काठमाडौं । कतारमा अब रोजगारदाता कम्पनीहरुले कामदारलाई कुनै शारिरीक शोषण वा नियमविरुद्ध व्यवहार गरेमा उनीहरुले बीचमै कम्पनी परिवर्तन गर्न पाउने भएका छन्।
नेपालीसहित विदेशी कामदारलेरुपमा बीचमै अर्को कम्पनीमा जान पाउने गरी कफाला प्रणाली संशोधन गरी लागू गरिएको छ।मंगलबारदेखि नै संशोधित नियम लागू भएको छ। कतारको कफाला प्रणाली संशोधन भएर लागू भएसँगै कामदारलाई धेरै हदसम्म स्वतन्त्रता मिलेको छ।
यसअघिसम्म रोजगारदाता या मालिकले अनुमति नदिएसम्म कम्पनी परिवर्तन गर्न वा स्वदेश फर्कन समेत कामदारले पाउँदैनथे। पासपोर्ट रोजगारदाता कम्पनीले नियन्त्रण गर्ने हुँदा कामदारको काम, बसाई, आवतजावत तथा कम्पनी परिवर्तनमा समस्या रहँदै आएको थियो।
अब कामदारले कम्पनी परिवर्तन गर्दा रोजगारदाता कम्पनीलाई जानकारी गराए पुग्नेछ। यद्यपी कम्पनी परिवर्तनका सम्वन्धमा भने निश्चित मापदण्ड तयार गरिएको छ। यदि कम्पनीले उचित मापदण्ड पुरा गर्दागर्दै पनि र करार अवधि हुँदा नै कम्पनी परिवर्तन गर्न परेमा भने पुरानो रोजगारदाताबाट अनुमति लिनुपर्ने हुन्छ।
कम्पनी परिवर्तनसम्वन्धी कामदारका मामला हेर्न विशेष समिति बनाइएको छ। सो समितिले कामदारको हक कुण्ठित हुनबाट सहयोग गर्नेछ। कामदारका समस्या आइसकेपछि अध्ययन गर्नेछ।
रोजगारदाताले विभिन्न बहानमा कामदारलाई शोषण गरेको, आवश्यक न्यूनतम सेवा सुविधा नदिएको जस्ता प्रमाण भेटिएमा कामदारले कम्पनी परिवर्तन गर्न सक्नेछ। त्यसका लागि पनि प्रवासी कामदार तथा प्रशासनिक निकायसँग अनुमति लिनुपर्ने हुन्छ।
त्यहाँ अहिले ४ लाखभन्दा बढी संख्यामा नेपाली छन्। बहराइन, साउदी, कुबेत जस्ता देशमा भने यस्तो नियम अहिले पनि यथावत छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij