२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेपालमा खरायाेकाे व्यावसायिक पालन गरेका उज्ज्वल चापागाइकाे व्यावसायिक अनुभव

नेपालमा खरायाेकाे व्यावसायिक पालन गरेका उज्ज्वल चापागाइकाे व्यावसायिक अनुभव

काठमाडौं । खरायो पालन नेपालका लागि नयाँ व्यवसाय हो  । नेपालमा व्यावसायिक हिसाबले खरायो पालन गर्न सुरु गरिएको धेरै समय भएको छैन । अझै पनि अधिकांश नेपालीका भान्सामा खरायोको मासु पाक्ने गरेको छैन् । अर्थात् धेरै नेपालीहरुलाइ खरायोको मासु स्वास्थ्यका लागि उत्तम हो, यसको मासु पनि खान हुन्छ भन्ने कुरा पनि थाहा छैन ।

नेपालको हावापानी खरायो पालनका लागि उपयुक्त भएकाले खरायो पालनको संभावना नेपालमा एकदमै राम्रो रहेको उज्ज्वल चापागाईं बताउँछन् । खरायो पालनका लागि आवश्यक स्रोत र साधन नेपालमै पाइने भएकाले पनि यो व्यवसाय गर्न सजिलो रहेको चापागाईको भनाई छ  । कुखुरा पालनका लागि दाना लगायतका कच्चा पदार्थ अन्य देशबाट आयात गर्नुपर्ने समस्या रहेतापनि खरायोका लागि आवश्यक पर्ने घाँस नेपालमै हुने भएकाले यसको पालन सरल भएको उनी बताउँछन् ।

खरायो स्तनधारी चारखुट्टे जनावर हो । यो जनावर घरपालुवा र जंगली दुवै अवस्थामा पाइन्छ। खरायो विशेषगरी मासु र ऊनका लागि विश्वका धेरै ठाऊँमा पालिने गरिन्छ । तर नेपालमा भने यसलाई सौखको रूपमा पाल्ने गरिन्छ। धेरै नेपालीले सौखको रूपमा पाल्ने खरायोलाई उज्ज्वल चापागाईंले भने व्यावसायिक रुपमा फार्म सञ्चालन गरी पालन गरेका छन् । वातावरणीय विज्ञानमा मास्टर्स गरेका चापागाईंले १५ रोपनी जग्गामा धादिङ जिल्लाको पिपलामोड भन्ने ठाउँमा आधुनिक खरायो पालन फार्म सञ्चालन गरेका छन्।

वि.सं. २०६९ सालमा  ‘हिमालयन र्‍याविट फार्म’ को स्थापना गरेका चापागाईले अहिले खरायोको मासु उत्पादनका साथै खरायोको प्रजनन र यसको बजारीकरणका लागि काम गरिरहेका छन् । अन्य मासुको तुलनामा खरायोको मासु बढी स्वस्थकर मानिने उनकाे भनाइ छ । खरायोको मासुमा पछिल्लो समय मानिसका रुचि पनि बढेको छ । खरायोको मासुमा अत्यधिक प्रोटिन र  क्याल्सीयम पाइन्छ । यसमा एकदमै  कम मात्रामा मात्र फ्याट, काेलिस्ट्राेल र क्यालाेरी हुने भएकाले खरायोको मासुका परिकारहरु मुटुरोग, डायबिटिज, दम भएका व्यक्ति, गर्भवती र सुत्केरी महिला, ग्यास्ट्रिक, बृद्धदेखि सम्पूर्ण उमेरसमूहका व्यक्तिहरुलाई लाभदायक मानिन्छ । रातो मासु सेवन गर्न नहुने र पाचन प्रणाली कमजोर भएका व्यक्तिहरुका लागि पनि यो उपयुक्त मानिन्छ । खसी, कुखुराको मासु भन्दा पनि खरायोको मासु स्वस्थकर रहने चापागाईको भनाइ छ।

नेपालमा खरायो पालनको संभावना

नेपालको हावापानी खरायो पालनका लागि उपयुक्त भएकाले खरायो पालनको संभावना नेपालमा एकदमै राम्रो रहेको उज्ज्वल चापागाईं बताउँछन् । खरायो पालनका लागि आवश्यक स्रोत र साधन नेपालमै पाइने भएकाले पनि यो व्यवसाय गर्न सजिलो रहेको चापागाईको भनाई छ  । कुखुरा पालनका लागि दाना लगायतका कच्चा पदार्थ अन्य देशबाट आयात गर्नुपर्ने समस्या रहेतापनि खरायोका लागि आवश्यक पर्ने घाँस नेपालमै हुने भएकाले यसको पालन सरल भएको उनी बताउँछन् ।

खरायोका लागि दानापानी पनि झन्झटिलो नरहेको उनले बताए । खरायोले विशेष गरी दुबो, किम्बू, भटमास, जौ, सखरखण्ड, गहुँ सिमी, गाजर, बन्दा तथा डाले घाँस खाने  गर्दछ । तर खरायोलाई खानपिन तथा सरसफाइमा  विशेष ध्यान दिनुपर्दछ । खानपान तथा सरसरफाइमा विशेष ध्यान नदिए खरायो मर्न पनि सक्ने उनले बताए ।

हिमालयन र्‍याविट फार्म स्थापना गरेको ८ बर्षमा उनले यस फार्मको स्तरउन्नतीका लागि हाल सम्म साढे दुई करोड लगानी गरिसकेका छन् । उनले खरायोको पालनका साथै खरायोको मासु, खरायो पालनसम्बन्धी प्रविधि, तालिम तथा परामर्श सेवा प्रदान गर्दै आएका छन् । उनले किसानहरुसँग मिलेर यसको प्रबर्द्धनका पनि लागि काम गरिरहेका छन् । यस फार्मले खरायो पाल्न इच्छुक किसानलाई उन्नत जातका खरायो उपलब्ध गराउनुका साथै पालन सम्बन्धि तालिम, प्रविधि तथा बजारीकरणका लागि पनि सहयोग गर्दै आइरहेको छ ।

खरायो मासुको बजार

खरायोको मासु बारे उपभोक्ताको रुचि बढेपनि खरायोको मासुको फाइदाका बारेमा पर्याप्त जानकारी नभएकाले खरायोको मासुको खपत बजारमा न्यून रहेको छ । यसको मासु हाइजेनिक र मानव स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यस फार्मबाट उत्पादित खरायोको मासु उच्च गुणस्तरीय, हाइजेनिक, जैविक र रसायनमूक्त रहेको छ ।

खरायोकाे मासु सेतो हुन्छ, जुन मानव स्वास्थ्यका लागि रातो मासुभन्दा निकै स्वास्थ्यवर्द्धक मानिन्छ ।

नेपालमा खरायोको मासु आम प्रचलनमा छैन। युरोपीयन देशमा भने खरायोको मासु खाने प्रचलन  पुरानो हो । त्यसैले युरोपीयन पर्यटक बस्ने होटलहरुमा यसको माग बढी हुने उनी बताउँछन् ।  विस्तारै मानिसको रुचीमा पनि परिवर्तन आइरहेको छ । अहिले मानिस होटल तथा रेष्टुराँमा जादाँ खरायोको मासुका परिकारहरु पनि मिठो मानि खाइरहेका हुन्छन् ।

उनका अनुसार अहिले नेपाली रेष्टुरेन्टमा पनि खरायको मासु बिक्री हुन्छ। भेटघाट, युनिभर्सल क्याफे, कवालिटी क्याफे लगायतका रेष्टुरेन्टमा खरायोको मासु पाइन्छ। त्यसै गरी उपभोक्ताका लागि स्वस्थकर र स्वच्छ खरायोको मासु धुलिखेलस्थित होटल र रेष्टुरेन्टमा उपलब्ध हुने चापागाईले बताए ।

खरायाे मासुकाे अहिलेकाे अवस्थाः

विशेषतः विदेशीको चहलपहल हुने होटल तथा रेष्टुराँमा खरायोको मासुको माग बढी हुने गर्दछ । तर कोरोना भाइरसका कारण सृजित विषम परिस्थितिका कारण होटल तथा रेष्टुरेन्टहरु बन्द रहेका छन् । यसको प्रत्यक्ष असर खरायोको मासु विक्रीमा पनि देखिएको छ । यद्यपि अहिले आम मानिसमा पनि खरायोको मासु स्वास्थ्यका दृष्टिकोणले राम्रो रहेको सूचना पुगेकाले यसको विक्री भइरहेको उनी बताउँछन् । तर लकडाउनका कारण व्यापारमा केहि मन्दी भने आएको र यो स्थिति सामान्य भएपछि व्यापारले गति लिनेमा भने उनी ढुक्क छन् ।

 खरायो पालनका चुनौती

चापागाइ भन्छन्, व्यावसायीक स्तरमा खरायो पालन गर्ने पहिलो फार्म हामी भएकाले पनि यसमा केहि चुनौती त अवश्य रह्यो नै । खरायो पालन नेपालमा नयाँ रहेकाले पनि यसबारे आम मानिसलाई बुझाउनु नै हाम्रो लागि मुख्य चुनौती थियो । खरायोको मासु खान हुन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने बुझाउन नै हामीलाई समय लाग्यो ।

नेपालमा खरायो पालन ब्याबसायको मुख्य चुनौती नै बजार व्याबस्थापन हो । उपभोक्ताहरुलाई खरायोको मासुको बारेमा सहि ज्ञान नहुनु नै बजार नपाउनुकाे मुख्य समस्या हो । तर अब भने धेरै मानिसले बुझिसकेका छन् । धेरै कृषकहरु खरायो पालनका लागि तालिम तथा खरायोका लागि हाम्रो फार्ममा आउने गरेका छन् । साथै हिमालयन र्याबिट सँग अहिले साना तथा मध्यम मात्रामा खरायो पालन गर्ने करिब दुई सय किसानहरु आवद्ध हुनुहुन्छ । यस फार्मले किसानहरुले उत्पादन गरेका खरायो खरिद गर्ने काम पनि गर्दछ भने आफैं बेच्न चाहने कृषकका लागि बजारको सहजीकरण गर्ने काम पनि गर्दै आएकाे छ ।

हिमालयन र्‍याविट फार्मले ग्रामिण क्षेत्रका किसानहरुलाई खरायोपालन सम्बन्धी तालिम र प्रविधिमा पनि सहयोग पुर्याउँदै खरायोको मासु उत्पादन र बजार प्रवर्द्धनका लागि अभिप्रेरित गर्दै आइरहेको छ । त्यसैगरी उच्च गुणस्तरीय र व्यावसायिक रुपमा खरायोको मासु नेपालका सबै ठाउँमा पुर्याउन पनि हिमालयन र्याविट फार्म सक्रिय हुँदै आएको छ ।

खरायाे पालनमा प्राविधिक ज्ञान

आधुनिक खरायो पालनका लागि ठूलो प्राविधिक ज्ञान आवश्यक पर्दैन । तर, आधारभूत जानकारी र परामर्शहरु लिने गरेमा मात्रै व्यावसायिक रुपमा सफल हुन सक्ने उज्ज्वल बताउँछन् । यस व्यवसायमा काम गर्दै जाँदा चापागाइले अाफ्नाे चीन, बेल्जीयम, फ्रान्सका खरायोपालकहरुसँग सम्पर्क भएकाे र उनीहरुसँग बेलाबेलामा परामर्श तथा विचार आदन प्रदान गर्ने गरेको बताए । यसले उनलाई यो व्यवसायमा अझै सक्रिय भएर लाग्न प्रेरणा र प्रत्साहन दिलायाे ।

आगामी योजना

खरायो मूलतः शाकाहारी जनावर हो । करिब ५–६ महिनाको उमेर पुगेपछि पोथी खरायो वयस्क हुन्छ । प्रजनन गराएको २८ देखि ३२ दिनमा नै खरायोले ४ देखि १२ वटासम्म बच्चा जन्माउने गर्छ । त्यसको १२–१५ दिनमा नै पुनः गर्भधारण गर्दछ । नेपालमा मासुका लागि विशेष गरी सोवियत चिन्चिल्ला, न्युजिल्याण्ड ह्वाइट र क्यालिफोर्निया जातका खरायोहरु पालिने गरिएको छ ।  खरायो पालन आम्दानीको राम्रो श्रोत हो । अहिले कोभिड -१९ का कारण रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरु यस व्यवसायमा आवद्ध हुनसके मनग्य आम्दानी गर्न सकिने चापागाई बताउँछन् ।

उनको खरायो फार्म अहिले धेरैको लागि अध्ययन केन्द्र पनि बनेको छ । उनी युवाहरुलाई प्रोत्साहन दिनका लागि यस सम्बन्धि  तालिम दिने गर्दछन् । खरायो पालन गर्न चाहनेका लागि उन्नत जातको खरायो, यसका लागि आवश्यक प्रविधि र ज्ञान उपलब्ध गराउँदै आएका छन् उनी ।  भविश्यमा यस फार्मलाई ‘लनिर्ङ सेन्टर’ को रुपमा विकाश गर्ने योजना उनको छ । उनी नेपालका विभिन्न ठाँउलाई र्‍याविट मिट हबको रुपमा विकास गर्ने योजनाका साथ लागि परेका छन् ।

चापागाइ भन्छन्, ‘हामी मलेखुलाई माछाका लागि चिन्छौं त्यसै गरी विभिन्न ठाउँलाइ खरायो मासुका लागि चिनिने ठाउँ बनाउन सक्याैं भने यसको प्रबर्द्धनमा थप योगदान पुग्थ्यो । यसका लागि व्यवसायी र सरकार मिलेर काम गर्नसके याे व्यवसाय थप फस्ट्याउने थियो  ।‘

हामी मलेखुलाई माछाका लागि चिन्छौं त्यसै गरी विभिन्न ठाउँलाइ खरायो मासुका लागि चिनिने ठाउँ बनाउन सक्याैं भने यसको प्रबर्द्धनमा थप योगदान पुग्थ्यो । यसका लागि व्यवसायी र सरकार मिलेर काम गर्नसके याे व्यवसाय थप फस्ट्याउने थियो  ।‘

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij