गाई फार्म तथा तरकारी खेती कार्य गरिरहेका छन् । जुन निकै राम्रो तवरले फस्टाइरहेको छ । राज्यबाट थप सहयोग उपलब्ध हुन सकेको खण्डमा आफ्नो क्षमता विस्तारमा सहयोग पुग्ने महिला उद्यमी चन्द्रा बास्तोलाले बताइन् ।

राज्यले के गर्नुपर्छ ?
राज्य पक्षले काठमाडौं लगायत देशका सबै ठाउँमा सम्भव रहे सम्म जग्गा बाँझो नरहने गरी काम गर्न युवाहरुलाई प्रोत्साहित गर्नु जरुरी छ । राज्यले बार्षिक रुपमा कृषिको प्रवद्र्धनको लागि ठूलो रकम विनियोजन समेत गर्दै आएको छ । यद्यपि उक्त बजेट रकम सही तवरले प्रयोगमा आउन सकेको छैन । वास्तविक कृषकहरु राज्यबाट उपलब्ध गराइने सुविधाबाट वञ्चित छन् । यस्तो अवस्थामा कृषि क्षेत्रको कायापलट सम्भव नहुन सक्छ ।

यही कुरालाई सही सम्बोधन गर्ने प्रस्ताव सहित आफूहरुले थुप्रैपटक शान्ता मानवी, गौरीशङ्कर चौधरी, हरिबोल गजुरेल, घनश्याम भुसाल लगायत थुप्रै कृषि मन्त्रीहरुलाई भेटेर कृषि क्षेत्रको प्रवद्र्धन गर्ने बारे आवश्यक सहयोगको लागि पहल गरेपनि कसैबाट राम्रो सहयोग उपलब्ध हुन नसक्नु र समग्र कृषिको प्रवद्र्धनमा ध्यान नजानु दुखद रहेको बास्तोलाले बताइन् । साथै उनले कृषि क्षेत्रको बजेट हरेक बर्ष फ्रिज हुनु वा अन्य क्षेत्रमा खर्च हुने परिपाटी कायम रहेसम्म कृषि क्षेत्र कहिल्यै पनि माथि उठ्न नसक्ने दाबी समेत गर्छिन् । साथै नेपालमा थुप्रै जग्गाहरु बाँझो रहेको र ती जग्गाहरु सहज रुपमा कृषकलाई भाडामा उपलब्ध गराइएको खण्डमा ठूलो क्षमता थप कृषिजन्य वस्तुहरु उत्पादन गर्न सकिने समेत चन्द्रा बास्तोला बताउँछिन् ।

राज्य पक्षले यो पनि बुझ्नुपर्छ कि कृषि क्षेत्रको राम्रो तवरले विकास नभई अन्य क्षेत्रको पनि स्वस्थ तवरले विकास हुन सक्दैन । कृषिजन्य उत्पादनहरु मानवीय जीवनको लागि दैनिक आवश्यकताका वस्तुहरु हुन् । सोहीकारण आफ्नै बारीमा उत्पादन हुने चीजहरुमा कसरी युवाहरुलाई बढी संलग्न गराउन सकिन्छ भन्ने सम्बन्धमा राज्यले विशेष ध्यान दिनु जरुरी रहन्छ । यसको लागि राज्यले कृषि क्षेत्रमा संलग्न हुन चाहनेहरुको लागि बिऊ, मल, सहज तवरले कृषि कर्जा, जग्गा व्यवस्थापन, वीमा तथा सुरक्षा आवश्यकता सहजीकरण लगायत गतिविधिहरु गर्नु जरुरी छ । यसको अलावा राम्रो तवरले उपलब्धि हासिल गर्ने कृषकहरुलाई सम्मान तथा पुरष्कारको समेत व्यवस्था गरेर युवाहरुलाई थप प्रोत्साहित गर्न सकिन्छ ।

शुरुको अनुभव
बास्तोला दम्पती कृषि तथा पशुपालन सम्बन्धी पहिले नै अनुभव हासिल गरेर यस व्यवसायमा प्रवेश गरेका होइनन् । जसले गर्दा एकैपटक कृषि तथा पशुपालन क्षेत्रमा क्रियाशिल रहँदा आइपर्ने सबै समस्याहरु थाहा नहुनु अस्वभाविक होइन । साथै गाईपालन संवेदनशिल कार्य समेत भएको कारण बास्तोला दम्पतीले व्यवसाय शुरुका दिनहरुमा निकै धेरै चुनौतीहरु सामना गर्नुप¥यो । एउटै गोठमा भएका गाइहरुका प्रजाति पनि भिन्न रहने र सोहीबमोजिम फरक–फरक किसिमको खानपान र आवश्यक पर्ने कुराको जानकारी नहुँदा शुरुमा केही नोक्सानी व्यहोर्नुप¥यो । अहिले भने सबै कुराको अनुभव भइसकेको कारण पछिल्ला बर्षहरुमा ठूलो नोक्सानी व्यहोर्नुपरेको छैन । हाल बास्तोलाको फार्ममा जर्सी क्रस, हलिस्टिन लगायतका छन् । स्थानीय गाइहरु भने नेपालबाट लोप हुने क्रममा छन् ।

गाईमा वीमा
बास्तोला परिवारले आफ्नो फार्मका सबै गाईहरुको वीमा गराएका छन् । यद्यपि गाई अचानक मृत्यु भएर दावी भुक्तानी गर्नुपर्ने अवस्था भने अति न्यून रहेको उनीहरुको अनुभव छ ।

वीमा कम्पनी प्रतिको गुनासो
अहिले गाई पालनको लागि वीमा कम्पनीहरुले वीमा सुविधा त उपलब्ध गराएका छन् । यद्यपि उक्त वीमाङ्क रकम गाईको वास्तविक मूल्य भन्दा न्यून मात्र मूल्याङ्कन हुने गरेको छ । आफ्नो फार्मको सबैभन्दा महँगो १ लाख ७० हजारको गाईको बढीमा १ लाख २० हजार सम्मको वीमा हुने गरेको छ । साथै सबै वीमा कम्पनीहरुमा एकै किसिमको विमा मूल्याङ्कन भएको पार्इंदैन ।

कृषि क्षेत्रमा कसरी आकर्षित भए बास्तोला दम्पती
प्रतिष्ठित बैंकमा जागिरेको रुपमा दुवै जना संलग्न रहँदै आएका बास्तोला आफ्नो जागिरे जीवनबाट अलग्गिएर व्यावसायिक क्षेत्रमा संलग्न भएका हुन् । जागिरे रहँदा देखि नै उनीहरु तरकारी खेतीमा संलग्न रहँदै आएका थिए । त्यतिबेला उनीहरु आफ्नो वरपरका र चिनजान तथा आफन्तका व्यक्तिहरुको खाली रहेको जग्गामा थोरै तरकारी खेती शुरु गरेर सानो क्षमताबाट कृषि कार्यमा संलग्न भए । पछि आफ्नो बारीमा उत्पादन हुने तरकारीको लागि आवश्यक पर्ने मल समेत आफैंले उत्पादन गर्ने योजना बमोजिम गाई फार्म समेत सञ्चालन शुरु गरे । विस्तारै त्यो यात्रा अघी बढ्ने क्रममा अहिले सफल व्यवसाय बन्न सकेको छ । यसरी सानो क्षमताबाट शुरु भएको कृषि व्यवसाय सफल बन्दै गएको कारण आफूहरुलाई अझ बढी प्रोत्साहन मिल्ने गरेको छ ।

फार्ममा ५० ओटा गाई, अझ विस्तार गर्ने याेजना
अहिले बास्तोला दम्पतीले सञ्चालन गरेको गाईफार्ममा ५० ओटा गाईहरु छन् । कुनै गाईले दैनिक ३० लिटर भन्दा बढी दूध दिने गर्छन् । आफूहरुले पालेका गाईले राम्रो प्रतिफल दिएकोमा बास्तोला दम्पती निकै खुसी छन् । आफूहरुले विधिवत् रुपमा वि.सं. २०७१ देखि कृषि अन्तरगत गाईपालन शुरु गरेको महिला उद्यमी चन्द्रा बास्तोलाले बताइन् । आफ्नो व्यावसायिक सफलता बारे चन्द्रा यसरी थप्छिन्, ‘हामीले सर्वप्रथम वि.सं २०६९ मा ५ ओटा गाई र एउटा बाछो सहितको टहरो किनेर यो यात्रा शुरु गरेका हौं । हाम्रो पशुपालन यात्राले वि.सं २०७१ बाट व्यावसायिक मोड लिएको हो । यसको क्षमता विस्तार हुने क्रम अझै रोकिएको छैन । हामी हाम्रो क्षमता अझ विस्तार गर्न चाहन्छौं । हामीले यही फार्म सञ्चालन गरेर नै एउटा छोरोलाई पाइलट बन्ने हैसियतमा पु¥याएका छौं । कोटेश्वरमा नवजीवन स्कुल सञ्चालन गरेका छौं । पाइलट छोरोले पनि कृषकले जन्माएको पाइलट भएकोमा निकै गर्व गर्छ । यसले हामीलाई निकै ठूलो आत्मसन्तुष्टि मिल्छ । अहिले हामीलाई लाग्छ, सबैभन्दा ठूलो उपलब्धि भनेकै आत्मसन्तुष्टि नै हुँदोरहेछ ।’

बजारीकरण
बास्तोला दम्पतीले आफूले उत्पादन गरेको दूध सिधै स्थानीय बजारमा नै बिक्री गर्दै आएका छन् । राम्रोसँग गाई पाल्न सकेको खण्डमा यस क्षेत्रबाट पनि राम्रो लाभ हासिल गर्न सकिने बास्तोला दम्पतीको अनुभव छ । पछिल्लो समय कृषि कार्यबाट शिक्षित युवाहरु पलायन हुँदै गइरहेको अवस्थामा पनि आफ्नो मेहनत र बुद्धि चलाउन सक्ने पौरखीहरुले हरेक ठाउँमा अवसर भेट्न सक्छन् भन्ने कुरा बास्तोला दम्पतीको कृषि क्षेत्रको सफलता यात्राले पुष्टि गर्छ ।

युवालाई सन्देश
नेपालमा नै रहेर काम गर्ने हो भने हामीले यहीँ नै प्रशस्त अवसरहरु भेट्न सकिन्छ । यसको लागि नेपालमा रहेर काम गर्न विशेष प्रतिवद्धता आवश्यक पर्छ । नेपालमा काम गर्नेहरुलाई अवसरहरु नभएका होइनन् । ती अवसरहरु समस्या भित्र नै पहिचान हुने गर्छन् । नवप्रवेशी युवाहरुले बुझ्नुपर्छ कि कुनै काम आफैंमा उत्कृष्ट वा निकृष्ट हुँदैनन् । केवल हामीले सम्बन्धित व्यक्ति, वस्तु, ठाउँ वा परिस्थिति प्रतिको हाम्रो दृष्टिकोणमा यो निर्भर रहन्छ ।

बास्तोला दम्पतीबाट अन्य व्यक्तिहरुले सिक्नुपर्ने कुरा
सरकारी जागिर छोडेर कृषि कर्ममा लागेका बास्तोला दम्पतीको निर्णय पछिल्लो पुस्ताका श्रमबाट टाढिन चाहने व्यक्तिहरुको लागि गलत निर्णय लाग्न सक्छ । यद्यपि आफूहरुको निर्णय सही भएको र हरेक कठिनाई पछि सुनौला दिनहरु पनि आउने कुरा बास्तोला दम्पत्तीको कृषि यात्राको सफलताले पुष्टि गर्छ ।

हिमाली सोलुखुम्बु जिल्लाबाट काठमाडौं आई आफूहरुलाई कृषि कार्यमा समर्पित बनाउँदै अहिलेको अवस्थामा आइपुग्नुमा आफूहरुको मेहनत र धैर्यता नै मुख्य प्रोत्साहनको आधार रहेको फार्मकी सञ्चालक चन्द्रा बास्तोला बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij