२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

कविता : खोक्रो गणतन्त्र

कविता : खोक्रो गणतन्त्र

 

सुगीता श्रेष्ठ

कुन गणको तन्त्रमा खुसी मनाउने
दुखेसो आज कता गएर खन्याउने
गण गणको आवाज समेट्ला भनी
देश निर्माण गर्ला भनी पठायौँ चुनी

ठुल्ठुला आश्वासनले लठ्ठ पारिकन
राष्ट्रवादको चर्को भाषण छाडिकन
हाम्रो आँखामा छारो नै पो हानेछन्
हामीलाई बलीकै बोका पो ठानेछन्

सबैको हित गर्छु भनी झूठो प्रण गरे
तीनकै ईशारामा त वीरहरु बली चढे
सहिदहरुको रगतको उपहास हुँदैछ
राष्ट्रियता झुकाई वैरीको पाउ छुँदैछ

हाम्रो मातृभूमिको छाती चिर्नेहरुलाई
छल कपटले सिमाभित्र छिर्नेहरुलाई
हटी हैन डटी सामाना गर्ला भन्ने आश
धोकाको चिहानमाथि भरोसाको लाश

आडम्बरमा गणतन्त्रको दिप जलाउँदै
देशको सार्वभौमसत्ता चुपचाप ढलाउँदै
कसलाई देखाउने हो यो खोक्रो राष्ट्रवाद
जागौँ हामी अझै नजागे हुनेछ ठूलै घात

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij