काठमाडाैः हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना सुरु भएको छ। ज्येष्ठ शुक्ल एकादशीका दिन घरको तुलसी मोठमा राखिएको दलको बिरुवालाई यस दिन मोठमा सारेर पूजा गर्ने परम्परा छ।
वैदिक सनातन धर्ममा तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पुज्ने गरिन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको अवधिभर तुलसीको विशेष आराधना गर्ने गरिन्छ।
यस दिनदेखि चार महिनासम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यो तिथिलाई हरिशयनी एकादशी भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा डा देवमणि भट्टराईले बताए। विष्णु शयन गर्ने यी चार महिनाको समयलाई चतुर्मासासमेत भन्ने गरिन्छ।
वर्षभरि पर्ने २४ एकादशीमा सक्नेले फलाहार गरेर व्रत बस्ने गर्छन्। त्यसैगरी नसक्नेले चतुर्मासाका आठ एकादशी वा हरिशयनी र हरिबोधिनी एकादशीमा मात्र व्रत बस्ने परम्परा छ।
वैज्ञानिक दृष्टिकोणले धेरै अक्सिजन दिने तुलसी विभिन्न रोगको उपचारमा औषधीका रूपमा प्रयोग हुन्छ। घरमा तुलसीको मोठ राख्नाले विषालु कीटाणु नआउने र वास्तु दोष हटेर सकारात्मक ऊर्जा मिल्ने विश्वास छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij