नेपालमा कृषि कार्यलाई राज्यले विशेष वढावा दिँदै यसमा तत्कालै कदम चाल्नु जरुरी देखिएको छ । युवाहरुलाई कृषि क्षेत्रमा संलग्न गराउन विशेष आकर्षित प्याकेज तत्कालै ल्याउनसके त्यसको प्रतिफल केही महिनामा नै प्राप्त गर्न सक्ने अवस्था रहन्छ । अहिले युवाहरु गाउँघरमा फुर्सदमा छन् । राज्यले उनीहरुलाई परिचालन गर्ने नीति अवलम्बन नगर्ने हो भने केही समयमा नै नेपालमा ठूलो खाद्यान्न संकट आउने अवस्था समेत देखिन्छ । साथै त्यो अवस्था विकराल हुने भएको कारण राज्यले त्यसलाई सम्हाल्न समेत निकै नै कठिन हुने हुने सहजै अनुमान गर्न सकिन्छ ।
अहिले राज्यले जनताहरुलाई राहतको नाममा केही परिमाणमा नुन, दाल, चामल वितरण गरिरहेको छ । यहि गतिले आउन सक्ने ठूलो संकट सामना गर्न कठिन हुने निश्चित छ । जसले गर्दा तत्काल नै कृषि उत्पादनलाई विशेष प्राथमिकता साथ अघी बढाउनु जरुरी छ । कसैको सहयोगको अपेक्षा गर्नुभन्दा आफ्नै बलबुताले कर्मयोगी बन्नु कैयौं गुणा बुद्धिमत्तापूर्ण हुने गर्छ ।
कृषिमा संलग्न हुनको लागि अहिलेका समस्या के हुन् भन्ने कुरा राज्यलाई थाहा छ । यस क्षेत्रमा काम गर्ने व्यक्तिहरु प्रतिको सामाजिक दृष्टिकोण राम्रो बन्न नसक्नु, राज्यको प्राथमिकतामा कृषि क्षेत्र नपर्नु, राज्यले प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन नगर्नु, बाँझो जग्गाको प्रयोगलाई महत्व नदिनु, कृषि प्रविधि र विशेषज्ञताको अभाव हुनु, बिउ मल पानीको सहज उपलब्धता नहुनु, श्रमको सम्मान गर्ने परिस्थिति सृजना नहुनु, कृषि प्रणाली मौसममा निर्भर हुनु लगायतका विविध समस्याहरु नेपालमा कायम रहँदै आएका छन् ।
राज्यले नेपालमा विगतमा गाउँघरका जग्गाजमीनलाई उपयोगमा ल्याउने नीति नबनाएको र यस कार्यमा खटिने युवा जनशक्तिको समेत अभाव रहेको कारण कृषियोग्य जमीन अधिकांश बाँझै छन् । तर अहिले विगतको तुलनामा ठूलो संख्यामा विदेशिएका र शहर पसेका नेपालीहरु गाउँ फर्किएका छन् । गाउँमा भएका युवाहरुलाई जसरी परिचालन गर्न सकिन्छ त्यही तरिका अपनाउँदै युवाहरुलाई परिचालन गर्नु जरुरी छ । जुन अहिलेको आवश्यकता बनेको छ । साथै अहिलेको अवस्था अर्थात लकडाउन अवधिलाई राज्यले राम्रो तवरले व्यवस्थित गर्ने हो भने यो अवधि नेपालको कृषिको लागि सुवर्ण अवसर पनि बन्न सक्छ ।
लकडाउनको कारण नेपाल नफर्किएका ठूलो संख्याका नेपालीहरु समेत अवस्था सामान्य बन्ने बित्तिकै नेपाल फर्किने अवस्था समेत देखिन्छ । साथै विदेशमा ठूलो संख्यामा रोजगारी गुम्ने अवस्था समेत छ । जसले गर्दा कृषि क्षेत्रलाई महत्व सहित अघी बढाएको खण्डमा नेपालमा लाखौं युवाहरुले कृषि क्षेत्रलाई कर्म क्षेत्र बनाउन सक्छन् । र कृषि क्षेत्रमा समेत पुःन सुनौला किरणहरु प्रवेश गर्न सक्छन् । तर यस कार्यमा राज्यले नै चासो नराख्ने हो भने रोजगारी गुमाएर घर फर्किएर युवालाई व्यवस्थित गर्ने कार्य नै राज्यको ठूलो टाउको दुखाइको विषय बन्न सक्ने देखिन्छ ।
कृषिमा संलग्न हुनको लागि अहिलेका समस्या के हुन् भन्ने कुरा राज्यलाई थाहा छ । यस क्षेत्रमा काम गर्ने व्यक्तिहरु प्रतिको सामाजिक दृष्टिकोण राम्रो बन्न नसक्नु, राज्यको प्राथमिकतामा कृषि क्षेत्र नपर्नु, राज्यले प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन नगर्नु, बाँझो जग्गाको प्रयोगलाई महत्व नदिनु, कृषि प्रविधि र विशेषज्ञताको अभाव हुनु, बिउ मल पानीको सहज उपलब्धता नहुनु, श्रमको सम्मान गर्ने परिस्थिति सृजना नहुनु, कृषि प्रणाली मौसममा निर्भर हुनु लगायतका विविध समस्याहरु नेपालमा कायम रहँदै आएका छन् । यसको अलावा बैंकबाट ऋण लिएर कृषिमा संलग्न हुन चाहने युवालाई सहज व्याजमा ऋण पाउने व्यवस्था गर्न नसकिनु, कृषिको लागि जग्गा लिज्डमा लिनुपर्दा निकै महँगो पर्न जानु र उत्पादित कृषि वस्तुको बजारको व्यवस्थापन राम्रो तवरले हुन नसक्नु लगायतका कारणले अहिले पनि कृषि क्षेत्र व्यावसायिक बन्न सकेको छैन ।

अहिले मुलुकमा आउने ठूलो परिमाणको रेमिट्यान्सलाई हेरेर कृषिप्रति मूकदर्शक बनिरहेपनि अब सबै नेपाली नेपालमा नै फर्किने परिस्थिति बने त्यतिबेला निकै अप्ठ्यारो अवस्था सृजना हुन सक्छ । यस्तो अवस्थालाई विचार गर्दै राज्यले यहाँका जनतालाई आफ्नै माटोमा पुरुषार्थ गर्न तत्काल आकर्षित गर्नु जरुरी छ ।
मुलुकमा अझै लामै समय लकडाउन हुने देखिएको छ । अहिले पनि सुरक्षित तरिका अपनाएर उत्पादन तर्फ नलागे अब हाम्रो अवस्था झन् कमजोर बन्नेछ । हामी भोकभोकै बस्नुपर्ने अवस्था पनि आउन सक्छ । सरकारले यस तर्फ समयमा नै सोच्नुपर्छ ।
सबै वस्तुमा आयातमा नै निर्भर रहने अवस्था आएको खण्डमा हाम्रो अवस्था निकै कमजोर हुन्छ, जुन स्वभाविकै हो । पछिल्ला बर्षहरुमा नेपालमा कृषिजन्य प्रविधिको आयात तुलनात्मक रुपमा बढ्दो छ । यसले कृषिको उत्पादकत्व बढाउन सहयोग त गरेको छ नै । त्यो राम्रै हो, यद्यपि यस्ता कतिपय प्रविधिहरु नेपालमा नै निर्माण गर्न सकिने अवस्था पनि छ । राज्यको स्वदेशी उद्योग प्रवद्र्धनको नीति बन्ने हो भने विभिन्न किसिमका प्रविधि र मेसिनरी सामानहरु नेपालमा नै उत्पादन गर्न सकिने सम्भावना पनि छ । यस कार्यको जिम्मेवारी लिन हामी व्यवसायी नै तयार छौं । यद्यपि अहिले सम्म सरकारले यस बारेमा सोच्न र व्यवसायीलाई आकर्षित गर्न नसक्दा स्वदेशमा उत्पादन हुने सामाग्री समेत आयात नै गर्नुपरेको छ । जुन दुखद छ ।
अहिले हामी लकडाउनको अवधि होम क्वारेन्टाइनमा बसेर बिताइरहेका छौं । लकडाउनको असर अन्य क्षेत्र जस्तै कृषिमा पनि परेको छ । यति बेला बाली लगाउने समय हो । वैशाख महिना । तर किसानले बिउमल र श्रमिक सहजै पाउन सकेका छैनन् । प्रविधि पाउन सकेका छैनन् । तयारी भएको तरकारी त्यत्तिकै कुहिएर नष्ट भएको छ । त्यसलाई कसरी सहज रुपमा बजारीकरण गर्ने भन्ने कुराको जिम्मेवारी राज्यको समेत हुनुपर्ने हो । तर यस सम्बन्धमा राज्यले सोच्न सकेको पाईंदैन ।
मुलुकमा अझै लामै समय लकडाउन हुने देखिएको छ । अहिले पनि सुरक्षित तरिका अपनाएर उत्पादन तर्फ नलागे अब हाम्रो अवस्था झन् कमजोर बन्नेछ । हामी भोकभोकै बस्नुपर्ने अवस्था पनि आउन सक्छ । सरकारले यस तर्फ समयमा नै सोच्नुपर्छ ।
तत्कालको लागि राज्यले बाह्य मुलुकबाट सामानहरु आयात गर्न नसक्ने अवस्थामा नेपालमा आयात भएका सामानहरु किसानको खेतमा पुर्याउन र नेपालका युवाहरुलाई समेत यस्ता प्रविधि उत्पादन बारे सीप सिकाउने किसिमले अघी बढ्ने हो भने हामीले अहिलेको अवस्थालाई नयाँ सम्भावनामा बदल्न सक्ने थियौं । अन्य क्षेत्रबाट तत्काल नेपालको अर्थतन्त्र माथि उठाउन नसकिएपनि कृषिमा आत्मनिर्भर बन्न सक्यौं भने त्यो पनि हाम्रो लागि ठूलो अवसर बन्न सक्ने थियो । यस बारे सरकारी निकायका उच्च पदस्थ व्यक्तिहरुको घैंटोमा समयमा नै घाम लागे त्यसको ताप र प्रकाश हामी सबै नेपालीले महसुस गर्न सक्नेथियौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij