दिपक घिमिरे नुवाकोट । आज गणतन्त्र दिवसका अवसरमा ढुंगेलसहित ८ सय १६ कैदी जेलमुक्त भएका हुन्।
मन्त्रिपरिषदको सिफिारिस बमोजिम एघारौं गणतन्त्र दिवसको उपलक्ष्यमा उनीहरुलाई संविधानको धारा २७६ बमोजिम माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
आइतबार साँझ बसेको बैठकले सजाय माफीको निर्णय राष्ट्रपति कार्यालयमा पठाएको थियो।
ढुंगेललाई माफी दिन लागिएको बिरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई जारी छ। अदालतले सोमबारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो।
द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा जिल्ला अदालतको फैसलाअनुसार ढुंगेल द्वन्द्वकालमै साढे सात वर्ष जेल बसेका थिए।
पछि पुनरावेदन अदालतले सफाइ दिएपछि उनी जेलमुक्त भएका थिए। तर फेरि सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि उनी गत कात्तिक १४ गते पक्राउ परेका थिए।
ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलनका आधारमा बाँकी कैद माफी हुने प्रवाधानअनुसार ढुंगेल आज जेलमुक्त हुने भएका हुन्।

को हुन् ढुंगेल ?
ओखलढुंगाका उनी नेपाली सेनाका भगौडा सिपाही हुन् । माओवादीको सशस्त्र विद्रोहमा उनी सार्पसुटरका रूपमा प्रयोग भएका थिए । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ओखलढुंगाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
१० असार ०५५ मा उज्जनकुमार श्रेष्ठको हत्या गरेका थिए । घटनामा सहयोगी रहेका पुष्कर गौतमले जेल सजाय भोगिरहेका छन् ।
के थियो घटना ?
मृतक श्रेष्ठले ढुंगेलकी भान्जी पर्ने पौड्याल थरकी युवतीसँग अन्तरजातीय बिहे गर्नुअघि दुई परिवारबीच सामान्य सम्बन्ध थियो । श्रेष्ठकी दिदी सावित्रीका अनुसार घटनाअघि ढुंगेलले काठमाडौंमा काम नपाउँदा उनीहरूकै आश्रयमा बसेका थिए । र, उज्जनका दाजुले जागिरसमेत लगाइदिएका थिए ।
उज्जन र ढुंगेलकी भान्जीले राजीखुशीमै अन्तरजातीय विवाह गरेका थिए । युवतीका दाजुको योजनामा उज्जनको हत्या गरेको सावित्री बताउँछिन् ।
उज्जनकै घरनजिक जंगलमा ढुंगेलले गोली प्रहार गरी क्रुरतापूर्वक हत्या गरेका थिए ।
अन्तर्राष्ट्रिय अदालत जान्छौं : सावित्री श्रेष्ठ
मृतक उज्जनकी दिदी सावित्री श्रेष्ठले अपराधिलाई उन्मुक्ति दिने सरकारी निणर्य निन्दनीय रहेको बताइन् । ‘हाम्रो परिवार नै उजाड बनाउने हत्यारालाई कानुनी कठघरामा ल्याउन अन्तर्राष्ट्रिय अदालतसम्म जान्छौं,’ उनले भनिन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij