२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

आवश्यकता दक्ष व्यवस्थापकको : दक्ष व्यवस्थापकका लागि एमबीए

आवश्यकता दक्ष व्यवस्थापकको : दक्ष व्यवस्थापकका लागि एमबीए

काठमाडौं । नेपाल हरेक दृष्टिकोणले धनी छ र धनी हुने सम्भावना पनि प्रचुर छ भनेर नभन्ने प्रायः कमै हुन्छन् । कुरामा, भाषणमा नेपालको बखान गरेर नथाक्नेहरू नेपाल विकसित नहुनुको कारण भने खोतल्दैनन् । अनि सीधै सजिलोगरी भन्छन्, ‘देश नेताहरूले बिगारे ।’ देश विकास नहुनुमा कसैले राणाशासन, कसैले शाहवंश, कसैले माओवादी विद्रोहलाई त कसैले प्रजातन्त्रपछि सत्तामा पुगेका काङ्ग्रेस, एमाले र राप्रपालाई कारक मान्छन् ।

स्थायी सरकारको रूपमा रहेका अधिकांश कर्मचारीमा पनि व्यवस्थापनको सही ज्ञान नभएकाले देश कसले चलाइरहेको छ भन्ने अन्योल छ । कर्मचारी र राजनीतिक दलमा व्यवस्थापनको कुशल क्षमता नभएकै कारण बाहिरकाले चल्ने मौका पाइरहेका छन्, जसले गर्दा देश कसको हातमा छ भन्नेसम्म कसैले भन्न सकेका छैनन् । अहिलेको अवस्थामा नेपाललाई असल व्यवस्थापकको आवश्यकता छ । अहिले नेपाल विद्युत् प्राधिकरणमा भएजस्तो असल व्यवस्थापक सबै सरकारी निकायमा हुँदो हो त देश विकास हुन त्यति समय लाग्दैनथ्यो । लोडसेडिङ अन्त्य गराउने कुलमान घिसिङ आफै ईएमबीए उत्तीर्ण व्यक्ति हुन्, र उनी भन्छन्– ‘लोडशेडिङको अन्त्य व्यवस्थापन गरेर भएको हो ।’ विगतमा मानव शास्त्र पढेकाले सरकारी जागीर खाने र व्यवस्थापन पढेकाले निजीक्षेत्रमा योगदान गर्ने भन्ने सोचले काम गर्दा देशले सही नेतृत्व पाउन सकेन । एकअर्कालाई आरोप–प्रत्यारोप गरिरहँदा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १८ घण्टाको लोडशेडिङको अन्त्य गरिदिए । उनको एउटै तर्क छ, ‘मैले व्यवस्थापन मात्रै गरेको हुँ ।’ नेपाल वायुसेवा निगम नेताहरूको कमाइ गर्ने भाँडो थियो । नेपाल टेलिकमलाई उचाइमा पुर्‍याएका सुगतरत्न कंसाकार नेपाल वायुसेवा निगममा पुगेपछि त्यहाँ नाफासँगै नयाँ जहाज पनि थपिन थाल्यो ।

नेपालमा योग्य, दक्ष र अनुभवी मान्छे भए पनि देश विकास नहुनुको प्रमुख कारक तत्त्वमा कुशल व्यवस्थापक नहुनु हो भन्ने विस्तारै पुष्टि हुँदै छ । त्यसैले, नेपाललाई सन् २०२२ भित्र विकासशील राष्ट्र र सन् २०३० सम्ममा विकसित राष्ट्र बनाउने राष्ट्रिय लक्ष्य पूरा गर्ने हो भने दक्ष व्यवस्थापकहरूको उत्पादन गर्न आवश्यक छ ।

कुनै समयमा परिवारका सदस्यहरूको चाहना हुन्थ्यो– मेरो छोराछोरी डाक्टर, इञ्जिनीयर वा पाइलट बनोस् । तर, अहिले समयले परिवारको चाहनामा परिवर्तन गर्दै दक्ष व्यवसायी वा व्यवस्थापक बनोस् भने चाहना व्यक्त गर्न थालिएको छ । देशलाई विकास गर्न आर्थिक उन्नति गर्नु आवश्यक छ । यसका लागि दोहोरो अङ्कमा आर्थिक वृद्धि गर्नु जरुरी छ । विगत १० वर्षमा ३ प्रतिशतको हाराहारीमा र अहिले ७ प्रतिशतको हाराहारीमा भइरहेको आर्थिक वृद्धिलाई दोहोरो अङ्कमा पुर्‍याउन कुशल व्यवस्थापक आवश्यक छ । कुशल व्यवस्थापकको पूर्ति गर्न सम्भावनाको एउटै मात्र ढोका एमबीए हो ।

एमबीएका विद्यार्थीहरू अध्ययनपछि आफै पनि व्यवसाय थाल्न सक्ने हुन्छन् । विभिन्न उद्योग तथा कार्यालयमा व्यवस्थापकका रूपमा काम पाउने सम्भावना त छँदै छ । एमबीए पढेकाले कुनै सरकारी, अर्धसरकारी, संस्थान, गैरसरकारी वा निजीक्षेत्रमा कामको अवसार पाउने मात्र नभई आफू कार्यरत निकायको कायापलट नै गरी देश विकासमा योगदान दिने हैसियतसमेत राख्छन् । वर्तमान परिप्रेक्ष्यमा देशलाई आवश्यक जनशक्ति उत्पादन गर्ने माध्यम एमबीए नै हो, जसले व्यवसाय व्यवस्थापनका साथै सबै किसिमको व्यवस्थापन गर्ने ज्ञान दिन्छ ।

सरकारमा मात्र होइन, कुनै पनि कम्पनी अथवा संस्थाको असल व्यवस्थापन गर्नुपर्ने हुन्छ । बजारले असल व्यवस्थापन खोजेको अवस्थामा एमबीएले मागको परिपूर्ति गर्छ । नेपाली बजारमा पनि यसको आवश्यकता महसूस भई एमबीएको पढाइ शुरू भएको हो । पहिले एमबीए अध्ययन गर्न चाहने र कलेजहरू कम थिए । अहिले बजारको मागअनुसार एमबीए जनशक्ति उत्पादन गर्ने संस्थाहरू पनि बढिरहेका छन् । असल व्यस्थापक उत्पादन गर्ने उद्देश्यसहित एमबीए कलेजहरू दिनप्रतिदिन बढिरहेका छन् । उद्देश्यअनुसार काम गर्न भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा तथा सुविधाजस्ता विषयमा पनि प्रतिस्पर्धा भइरहेका छन् ।

अहिलेको अवस्थासम्ममा विशेषगरी बैङ्क तथा वित्तीय क्षेत्रमा लाग्न चाहने करीब सबैको रोजाइ एमबीए बनिसकेको छ । त्यस्तै, अन्य क्षेत्रमा पनि एमबीए अध्ययन गरेको जनशक्तिको आवश्यकता उत्तिकै छ । विश्वमा औपचारिक र पेशागत शिक्षा आर्जनका धेरै क्षेत्र छन् । जस्तै, मेडिकल साइन्स, इञ्जिनीयरिङ, कानून, शिक्षालगायत धेरै विषयगत क्षेत्र छन् । यी विषय अध्ययन गरेर कोही डाक्टर, कोही इञ्जिनीयर, कोही वकिल बन्छन् । पढिसकेपछि सबैले आ–आफ्नो पेशागत वा व्यावसायिक क्षेत्रमा काम गर्नुपर्ने अवस्था आउँछ । अब डाक्टरले हस्पिटल, अधिवक्ताले ल–फर्म, शिक्षकले विद्यालय सञ्चालन गर्नुपर्ने हुन्छ, त्यसका लागि आफ्नो पेशागत ज्ञानशीपले मात्र पुग्दैन । एउटा डाक्टरसँग उसको सम्बन्धित विषयको बिरामीको उपचार गर्न सक्ने आवश्यक ज्ञानशीप त हुन्छ । तर, हस्पिटल सञ्चालन र व्यवस्थापन गर्न सक्ने ज्ञानशीप नहुन सक्छ । त्यसैले, यस किसिमको व्यावसायिक संस्था वा औद्योगिक प्रतिष्ठानको व्यवस्थापनका लागि एमबीए अध्ययन गरेका जनशक्तिको आवश्यकता पर्छ । यस प्रयोजनमा एमबीए शिक्षा विश्वमै सफल पनि भएको छ । त्यसैले, एमबीए डिग्री पाउन मात्र अध्ययन गरिने शिक्षा होइन । यो व्यवस्थापकीय शीपआर्जनका लागि अध्ययन गरिने विषय हो । पढ्नेहरूले व्यवस्थापक बन्न र पढाउनेहरूले व्यवस्थापक बनाउन एमबीए अध्ययन–अध्यापन गर्नु आवश्यक छ । यसका लागि कलेजहरूले विद्यार्थीलाई सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षा, व्यवस्थापकसँगको सङ्गत र अभ्यासमा जोड दिनु आवश्यक छ ।

अहिले नेपालमा व्यवस्थापनको जिम्मेवारी दिन एमबीए अध्ययन गरेकै जनशक्तिको माग बढ्न थालेको छ । यही कारण विद्यार्थीको एमबीएप्रति आकर्षण बढेको कलेज सञ्चालकहरू बताउँछन् । नेपालमा आधुनिक व्यवस्थापन बुझेका व्यक्तिहरूको माग रहेका कारण पनि विद्यार्थीको आकर्षण बढ्नु स्वाभाविक भएको ठम्याइ उनीहरूको छ । अहिले नेपालमा यातायात, स्वास्थ्य, शिक्षा, गैसस, को–अपरेटिभजस्ता छुट्टाछुट्टै क्षेत्रमा कुशल व्यवस्थापकको आवश्यकता रहेको छ ।

दक्ष प्राध्यापक पाउन कठिन
एमबीए पढाउने दक्ष प्राध्यापकको कमी हुँदा कलेजहरूले दुःख पाइरहेका छन् । यो विषय पढाउन सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नहुने भएकाले शिक्षकको अभाव भएको हो । यसका लागि व्यवसायको व्यावहारिक ज्ञान तथा अनुभव भएका मानिस आवश्यक पर्दछ । यसका लागि कलेजहरूले ‘फ्याकल्टी डेभलपमेण्ट’ कार्यक्रमअन्तर्गत प्राध्यापकहरूलाई विभिन्न तालीम र सेमिनारमा सहभागी हुन विदेश पठाउने गरेका छन् । कतिपय कलेजले एमबीए अध्ययन गरेका नेपालकै व्यवसायी वा व्यवस्थापकलाई समेत अध्यापन गर्न लगाउने गरेका छन् ।

विशिष्टीकृत एमबीएको अवधारणा
नेपालमा अहिले पढाइ भइरहेको एमबीएले एउटा क्षेत्रलाई मात्र समेटेको भन्दै विषयगत एमबीएको अवधारणामा कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । अहिले एमबीए गरेका मानिसले सबैखाले कर्पोरेट क्षेत्रको व्यवस्थापन सम्हालिरहेका छन् । अबका हाइड्रो, कृषि, सूचनाप्रविधि, सञ्चारक्षेत्र, खाद्यलगायत विषयमा विशिष्टीकृत एमबीए कोर्सको अवधारणा ल्याउनुपर्ने माग उठ्न थालेको छ ।

शहर केन्द्रित एमबीए
एमबीए धनीले पढ्ने शिक्षाको रूपमा प्रचारित छ । एमबीए कलेजहरू शहरी क्षेत्रमा मात्र केन्द्रित भएकाले पनि यस्तो भएको हो । मोफसलका सुगम क्षेत्रमा पनि यस्ता कलेज नखुल्नाले स्थानीय विद्यार्थीले यो विषय पढ्न पाइरहेका छैनन् । ग्रामीण भेगमा एमबीए कार्यक्रम सञ्चालन गर्न प्राविधिक हिसाबले कठिनाइ रहेकाले पनि यस्तो भएको ठम्याइ सञ्चालकहरूको छ । ठूला उद्योग व्यवसाय, कर्पोरेट कार्यालयहरू धेरै भएको ठाउँमा रहेका एमबीए कलेजलाई राम्रो मानिन्छ । किनभने त्यहाँ एमबीए विद्यार्थीलाई व्यवसाय क्षेत्रसँग अन्तरक्रिया गरेर व्यावहारिक ज्ञान बटुल्न सजिलो हुन्छ । एमबीए शिक्षामा ज्ञानको मात्र महत्त्व हुँदैन, सामाजिक सम्पर्क सूत्रको पनि महत्त्व हुन्छ । जुन एमबीए कलेजले यस्तो सम्बन्ध सूत्र फैलाउन मद्दत गर्छ । त्यो उति नै राम्रो मानिन्छ ।

ईएमबीए
कुनै पनि कम्पनीमा व्यवस्थापक तहमा कार्यरत जनशक्तिको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ईएमबीए (एक्जुकेटिभ एमबीए) कार्यक्रम सञ्चालनमा ल्याइएको हो । ईएमबीए अध्ययन गर्न चाहने विद्यार्थीले प्रथम श्रेणीमा स्नातक तह उत्तीर्ण गरेको र कुनै पनि संस्थानको अधिकृत तहमा न्यूनतम १ वर्षको कार्यानुभव हुनुपर्ने प्रावधान छ । त्यस्तै, दोस्रो श्रेणीमा उत्तीर्ण हुनेहरूका लागि भने न्यूनतम २ वर्षको कार्यानुभव हुनुपर्नेछ । ईएमबीए व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानमा कार्यरत कर्मचारीको स्तरवृद्धिका लागि सञ्चालित विषय हो । अहिले यस्तो शिक्षाको माग कर्पोरेट क्षेत्रबाट बढी मात्रामा आउन थालेको छ । काम गरिरहेका म्यानेजर, सञ्चालकलाई लक्षित गरेर एक्जुकेटिभ एमबीए शुरू भएको हो । विद्यार्थीले यसमा नेतृत्व क्षमता विकास, फाइनान्स, एचआर, मार्केटिङलगायत क्षेत्रको ज्ञान हासिल गर्छन् । आफै बिजनेश शुरू गरेका सञ्चालकहरू पनि यो कार्यक्रम अध्ययन गर्न विश्वविद्यालयमा भर्ना हुन्छन् ।

माष्टर्स इन बिजनेश एडमिनिष्ट्रेशन (एमबीए)
एमबीए व्यापार व्यवस्थापनमा स्नातकोत्तर तहको कोर्स हो । कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण विद्यार्थीले एमबीए अध्ययन गर्न पाउँछन् । व्यापार–व्यवसाय, व्यवस्थापन र व्यावसायिक नेतृत्वमा सक्षम बन्न अध्ययन गरिने यो विशेषतः दुईवर्षे कोर्स हो ।

त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल, पोखरा र मध्यपश्चिम विश्वविद्यालयमा एमबीए पढाइ हुन्छ । त्रिविले यस वर्षदेखि एमबीए इन इण्टरप्रेनरशिप कैलाली बहुमुखी क्याम्पस कैलाली र एमबीए इन बैङ्किङ एण्ड फाइनान्स लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा शुरू गरेको छ ।

एमबीबीए म्यानेजमेण्टमा उच्च तहको म्यानेजर र सफल उद्यमी बनाउने कार्यक्रम हो । एमबीए पढेका व्यक्ति व्यावसायिक र गैरव्यावसायिक क्षेत्रमा सफल म्यानेजर, लिडर बन्न सक्छन् । उद्यमी बनाउन पनि यो कार्यक्रमले सहयोग गर्छ । एमबीए गरेका विद्यार्थीले समस्याको मूल्याङ्कन, चुनौतीको समाधान गर्न सक्छन् । यो विषय पढेकाले विश्वमा भइरहेको व्यापारिक क्षेत्रमा देखिएका समस्या विश्लेषण गरेर समाधानमा सक्षम हुन्छन् । एमबीएले उद्योग, व्यवसाय, बैङ्किङ क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्छन् । आफै व्यवसाय गर्ने उद्यमी पनि बनाउँछ ।

अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्न एमबीए ग्लोबल बिजनेश पढाइ हुन्छ । यो कार्यक्रम पोखरा विश्वविद्यालयमा पढाइ हुन्छ । नयाँ प्रविधिको ज्ञान दिनुका साथै वास्तविकताको विश्लेषण गराइन्छ । पोखरा विश्वविद्यालयमै मेडिकल क्षेत्रमा स्नातक गरिसकेका वा हेल्थ साइन्सका विषयमा स्नातक गरी १ वर्ष पीजी गरेका व्यक्तिलाई व्यवस्थापनको ज्ञान दिन माष्टर इन हेल्थ केयर म्यानेजमेण्ट पनि पढाइ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij