२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

किन हावा खान्छन् कार्यकारी प्रमुखका निर्णय ?

किन हावा खान्छन् कार्यकारी प्रमुखका निर्णय ?

काठमाडौं ।०६२/२०६३ सालको जनआन्दोलनपछि देशले १० वटा कार्यकारी प्रमुखको स्वाद चाख्ने मौका पायो। तीमध्ये ९ कार्यकालका लागि ८ जना प्रधानमन्त्री थिए भने १ जना मन्त्रिपरिषद्का अध्यक्ष रहेका थिए। तीमध्ये २ जना नेपाली कांग्रेस, १ जना सर्वोच्च अदालतका प्रधानन्यायाधीश र ६ कार्यकालमा ५ जना कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा सिंहदरबार छिरे। प्रधानमन्त्रीसँगै थुप्रै मन्त्रीहरू पनि परिवर्तन भए। दर्जनौं महत्त्वाकांक्षी निर्णयहरू गरिए अनि प्रतिबद्धताहरू पनि जनाइए। कार्यान्वयन तह अक्सर फितलो नै रहेको पाइयो। देशले सरकारबाट १० वर्षको अवधिमा न त विकास निर्माणको गतिमा फड्को मार्न सक्यो न त गरिबीको सूचांक नै घटाउन सक्यो। यो अवधिमा महाभूकम्प, संविधान कार्यान्वयनको चुनौती, नाकाबन्दीको असर मुलुकले व्यहोरिरहेको छ। विडम्बना, सरकारबाट न भूकम्पपीडितहरूले राहतको महसुस गर्न पाएका छन् न त संविधान कार्यान्वयन नै सहज तरिकाले भइरहेको छ। झन् दिनप्रतिदिन आम मानिसले अप्ठेरो महसुस गरिरहेका छन्। २०६२ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएदेखि हाल दोस्रोपटक प्रधानमन्त्री बन्ने अवसर पाएका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका सरकारसम्मले सयौं निर्णय गरेका छन्। तर, ती निर्णयहरू कागजमै सीमित भएको पाउन सकिन्छ।

राजनीतिक खिचातानी, मन्त्रालय–मन्त्रालयबीच समन्वयको अभाव, सुशासनको कमी र उपर्युक्त संरचना नहुनुले पनि निर्णयहरू कार्यान्वयन नभएको पाइएको छ। २०६२⁄२०६३ को वसन्त क्रान्ति पनि भनिने दोस्रो जनआन्दोलनपछि सात दलका नेताका रूपमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो। कोइराला प्रधानमन्त्री भएपछि उहाँको प्रतिबद्धता थियो– प्रत्येक गाविसमा एक डाक्टरसहित स्वास्थ्य चौकी व्यवस्था गर्ने। तर, अझैसम्म पनि स्वास्थ्य चौकीहरू अहेव र सामान्य कर्मचारीको भरमा चलिरहेका छन्। गाउँमा सुत्केरी हुँदा समेत अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ। राष्ट्रिय स्वास्थ्य नीति २०७१ ले स्वास्थ्यकर्मीको चक्रीय प्रणालीमा सरुवाको व्यवस्था गर्ने जसले गर्दा सबै स्वास्थ्यकर्मीलाई दुर्गम क्षेत्रमा जानैपर्ने अवस्था सिर्जना गर्न निर्देश गरेको त छ, तर यसको कार्यान्वयन हुन सकेको छैन।

ग्रामीण इलाकामा गएर काम गर्नेलाई ऐन–कानुनले प्रोत्साहन गरे पनि ग्रामीण तहमा गएर चिकित्सा सेवा प्रवाह नगरे के हुने भन्ने सन्दर्भमा बाध्यकारी नियम नभएको सरोकारवालाहरू बताउँछन्। त्यति मात्र होइन द्वन्द्वपीडित, दलित, लोपोन्मुख जनजाति तथा विभिन्न कारणले पढाइ छोडेकालाई शिक्षाको दायरामा ल्याउने भनी निर्णय गरियो। तर, अझै विद्यालय जाने उमेर समूहका ३ लाख विद्यार्थी विद्यालय बाहिर रहेको अभिभावक संघका केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारी बताउनुहुन्छ। २०६५ साउनमा जनयुद्ध को राप र तापसँगै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पहिलोपटक मुलुकको कार्यकारी सर्वोच्च पदमा पुग्ने मौका पाउनुभयो। उहाँको निर्णय थियो– मुक्त कमैया पुनःस्थापना आयोग गठन र वादी समुदायको मागअनुसार यौनमुक्त घोषणा।
तर, विडम्बना आयोग गठनको निर्णय भए पनि अझै करिब १ सय ५० कमलरी बस्न बाध्य छन्। कमैया पुनःस्थापना आयोग गठन भए पनि त्यसले उद्देश्यअनुसारको काम गर्न नसकेको स्वयम् आयोगका सदस्य वसन्ती चौधरीले स्वीकार्नुभयो। उहाँले भन्नुभयो– ३२ हजार मुक्त कमैयाहरूको तथ्यांक आयोग समक्ष आएको छ। जसमध्ये २ हजार मुक्त कमैयाहरूलाई जग्गा वितरण गर्न अझै बाँकी छ। आयोगले प्रतिमुक्त कमैया ५ कट्ठा जग्गा उपलब्ध गराइरहेको छ।

लगत्तै एमाले नेता माधवकुमार नेपाल २०६६ जेठ ११ गते प्रधानमन्त्रीका रूपमा आसिन हुनुभयो। उहाँ प्रधानमन्त्री हुँदा भएको पहिलो निर्णय थियो– गणतन्त्रको सम्झनास्वरूप काठमाडौंस्थित रत्नपार्कमा गणतन्त्र स्तम्भ पार्क निर्माण गर्ने। तर, अहिलेसम्म स्तम्भ पार्क निर्माण हुन सकेको छैन। न त, निर्माणका लागि पहल नै थालिएको छ।

उहाँको पालामा भएको संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) लाई नेपालबाट फिर्ता पठाउने निर्णयलाई भने सबैले सकारात्मक रूपमा लिएका छन्। एमालेकै अर्का नेता झलनाथ खनालले २०६७ माघ २३ देखि २०६८ भदौ ११ सम्म देशको प्रधानमन्त्री बन्ने मौका पाउनुभयो। उहाँको निर्णय थियो– देशभर २ सय ४० वटै निर्वाचन क्षेत्रमा सार्वजनिक सेवा केन्द्र स्थापना गर्ने। विडम्बना निर्णयले कार्यान्वयनको गोरेटो समात्न सकेन। कारण हो– देश संघीयताको ढाँचामा प्रवेश गर्नु। किन सो निर्णय कार्यान्वयन हुन नसकेको भनी जिज्ञासा राख्दा स्थानीय विकास मन्त्रालयका सहसचिव रश्मिराज पाण्डे भन्नुहुन्छ– देश स्थानीय निकाय निर्वाचनको तयारीमा गएकाले सार्वजनिक सेवा केन्द्र निर्माणतर्फ त्यति ध्यान दिएनौं। सबै सेवाको मुख्य केन्द्रबिन्दु अब छिट्टै गाउँपालिका र नगरपालिका हुँदै छन्।

पछि के हुँदै छ भनेर त्यति पनि समयमै भेउ नपाउने गरी के निर्णय गरिएको होला भनेर अहिले प्रश्न उठिरहेको छ। यद्यपि राजधानी भित्रिने सवारीको चाप अत्यधिक रहेको ट्राफिकजामलाई न्यूनीकरण गर्न नौबीसे–नागढुंगा खण्डमा सुरुङ बनाउने कामलाई अघि बढाउन सम्भाव्यता अध्ययन गर्ने निर्णय भने कार्यान्वयनको चरणमा गएको छ। सम्भाव्यता अध्ययन भइसकेको तर कहिले र कसरी सुरुङ बनाउने सन्दर्भमा अझै योजना बनिनसकेको बताइएको छ।

२०६८ भदौ १२ देखि २०६९ फागुन ३० सम्म तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्रीको कुर्सीमा बस्नुभयो। उहाँको पहिलो निर्णय थियो– जनसत्ताले गरेका निर्णयलाई वैधानिकता दिने। विडम्बना निर्णय कागजमै सीमित हुन पुग्यो। किन सो निर्णय कार्यान्वयन हुन नसकेको भनी नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठलाई जिज्ञासा राख्दा उहाँको गोलमटोल भनाइ थियो– विस्तृत शान्ति सम्झौता आउनु अघि नै जनसत्तालाई वैधानिकता दिने निर्णयमा अनौपचारिक सहमति भएको त हो। तर, अघिल्लो सरकारले जतिसुकै राम्रो काम गरे पनि नयाँ बन्ने सरकारले निर्णय उल्ट्याउने प्रवृत्तिका कारण कार्यान्वयनमा समस्या आएको हो। हामीकहाँ संस्थागत रूपमा सरकार सञ्चालन गर्ने संस्कारको अभाव छ।

विज्ञहरूका अनुसार यो आफैंमा नाजायज निर्णय थियो। किनकि, त्यति बेला माओवादी युद्ध जितेर सत्तामा आएको एकातिर थिएन भने अर्कातर्फ जनसत्ता नामको निकायले थुप्रैको जग्गा कब्जा गर्ने, लुटपाट गर्नेलगायतका कामसमेत गरेको थियो। त्यसैलाई वैधानिकता दिने गरी मुलुकको प्रधानमन्त्रीजस्तो मान्छेले यस प्रकारको हावादारी निर्णय गरेपछि त्यसको कार्यान्वयनको कुनै गुन्जायस नै देखिएन।

दलहरूको नालायकीका कारण सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी २०६९ चैत १ देखि २०७० माघ २८ सम्म चुनावी मन्त्रिपरिषद्को अध्यक्षको हैसियतमा मुलुकको कार्यकारी प्रमुख बन्नुभयो। जसरी पनि संविधानसभाको दोस्रो निर्वाचन गर्ने जिम्मेवारी लिनुभएका रेग्मीको निर्देशन थियो– मन्त्रालयका कामकारबाही पारदर्शी र सर्वसाधारणको पहुँचमा पुर्याउन हरेक मन्त्रालयबाट भइरहेका महत्त्वपूर्ण निर्णयहरू २४ घण्टाभित्र आ–आफ्नो वेबसाइटमा राख्ने। तर, यो निर्णय पनि गफमै सीमित भयो। किन कार्यान्वयन हुन नसकेको त ? सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालको जवाफ थियो– आफूलाई यस विषयमा जानकारी छैन।

२०७० साल माघ २८ देखि २०७२ असोज २४ गतेसम्म नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो। खाडीलगायतका विभिन्न मुलुकमा फ्री भिसा र फ्री टिकट मार्फत विदेश पठाउने कोइराला मन्त्रिपरिषद्को निकै चर्चित निर्णय थियो। तर, विडम्बना म्यानपावर कम्पनीहरूले सरकारको त्यो निर्णय कार्यान्वयन हुन दिएनन्। बेरोजगार युवायुवतीसँग पैसा लिने तर बिल नदिने कार्यलाई निरन्तरता दिइरहे। पछि त यतिसम्म लाजमर्दो अवस्था उत्पन्न भयो कि आफूहरूले ठग्न पाउनुपर्छ भनेर म्यानपावर कम्पनीहरूले विरोध प्रदर्शन गर्दा समेत सरकार रमिते भएर बसेको पाइयो।

गरिब दुःखी जनता रकम तिरेरै विदेश गइरहेका छन्। किन यो निर्णय कार्यान्वयन नभएको भनी जिज्ञासा राख्दा श्रम मन्त्रालयका सूचना अधिकारी शिवराम सेढाईंले सम्बन्धित व्यक्तिको उजुरी नपरेका कारण कारबाही गर्न नसकिएको बताउनुभयो। उहाँले थप्नुभयो– शैक्षिक, सामाजिक र आर्थिक अवस्था कमजोर भएकाहरू विदेश जाने गरेका छन्। विदेश जानेहरूले आफूलाई अप्ठेरो हुन्छ कि भनेर पनि उजुरी दिन मान्दैनन्। त्यही भएर कारबाही गर्न नसकिएको हो। यदि यसो हो भने सर्वसाधारणलाई अप्ठेरो नपर्ने सुनिश्चितता सरकारले गर्नुपर्ने कि नपर्ने? यो प्रश्नको जवाफ दिन भने कोही पनि तयार देखिएनन्।

२०७२ असोज २५ देखि २०७३ साउन १९ को बीचमा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि मन्त्रिपरिषद्को पहिलो बैठकले दुई वर्षभित्रमा मुलुकबाट तुइन विस्थापन गर्ने निर्णय गरेको थियो। अलिकता सकारात्मक दिशातर्फ अघि बढेको निर्णय भनेको यही मात्रै हो। देशभर १ सय ७१ वटा तुइन रहेको र अहिलेसम्म १० वटा तुइन हटाई नयाँ सडक र पुलले प्रतिस्थापन गरिएको पुल विभागले जानकारी दिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार यसका लागि ३ अर्ब ७७ करोड रुपियाँ छुट्याइएको छ।

अहिलेका प्रधानमन्त्री प्रचण्डलाई २०७३ साउन १९ गते ३९औं प्रधानमन्त्रीका रूपमा सिंहदरबार छिर्ने दोस्रो अवसर प्राप्त भयो। उहाँको पहिलो निर्णय थियो– भूकम्पपीडितलाई घर बनाउन ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने र बाढीपहिरोपीडितलाई राहत दिने।

-नेपालसमाचारपत्र

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij