कोरोनाको रेड जोन कपिलवस्तुमा संक्रमण हुने ४३ पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार जिल्लामा आज तीन नयाँ संक्रमित थपिएका हुन् ।
नगरको वडा नं ८ विसनपुरका एक युवक गत वैशाख २५ र अर्को वैशाख २७ गते सिमानाबाट लुकेर आएको खबर पाउनेबित्तिकै गाउँको बगैँचाबाटै क्वारेन्टिन पठाइएको वडाध्यक्ष शंकर अहिरले बताए । संक्रमित दुवै युवा कसैको सम्पर्कमा नआई तत्काल क्वारेन्टिनमा गएको जनाइएको छ ।
शिवराज ११ का संक्रमित युवक वैशाख २६ गते नेपाल आएपछि टोल बाहिरैबाट क्वारेन्टिनमा बस्न गएको वडाध्यक्ष रामेश्वर वर्माले जानकारी दिए । वडा नं ११ का अहिले १० जना क्वारेन्टिनमा रहेको बताइएको छ ।
नयाँ थप भएसंँगै जिल्ला कोरोना संक्रमणको हटस्पट बनेको छ । कपिलवस्तु जिल्लाका यशोधरा गाउँपालिकामा १२, कपिलवस्तु नगरपालिकामा नौ, कृष्णनगर नगरपालिकामा आठ, बुद्धभूमि नगरपालिका र मायादेवी गाउँपालिकामा चारचार, वाणगंगा नगरपालिका र विजयनगर गाउँपालिकामा एकएक तथा शिवराजका तीन जनामा कोरोना संक्रमण भएको छ ।
जिल्लामा चार सुरक्षाकर्मी, एक स्टाफ नर्स, दुई कर्मचारी र एक ६ वर्षीया बालिकामा संक्रमण भएको हो । कपिलवस्तु जिल्लाभरका क्वारेन्टिनमा हाल झण्डै पाँच हजार छन् ।
क्वारेन्टिन बनाउने विषयमा विवाद
विजयनगर गाउँपालिका –५ महादेव गाउँमा क्वारेन्टिन निर्माणका विषयमा विवाद भएको छ । वडा कार्यालयले पुरानो स्वास्थ्य कार्यालयलाई क्वारेन्टिन बनाउने तयारी गरेपछि स्थानीयवासीले विरोध जनाएका हुन् ।
विरोध गर्नेक्रममा प्रहरी र स्थानीयवासीबीच सामान्य झडपसमेत भएको छ । झडपका क्रममा स्थानीयवासी ४५ वर्षीय गुजराती कुर्मी र ३५ वर्षीया आमिना खातुन घाइते भएको स्थानीयवासी पवन चौधरीले जानकारी दिए ।
घाइते महिलालाई उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको छ । घाइते दुवैको स्वास्थ्यावस्था सामान्य रहेको वडा नं ५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमानले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले क्वारेन्टिन बनाउने विषयमा सामान्य विवाद भएको बताए । पाँच नंका वडाध्यक्ष मुसलमान र वडा नं ७ का वडाध्यक्ष दिनेश चौधरीले क्वारेन्टिन बनाउने तयारी गरेपछि स्थानीयवासीले विरोध जनाएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij