२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

अायातकर्ताहरूकाे दबाब र उपभाेक्ताकाे सन्तुष्टि बीच सन्तुलन मिलाएर काम गर्दै अाएका छाैं

अायातकर्ताहरूकाे दबाब र उपभाेक्ताकाे सन्तुष्टि बीच सन्तुलन मिलाएर काम गर्दै अाएका छाैं

सकारात्मक सोच र निरन्तरको प्रयाशले कुनै पनि काम सहज रुपमा सम्पन्न हुन सक्छ भन्ने मानसिकता बोकेका युवा उद्यमी हुन् दुर्गाराज श्रेष्ठ । नेपाल वितरक संघको उपाध्यक्ष रहेका उनी लामो समय देखि नेपालमा विभिन्न कम्पनीका सौन्दर्य सामानहरुको वितरकको रुपमा चिनिन्छन् । कोटेश्वर स्थित गोधुली इन्टरप्राइजेजका सञ्चालक श्रेष्ठ हाल उत्पादन तथा आयातको व्यवसायमा पनि केन्द्रित हुन थालेका छन् । आफ्नो बजार विस्तारको अलावा व्यापक रोजगारी सिर्जना गरी त्यस उद्योगमा आश्रित वर्गको अवस्था कसरी राम्रो बनाउन सकिन्छ भन्ने मानसिकता बोकेका श्रेष्ठ ‘बाँच र बचाउ’ भन्ने मान्यतामा आधारित रहेर नेपालमा नै सौन्दर्य सामाग्री सम्बन्धी उद्योग खोल्ने तयारीमा छन् । वितरण क्षेत्रबाट नै व्यवसाय शुरु भएको कारण उक्त क्षेत्रलाई पनि निरन्तरता दिंदै व्यापार विविधिकरण गर्ने उनको मानसिकता छ । राज्यका नीति लगायतका कुराहरुले पनि बजार विस्तारमा कसरी अघी बढ्ने भन्ने कुराको निर्धारण गर्ने उनको बुझाई छ । वितरण तहमा व्यवसाय गर्ने क्रममा आयातकर्ता र खुद्राको बीचमा पुलको काम गर्ने व्यवसायी भएपनि कुनै समस्या आएको खण्डमा त्यसको दोष वितरक व्यवसायीहरुलाई नै लाग्ने गरेको उनको बुझाई छ । तर यस क्रममा वितरकको जिम्मेवारी निकै नै कम हुनेगर्छ ।

दुर्गाराज श्रेष्ठ
उपाध्यक्ष
नेपाल वितरक संघ

व्यवसायीहरुको हकहितको निम्ति काम गर्दै आएको यस संस्थाले आगामी दिनमा सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि काम गर्ने नेपाल वितरक संघका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ बताऊँछन् । उनका अनुसार वितरण क्षेत्रमा काम गर्दै आएका व्यवसायीहरु मध्ये करिब ८० प्रतिशत कुनै न कुनै रुपले बजारीकरणमा जोडिएर यस क्षेत्रमा प्रवेश गरेका छन् भने करिब २० प्रतिशत व्यवसायीहरु भने लगानी गरिसके पश्चात् सफल हुन सकिन्छ भन्ने मान्यताले यस क्षेत्रमा प्रवेश गरेका पाइन्छन् । तुलनात्मक रुपमा हेर्दा अनुभव समेटेर यस क्षेत्रमा प्रवेश गरेका व्यवसायीहरु बढी सफल देखिन्छन् ।

उनै दुर्गा श्रेष्ठ सँग सेताेघर डट कमले नेपालमा वितरण व्यवसायका विविध पक्षहरूबारे कुराकानी गरेका थियाैं । प्रस्तुत छ साेही कुराकानी ः

 

नेपालका वितरक व्यवसायीहरुको अवस्था कस्तो छ ?

वितरकहरुको हकहितमा काम गर्नको निम्ति सदैव लागिरहेको संस्था भएको हुनाले अहिले नेपाल वितरक संघ वितरण तहमा रहेर काम गर्ने क्रममा कम्पनीहरुबाट आउने समस्या, वाणिज्य तथा अनुगमनको नाममा भएको आतङ्क लगायतका सम्बन्धमा व्यवसायीहरुलाई सजग बनाउँदै निरन्तर रुपमा अघी बढेको छ ।
अहिलेको अवस्थामा नेपालमा वितरकहरु माथि दैनिक उपभोग्य सामानका उत्पादक तथा आयातकर्ताहरुले गर्ने बानीव्यहोरामा केही रुष्टता रहेको हामीले महसुस गरेका छौं । बहुराष्ट्रिय कम्पनीहरुले तार्गेट पुर्याउनको निम्ति नेपालमा आयातकर्ताहरुलाई अत्यधिक दबाब दिने गरेका छन् । अहिले बजारमा मिति सकिएका सामानहरु पनि प्रशस्तै भेटिएका छन् । यही समस्याहरुलाई सुल्झाउनको निम्ति क्लष्टरवाइज (फरक फरक सामानका फरकफरक वितरकहरु बसेर) सरसल्लाह गरिरहेका नै छौं । हामीलाई लागेको छ कि छिट्टै नै यस समस्याको समाधान निस्किनेछ ।

खुद्रा व्यवसायीहरु त वितरकको कारणले गर्दा नै आफुहरु समस्या परेको कुरा गर्छन् नि ?

नेपाल वितरक संघको साधारणसभाको अवसरमा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य, नेपाल खाद्य किराना व्यापार संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर लगायतका व्यवसायीहरु पनि उपस्थित हुनुहुन्थ्यो । खुद्रा व्यवसायी संघका अध्यक्षले भनेजस्तै अहिलेको अवस्थामा उपभोक्ताले आफूलाई आवश्यक पर्ने सामानहरु लिने माध्यम खुद्रा व्यवसायी नै हुन् । त्यसै कारण उपभोक्ताबाट खुद्रा व्यवसायीले नै दोष लिनु पर्ने अवस्था छ । खुद्रा व्यवसायीले वितरकलाई दोष दिने अवस्था छ । यद्यपि खुद्रा व्यवसायीहरुमा पनि व्यावसायिक परिधि भित्र बसेर जुन तवरले काम हुनुपर्ने हो,  त्यो हुन सकेको छैन । त्यसलाई हामीले आयातकर्ता, वितरक र खुद्राबीच वार्ताको माध्यमबाट तुरुन्तै समाधान निकाल्ने छौं ।

वितरक व्यवसायीहरुका खास समस्या चाहीं के हुन् ?

वितरकको पहुँचमा नै नआइ बजारमा गएका सामानहरुमा देखिएका कमजोरीको दोष पनि नेपालमा वितरकहरुलाई नै लगाइएको छ । हामीले यसको घोर भ्रत्सना गर्दछौं । यदि हामी वितरकको गोदाममा त्यस्ता मिति सकिएका सामानहरु छन् भने पनि हामीले ती सामानहरु बिक्रीको लागि नभएर कम्पनीलाई नै फिर्ता दिने मनसायले नै राखिएका सामानहरु हुन् । अहिले नेपालमा हामीले सामानहरु विक्री गर्ने अधिकांश सामानहरु नेपाल भन्दा बाहिर नै उत्पादन भएका सामानहरु हुन् । बजारमा मिति सकिएका सामानहरु फिर्ता लिनको निम्ति हामी तयार छौं । प्रक्रियागत रुपमा यो काम अघी बढेको नै छ ।

नेपाल वितरक संघमा व्यवसायीहरु समेट्ने प्रक्रिया कति सफल छ ?

अहिले काठमाडौंमा नै करिब ४ सयको हाराहारीमा वितरक व्यवसायीहरु रहेको हामीले अनुमान गरेका छौं । त्यस मध्ये पनि करिब ३ सय वितरक व्यवसायीहरु हाम्रो नेपाल वितरक संघमा आवद्ध छन् । यसले के देखाउँछ भने वितरक व्यवसायीहरु पनि आफ्नो समस्या समाधानको निम्ति पहल गर्न एकजुट भएर अघी बढेका छन् । यसलाई सरकारी तवर, उत्पादक र आयातकर्ताहरुले कम आँकलन नगरुन् भन्ने हाम्रो धारणा हो ।व्यापारीहरु नाफामूलक मात्र हुनुहुँदैन । सेवा मूलक पनि हुनुपर्छ। नाफा भन्दा पनि सेवामा नै लागि परेका छन् वितरक व्यवसायीहरु ।

व्यवसायलाई थप व्यवस्थित बनाउन कसको के दायित्व रहन्छ ?

 

आयातकर्ताले आयात गरेको सामान वितरक हुँदै थोक तथा खुद्राको माध्यमबाट उपभोक्ता सम्म पुग्ने भएको हुनाले वितरक तह भनेको आयातकर्ता र उपभोक्ताहरुको निम्ति पुल हो । यद्यपि आयातकर्ता देखि खुद्रा सम्म सबै व्यवसायीहरु आफ्नो मर्यादामा नै रहने हो भने यस किसिमको समस्या सृजना हुँदैन । व्यवसायीहरुले आफ्नो मुनाफा मात्र हेरेको कारणले गर्दा यस्तो समस्या सृजना भएको हो । कम्पनी, वितरक र खुद्रा व्यवसायीको अलावा उपभोक्ता कति जागरुक छन् भन्ने कुराले पनि बजारलाई व्यवस्थित बनाउनमा निकै नै महत्वपुर्ण भूमीका निर्वाह गरेको हुन्छ । अहिले काठमाडौं उपत्यका र काठमाडौं बाहिरका वितरक व्यवसायीहरुको स्तर केही पृथक छ । कस्तो सामान प्रयोग गर्ने भन्ने सम्बन्धमा नेपाल सरकारले जनचेतना जगाउनको निम्ति पनि निकै नै महत्वपुर्ण भूमीका निर्वाह गर्नुपर्छ ।

यस क्षेत्रमा प्रतिष्पर्धा कस्तो छ ?

अहिलेको खुल्ला बजार अर्थनीतिमा नेपालमा मात्र नभएर विश्व बजार नै प्रतिष्पर्धात्मक छ । मुनाफाको हिसाबले निकै न्यून मुनाफामा काम गर्नुपर्ने व्यवसाय भएपनि ठूलो परिमाणमा कारोबार हुने भएको कारणले गर्दा यस व्यवसायमा टिक्न सकिने अवस्था भने छ । व्यवसायीहरु सबल नै भएर काम गर्नुपर्छ भन्ने नेपाल वितरक संघको मान्यता रहेको छ । मैले भन्दै पनि आएको छु कि ‘तपाई व्यवसायीहरुका कुनै समस्या छन् भने ती समस्याहरुलाई व्यक्तिगत तवरले सल्टाउने प्रयाश नगर्नुस्, वार्ताको माध्यमबाट ती समस्या समाधानको निम्ति पहल गरौं ।’

नेपालमा नै सौन्दर्य सामान उत्पादन गर्ने योजनामा पनि हुनुहुन्छ, यस क्रममा आउन सक्ने समस्याहरु के–के हुन सक्छन् ?

बजारमा उस्तै प्रकृतिका देखिने दुई भिन्न कम्पनीका सामानहरु छन् । सौन्दर्य सामानमा नयाँपनको कमी छ । बजार प्रतिष्पर्धात्मक छ । यी कुराहरुलाई हामीले चुनौतीको रुपमा नै लिएका छौं । नेपालमा नै सौन्दर्य सामाग्रीको उत्पादन शुरु हुन लागेको भएपनि नेपालमा थोरै परिणाममा सामान उत्पादन हुने भएकोले बाहिरबाट ठूलो परिमाणमा उत्पादन हुने सामानसँग मूल्य समायोजन गराउनुपनि गाह्रो हुन सक्ने देखिन्छ । कच्चा पदार्थ नेपालमा उत्पादन नहुने भएको कारणले गर्दा नेपालमा यसको प्याकेजिङ मात्र गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij