विजय लामा लामो समय देखि पानी प्रशोधन कार्यमा संलग्न रहँदै आएका छन् । उनी झरना प्योर ड्रिङ्किङ वाटरका सञ्चालक हुन् । यसैगरी काठमाडौं पानी उद्योग संघका कार्यसमिति सदस्य रहेका लामा चाल्नाखेल (दक्षिणकाली) क्षेत्र अन्तरगतका पानी उद्योगीहरुको संयोजक पनि हुन् । काठमाडौं उपत्यकामा पानी उपलब्ध गराउनका लागि मुहानबाट उपलब्ध हुने पानीलाई प्रशोधन गरेर आफूले बजारमा पानीको आवश्यकता परिपुर्ति गर्दै आएको लामा बताउँछन् । लामा विगत १४ बर्ष देखि पानी प्रशोधन कार्यमा संलग्न रहँदै आएका छन् । उनलाई पानी प्रशोधन क्षेत्रमा संलग्न हुनका लागि उद्यमी गोकुल थापाको महत्वपूर्ण सहयोग रह्यो ।
सरकारी निकायले बजारमा आवश्यक पर्ने पानीको परिपुर्ति गर्न सक्ने अवस्था तत्कालिन समयमा नदेखेर आफूहरु पानी प्रशोधन गर्ने कार्यमा संलग्न भएको उनी बताउँछन् ।
प्रविधि
सामान्यतया नेपालमा पानी प्रशोधनका लागि आरओ प्रविधि अवलम्बन गरिँदै आइएको छ । यस प्रविधिबाट गरिेने प्रशोधनमा ७ चरणहरु पूरा गरेर पानी प्रशोधन हुने गर्दछ । आरओ प्रविधिबाट पानी प्रशोधन गर्दा पानीमा भएका फोहोर पदार्थको साथसाथै मानवीय आवश्यकता अन्तरगतका खनिज पदार्थहरु पनि नष्ट हुने गर्दछन् ।
अबको आवश्यकता
अबका दिनमा नेपालमा पानीको खनिज पदार्थ जोगाउनका लागि अल्ट्रा जस्ता उच्चस्तरीय प्रविधि अवलम्बन गर्नुपर्ने जरुरी छ । अल्ट्रा प्रविधिबाट पानी प्रशोधन गर्दा पानीमा भएको खनिज पदार्थ नष्ट हुन पाउँदैन । आरओको तुलनामा अल्ट्रा प्रविधि उच्चस्तरीय प्रविधि हो । यद्यपि यस प्रविधिलाई अपनाउनका लागि उद्योगी व्यवसायीहरुलाई राज्यले थप सहजीकरण गर्नुपर्ने आवश्यकता छ । यस प्रविधिलाई अपनाउन सकेको खण्डमा उपभोक्ताको स्वास्थ्य बढी लाभदायक हुने गर्दछ ।
अहिले पनि काठमाडौं उपत्यकामा थुप्रै पानी उद्योगीहरुले मुहान (स्प्रिङ) श्रोतको पानी प्रशोधन गर्दछन् । मुहानको पानीमा हाम्रो शरीरका लागि नभईनहुने थुप्रै खनिज पदार्थहरु पनि उपलब्ध हुन्छन् । तथापि आरओ प्रविधिबाट पानी प्रशोधन गर्दा ती कुनै पनि खनिज पदार्थलाई बचाउन सकिँदैन ।
अल्ट्रा प्रविधि अपनाउनुपर्छ भन्ने सम्बन्धमा उद्योगी व्यवसायी बीच पटक–पटक छलफल भएपनि लगानी, बजार, अस्वस्थ प्रतिष्पर्धा लगायतका कारणले गर्दा यस प्रविधिमा स्तरोन्नति भने हुन नसकेको अवस्था छ ।
आरओ, युपि र ओजोनको तुलनामा अल्ट्रा प्रविधिको लागि उद्योगीले नयाँ प्रविधि अवलम्बन गर्नुपर्छ । तथापि यस प्रविधिलाई लागु गर्नका लागि उद्योगीले आफ्नो प्रविधिलाई स्तरोन्नति गर्नुपर्ने हुन्छ । यस क्रममा लगानी पनि सँगसँगै आवश्यक पर्न जान्छ । साथै समय–समयमा निरीक्षण गरिरहनुपर्ने जरुरी हुन्छ । राम्रोसँग समयमा हेरविचार नगरेको खण्डमा र पानी लामो समय राखेको खण्डमा पानीमा लेउ लाग्न सक्ने हुन सक्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij