नेपालमा लकडाउन तत्काल हट्ने अवस्था छैन । यसले उपभोक्ताको अलावा व्यवसायीहरुलाई समेत निकै कष्टको सामना गर्न बाध्यात्मक स्थिति सृजना गर्दैछ । साना व्यवसायीहरुले सहकारीबाट लिएको ऋण तिर्न व्यवसायीहरु तत्काल समर्थ हुने स्थिति देखिँदैन भने सहकारीले पनि आफ्नो लगानी भुक्तान गर्न विभिन्न तवरले व्यवसायीहरुलाई दबाब सृजना गरिरहन्छन् ।
वितरण क्षेत्रमा पर्ने असरः
वितरण क्षेत्र ठूलो कारोवार हुने क्षेत्र हो । यस व्यवसायमा संलग्न व्यवसायीहरुले शुरुमा नै बर्ष भरिको लागि आवश्यक रकम शुरुमा नै विनियोजन गरेर व्यवस्थित रुपमा कारोवार अघी बढाएका हुन्छन् । अहिले बजार बन्द हुँदा व्यापार घटेको छ, त्यस तुलनामा वितरण क्षेत्रको खर्च भने खासै घटाउन सक्ने अवस्था रहँदैन । फिक्स कस्ट घटाउन सक्ने अवस्था नरहने हुँदा व्यवसायीहरु घाटामा जाने र कतिपय टाट पल्टन सक्ने अवस्था समेत रहन सक्छ ।
बजार खुलिसकेपछि कम्पनीले बैंक ग्यारेन्टीमा उधारोमा उपलब्ध गराएका सामानको रकम फिर्ता लिन चाहन्छ । कम्पनीले तारन्तार रकम भुक्तानीको लागि आग्रह गर्ने तर वितरकले साना व्यवसायीहरुबाट रकम उठाउन नसक्दा बजार सन्तुलनको अवस्थामा आउन केही गाह्रो पर्ने देखिन्छ ।
लकडाउन पछि सृजना हुने अवस्थाः
उत्पादक तथा आयातकर्ता कम्पनीहरुले अहिलेको परिस्थितिलाई बुझेका हुनाले साना व्यवसायीलाई कुनै दबाब सृजना गरेका छैनन् । तर बजार खुलेपछि पनि तत्काल उद्योग खोल्न सकिने अवस्था भने छैन । न त आयात कार्य नै तत्काल सहज हुने स्थिति देखिन्छ । कामदार र कर्मचारी घरमा फर्किएका र तत्काल काममा फर्कने अवस्था नरहेको साथै आयात निर्यातको क्रममा पनि डेढ दुई महिना पहिले देखि नै तयारी गर्नुपर्ने स्थिति रहन्छ । साथै आर्थिक बर्ष नजिकै रहेको कारण लकडाउन खुल्ने बित्तिकै पनि आयात कार्य सहज भई व्यवस्थित बन्न कठिन देखिन्छ । जसले गर्दा अहिले नियमित आयात भइरहेका चामल, तेल लगायतका बस्तुहरुमा समस्या नदेखिएपनि अन्य वस्तुमा भने समस्या रहन सक्छ ।
साधारण जनताको अलावा अहिले नै लकडाउन कहिले खुल्ने हो भन्नेमा अधिकांश व्यवसायी समेत आत्तिएको अवस्था छ । यद्यपि यो भवितव्य भएको हुनाले हाम्रो हाम्रो नियन्त्रण भन्दा बाहिर छ । साथै लकडाउन कति लम्बिने हो भन्ने कुरा कोरोनाको प्रभावमा निर्भर रहने निश्चित छ ।
दशैंमा पनि अवस्था सामान्य हुँदैनः
अहिले नै अवस्था सामान्य अवस्थामा आउने हो भनेपनि बजार अवस्था दशैं सम्म सामान्य नहुने निश्चित छ । यसको लागि उत्पादन, वितरण, बैंकिङ नेटवर्क, कच्चा पदार्थ, कामदार लगायत सबै पक्षलाई विचार गर्नु जरुरी हुन्छ । साथै यस चालु आर्थिक बर्षमा त व्यवसाय सुधार हुनेमा कुनै अपेक्षा गर्न सकिँदैन ।
सरकारले चाल्नुपर्ने कदमः
सरकारले उद्योग व्यवसायको अवस्था कसरी माथि उठाउने भन्ने कुरालाई लक्षित लिएर सहकारी समेतलाई सम्बोधन हुने गरी राहत प्याकेज ल्याउनु जरुरी छ । यसो हुन सकेको खण्डमा मात्र हामीले ढिलोछिटो बजार संयन्त्रलाई व्यवस्थित गर्न सकिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij