२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

कृषि

कर्णाली नदीको बगरमा प्याज खेती गर्दै किसान

कर्णाली नदीको बगरमा प्याज खेती गर्दै किसान

टीकापुर, ५ फागुनः कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् । यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन् । कर्णाली नदीको किनारामा विगत तीन वर्ष केही किसानले प्याजखेती गर्दै आएको भए पनि यसवर्ष धेरै किसानले प्याजखेती गरेको स्थानीयको भनाइ छ ।

माटोमा भन्दा बालुवामा प्याज उत्पादन राम्रो हुने भएपछि फाँटाका किसानले बगरमा प्याजखेती गर्न लागेको बताएका छन् । तीन वर्षदेखि बगरमा प्याजखेती गर्दै आउनुभएका स्थानीय सहिबहादुर चौधरीले यसवर्ष ८६ किलो प्याजको बीउ लगाएको बताउनुभयो ।

‘‘गतवर्ष २० किलो प्याजको बेर्ना लगाएर तीन क्विन्टल प्याज उत्पादन भयो’’, चौधरीले भन्नुभयो, ‘‘गत वर्ष बेर्ना राम्रो भएन, पहिलो पटक १३ किलो बेर्ना लगाएर पाँच क्विन्टल उत्पादन भएको थियो ।’’यसवर्ष अढाइ कठ्ठामा खेती गरेको उहाँको भनाइ छ । ‘‘सुरुमा हामी एक दुई जनाले खेती गथ्र्याैँँ अहिले पूरै गाउँ प्याज खेतीमा लागेको छ’’,चौधरीले भन्नुभयो,‘‘सुरु सुरुमा साँझ बिहान सिँचाइ गर्नुपर्छ, हुर्केपछि धेरै मेहनत गर्नुपर्दैन ।’’

विगतमा भारतीय व्यापारीले त्यहाँ लौका र खर्बुजा खेती गर्ने गरेका थिए । स्थानीयले प्याजखेती गर्दा जग्गा खाली नभएपछि भारतीय किसान आउन छाडेको स्थानीयको भनाइ छ । गत वर्ष ६ किलो बेर्ना लगाएर डेढ क्विन्टल बढी प्याज उत्पादन गरेको रामदुलारी चौधरीले बताउनुभयो । ‘‘पोहोरसाल ६ किलो प्याजको बेर्ना लगाएको थिए, यसवर्ष १६ किलो बेर्ना लगाएका छौँ’’, रामदुलारीले भन्नुभयो,‘‘पोहरसाल एक क्विन्टल २० किलो बिक्री गरेको थिए, बाँकी आफन्तलाई दियौँं र घरमा खायौँ ।’’

‘‘बालुवामा प्याज ठूला ठूला दाना लाग्छन्,५÷६ दाना हालेपछि एक किलो पुग्छ’’, रामदुलारीले भन्नुभयो,‘‘पानी बढी चाहिन्छ, पानी नदीमा भएका कारण समस्या छैन ।’’प्याजखेती गर्दा किसानले गोबर मलसहित जिन्क, पोटास र यूरिया प्रयोग गर्ने गरेको बताउँछन् । बालुवामा सिँचाइ गरेपनि सुक्ने भएकाले सुरुका दिनमा दैनिक तीन पटक सिँचाइ गर्नुपरेको किसानको भनाइ छ ।

बालुवामा प्याज उत्पादन बढी हुन्छ भनेर यस पटकबाट बगरमा प्याजखेती सुरु गरेको टीकापुर–८ वनगाँउका किसान हिक्मत ठकुल्लाले बताउनुभयो । ठकुल्लाले पहिलो पटक १६ किलो बेर्ना लगाएको बताउँदै पहिलो पटक अनुभव लिन लागेको बताउनुभयो । ‘‘फाँटा गाउँका किसानले लगाएको देख्दा मैले पनि खेती गरेको छु, सिँचाइ बढी गर्नुपर्ने रहेछ’’, ठकुल्लाले भन्नुभयो,‘‘मसँग त अरु खेत पनि छ तर बगरमा राम्रो फल्छ भनेर यतातिर लागेको हुँ ।’’

प्याज खेतीको लागि खुकुलो माटो उपयुक्त हुने भएकाले राम्रो उत्पादन भएको हुनसक्ने जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताउनुभयो । ‘‘हामीले बगरमा कृषि खेतीगर्नुहोस् भनेर सिफारिस गर्दैनौँ तर प्याजका खेतीका लागि खुकुलो माटो चाहिन्छ ।’’ चौधरीले भन्नुभयो ।

फाँटा गाउँका किसानले प्याजखेती बढाएपछि किसान बगरको प्याजखेती हेर्न आउने गरेको स्थानीय समाजसेवी शेरबहादुर साउदले बताउनुभयो । ‘‘अहिले दैनिकजसो अन्यत्रका किसान यो प्याजखेती हेर्न आउँछन्’’, साउदले भन्नुभयो, ‘‘यसरी सफल हुँदै गयो, भने कर्णालीको बगर हिउँदमा खाली हुँदैन ।’’ बगरमा प्याजखेती सफल हुँदैगएमा टीकापुर नगरपालिकाको वडा नम्बर ५, ६ र ७ का किसानले पनि खेती गर्ने अवसर पाउनेछन् ।

  • रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij