२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो, नियन्त्रणका प्रयास जारी

काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो, नियन्त्रणका प्रयास जारी

काभ्रेपलाञ्चोक, चैत ४ – बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो फैलिएको छ। राति करिब ११ बजेबाट लागेको आगो नियन्त्रण गर्न स्थानीय, प्रहरी तथा वन उपभोक्ता समितिका प्रतिनिधिहरू सक्रिय रूपमा जुटिरहेका छन्।

वडाध्यक्ष कुवेर ढकालका अनुसार आगलागी भएको क्षेत्रबाट करिब एक किलोमिटर दूरीमा मानव बस्ती रहेको छ। हालसम्म डढेलो देव्रेतर्फ फैलिएको अवस्था छैन, तर यदि फैलिएमा बस्तीसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको बताइएको छ। साथै, नजिकै रहेको थलीडाँडा र हर्कभञ्याङ खानेपानी आयोजना समेत आगलागीको सम्भावित असरमा रहेको छ।

रातको समयमा आगो नियन्त्रण गर्न कठिनाइ भएकाले बिहानैदेखि आगो नियन्त्रणका प्रयासहरू तीव्र बनाइएको छ। स्थानीय जनप्रतिनिधि, प्रहरी, वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीय बासिन्दाहरू आगो नियन्त्रणमा जुटिरहेका छन्। हालसम्म कुनै मानवीय वा पशु क्षति नभएको वडाध्यक्ष ढकालले जानकारी दिनुभयो।

यसअघि, माघ महिनाको पहिलो सातामा खानीखोला गाउँपालिका–१ स्थित थामलेखडाँडाको महाभारत जङ्गलमा लागेको डढेलो चार दिनसम्म नियन्त्रण गर्न सकिएको थिएन। नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य निकायहरूको प्रयासले सम्भव नभएपछि गृह मन्त्रालयमार्फत हेलिकप्टर परिचालन गरेर मात्र आगो नियन्त्रणमा ल्याइएको थियो। थामलेखडाँडाबाट सुरु भएको उक्त आगलागी बेथानचोक गाउँपालिकाका विभिन्न वडासम्म फैलिएको थियो।

गोरखनाथ सामुदायिक वनमा लागेको हालको डढेलोलाई समयमै नियन्त्रण गर्न सम्बन्धित निकायहरू निरन्तर प्रयासरत रहेका छन्।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij