२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

कस्मेटिक व्यवसायीहरुले सम्पन्न गरे सहकारीका विज्ञहरुसँग अन्तरक्रिया

कस्मेटिक व्यवसायीहरुले सम्पन्न गरे सहकारीका विज्ञहरुसँग अन्तरक्रिया

काठमाडौं । नेपाल कस्मेटिक व्यवसायी संघको आयोजनामा सहकारी क्षेत्रमा देखिएको तरलता समस्या र कारण सम्बन्धमा शनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
शनिवार न्यूरोड स्थित मारवाडी सेवा समिति भवनमा आयोजना गरिएको उक्त कार्यक्रममा मुख्य अतिथिको रुपमा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे उपस्थित थिए । विशेष अतिथिको रुपमा सहकारी बैंकका अध्यक्ष केबी उप्रेती थिए भने अन्य अतिथिहरुमा सहकारी बैंकका सञ्चालक रामहरी बजगाईं, उद्योग वाणिज्य महासंघका बाग्मती प्रदेश उपाध्यक्ष दुर्गाराज श्रेष्ठ, नेपाल वितरक संघ काठमाडौंका अध्यक्ष राजेन्द्र सिंखडा लगायत थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नमराज घिमिरेले सहकारी क्षेत्रमा समस्या सृजना हुनुमा सदस्य व्यवसायी आफ्नै मुख्य कमजोरी रहेको औंल्याए ।

सहकारी क्षेत्रमा समस्या आउनुमा मुख्य कारण सहकारीका सदस्यले आफू ऋणि वा बचतकर्ताका रुपमा नभई लगानीकर्ताका रुपमा भूमिका निर्वाह गर्न नसक्नु मुख्य कारण रहेको उनले औंल्याए ।

सहकारी संस्थाहरुले संकलित रकम अन्य कुनै ठाउँमा लगानी गरेको र लगानीबाट प्रतिफल सहित रकम फिर्ता आउन समय लाग्ने भन्दै लगानी नडुब्नेमा ढुक्क हुन आग्रह गरे ।
समस्या आउनुभन्दा पहिले नै सदस्यहरु सचेत बन्न नसक्नु र सहकारी संस्थामा अपनत्व महसुस हुने स्थिति सृजना हुन नसक्नु समस्या सृजनाको मुख्य कारण रहेको उनले बताए ।
व्यवसायीहरुले सहकारी सम्बन्धमा आवश्यक अनुगमन हुन नसकेको र अनुगमनकारी निकायहरु सुतेको अवस्थामा रहेको भन्ने प्रश्नमा जवाफ दिँदै घिमिरेले सहकारीको मान्यता स्वनियमन समेत भएकोले सदस्य सचेत हुनुपर्ने बताए ।

व्यवसायीहरुले सहकारी सम्बन्धमा राम्रो सँग ज्ञान हासिल गर्न नसकेको र लोभ एवं डरबाट नियन्त्रित भई रकम सहकारीमा संकलन गर्ने प्रचलनकै कारण यस किसिमको समस्या उनले आएको बताए । समस्या आउनुमा व्यवसायी, सहकारीका सञ्चालक दुवै दोषी रहेको उनले बताए । साथै विश्वव्यापी मन्दीको असर समेत देखिएको भन्दै सबैलाई धैर्यधारणको निम्ति आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउने दायित्व वहन गर्न व्यवसायीहरुको पनि कर्तव्य हुने बताए । अन्य देशहरु जापान, कोरिया, मलेसिया लगायतमा सहकारी क्षेत्र सफल भएको र नेपालमा पनि राम्रो तवरले अभ्यास हुन सके सहकारी क्षेत्र असफल नहुने उनले तर्क गरे ।

सहकारी बैंकका सञ्चालक रामहरी बजगाईंले अहिले सबै सदस्यहरु सहकारी संस्थाका साधारणसभामा जाने स्थिति नरहेको, सबै सहकारीका बचतकर्ता शेयरहोल्डर नभएको, एउटै सदस्य धेरै संस्थामा आबद्ध रहेको, सेवा शुल्क र व्याजदर बारे समेत सदस्यहरु सचेत नरहेको र आफ्ना दायित्व र जिम्मेवारी बारे सबै सचेत नभएको स्थिति बारे जानकारी गराए । साथै उनले कोभिड–१९ को असर सहकारीमा अहिले देखिएको समेत स्पष्ट पारे । उनले हरेक सदस्यले जिम्मेवार बन्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ बाग्मती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले काठमाडौं महानगरले फुटपाथ व्यवसायीलाई बिना विकल्प हटाउने कार्यसँगै सहकारीमा असन्तुलन शुरु भएको बताए । उनले अहिले व्यवसायीहरु ठूलो समस्यामा रहेको समेत बताए । सहकारीमा हाल सम्म देशभर गरी करिब १० खर्ब रकम लगानी रहेको बताउँदै यस क्षेत्रलाई व्यवस्थित बनाउनमा सबैले सही तवरले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा व्यवसायीहरुले आफूहरुले भोग्दै आएका विभिन्न प्रश्नहरु राखेका थिए ।
कार्यक्रमको समापन गर्दै कस्मेटिक संघका अध्यक्ष ऋषिकेश तिमिल्सिनाले सहयोगको लागि सबैलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij