नेपालमा कोरोना भाइरसको सन्त्रासको कारण मुलुक लकडाउनको अवस्थामा छ । यसबाट सबै किसिमका मानिसहरु निकै नै समस्यामा छन् । यस परिस्थितिबाट खासगरी श्रमिकवर्ग तथा ज्यालादारी लगायतका कर्मचारीहरुलाई निकै नै अप्ठ्यारो अवस्था सृजना भएको छ । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका व्यक्तिहरु कोरोना भाइरसबाट भन्दा पनि खानपिनको अभावको कारण बढी पीडित हुने अवस्था सृजना भएको छ । 

यस परिस्थितिलाई ख्याल गर्दै सरकारले अहिलेको अवस्थामा आपुर्ति प्रणालीलाई निकै नै व्यवस्थित बनाउनु जरुरी छ । व्यवसायीहरुलाई जिम्मेवार बनाउनु जरुरी छ । यद्यपि कतिपय उपभोक्ताहरुले यस्तो अवस्थामा गुणस्तरीय सेवाप्रवाह हुन नसक्ने हो कि भन्ने आशङ्का समेत गर्दै आएका छन् । विगतमा सरकारले नियमित अनुगमन गर्दा र परिस्थिति खुल्ला रहँदा त समयसमयमा नेपाली उद्योगहरुबाट उत्पादित विभिन्न वस्तुहरुको गुणस्तरमा प्रश्नचिन्ह खडा हुने गरेकोमा यस परिस्थितिमा नेपाल सरकारले कसरी सहज रुपमा सेवा प्रवाह गर्न सक्ला भन्ने प्रश्न नेपाली जनताहरुमा उब्जिएको छ ।
सरकारले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै राज्यले सबै संयन्त्रहरुको प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने आवश्यकता छ भने उपभोक्ता आफैं पनि सजग रहँदै वैयक्तिक सरसफाइमा विशेष केन्द्रित हुनुपर्ने जरुरी समेत छ ।
कोरोनाको कारण हाम्रो अवस्था र अर्थतन्त्र अहिले निकै नै कमजोर बनेको छ । स्वास्थ्य क्षेत्र समेत निकै कमजोर अवस्थामा छ । सरकारले आवश्यक सुरक्षा उपकरणहरु उपलब्ध गराउन नसक्दा उपचारमा खटिने स्वास्थ्यकर्मी भगवान् भरोसा भन्दै काममा खटिनुपरेको छ । बजारमा मास्क, सेनिटाइजर, पिपिई लगायतका सामानहरुको अभाव छ । यसको अलावा नेपाली विरामीहरुले अस्पतालबाट राम्रो सेवा लिन सकेका छैनन् । अधिकांश अस्पतालमा ओपिडि सेवा बन्द छ । यसको अलावा दीर्घरोगी, सुत्केरी, सामान्य विरामी, आकस्मिक विरामी लगायत अधिकांश व्यक्तिहरु स्वास्थ्य सेवाबाट वञ्चित छन् । नेपालमा कोरोनाको कारण ज्वरो, रुघाखोकी लगायतका सामान्य विरामीको उपचार गर्नबाट समेत स्वास्थ्यकर्मी पन्छिइरहेको अवस्था छ ।
सीमित स्रोतसाधनमा निर्भर रहेर दैनिक क्रियाकलापहरु सञ्चालन गर्दै आएका अधिकांश नेपालीहरु यति बेला निकै नै सङ्कटको सामना गरिरहेका छन् । यस्तो अवस्थामा नागरिकको जीवनरक्षा एवं गुणस्तरीय सेवाप्रवाहको लागि सरकार मातहतका निकायहरु बीच अन्तरसम्बन्ध कायम गर्दै राज्यले अझ सशक्त रुपमा आफ्ना क्रियाकलाप सञ्चालन गर्नुपर्ने जरुरी समेत छ ।
अहिलेको संकट हाम्रो नियन्त्रण भन्दा बाहिर छ । यस्तो परिस्थितिलाई आफूअनुकुल बनाउनको लागि नेपाल सरकारले आफ्ना सबै संयन्त्रहरुलाई परिचालन गर्दै नेपाली जनताहरुका तत्कालिन आवश्यकता सम्बोधन हुने गरी प्रभावकारी ढंगले काम अघी बढाउनु जरुरी छ । थोरै जनशक्तिको परिचालनबाट उत्कृष्ट सेवा प्रदान गर्नको लागि प्र्रविधिको प्रयोगमा जोड दिनु जरुरी देखिन्छ ।
हाम्रो तत्कालको लागि खाद्यान्न ठूलो सङ्कट बन्ने परिस्थिति समेत आँकलन गर्न सकिन्छ । यसतर्फ विचार गर्दै हामीले प्रभावकारी सेवाप्रवाहमा जोड दिनु जरुरी छ । अहिले पनि यातायात तथा जनशक्ति लगायतका विभिन्न समस्याको कारण कतिपय ठाऊँमा खाद्य उत्पादन भएर त्यत्तिकै थन्किएका छन् । कतिपय नाकामा रोकिएका, गोदाममा थन्किएका खाद्यवस्तु अन्तिम गञ्तव्यमा पु¥याउन नसक्दा प्रयोगमा ल्याउन सकिएको छैन । यी वस्तुहरुलाई सहज रुपमा खुद्रा व्यवसायी सम्म पु¥याउनको लागि राज्यले आवश्यक सहजीकरण गर्नु जरुरी छ । यसको अलावा अहिले व्यवसायीहरु पनि समस्यामा रहेका हुनाले उनीहरुको बैंकको व्याज मिनाहा एवं सिमान्तकृत र कम आय भएका व्यक्तिहरुको लागि राहत प्याकेजहरु ल्याई प्रभावकारी ढंगबाट वितरणको व्यवस्था गर्ने लगायतका कार्यहरु गर्न सकेको खण्डमा मात्र नेपाली जनताहरुले सरकारको अनुभुति गर्न सक्ने अवस्था सृजना हुन सक्छ । जुन अहिलेको आवश्यकता बनेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij