–वासुदेव भट्ट
चुनावी महोत्सवमा
महामेलाको रमिते भेला जमाएर
चटकीले देखाएको चटकजस्तै
रमितेका नजर घुमाएर
जनताका अमूल्य मत
ब्यालेट बक्समा त घुसायौ।
तर जनताका मनमा घुस्न सकेनौ!
वाचाल चाल चालेर
चतुरे चाटुता चखाएर
गरेर कुशल नाटक मञ्चन
प्रहसनका आकर्षक प्रदर्शन
अनि
रोमाञ्चक नाटकका परिकल्पनामा
विदूषकको अब्बल भूमिका
प्रदर्शन त गर्यौ।
तर यो मञ्चनले तिम्रो
प्राप्ति र उपलब्धि त भयो
जनता हात्ती आयो,हात्ती आयो फुस्साझै
जिल्लाराम बन्दै
ट्वाल-ट्वाल्ती हेर्दै छन् ।
तिम्रा आश्वासनका बिस्कुन धेरै सुके।
मीठा -मीठा सपनाहरू धेरै बाँडिए ।
वाद-सिद्धान्तका चटनी पनि चटायौ।
समता र वर्गचरित्रका रटना पनि रट्यौ ।
भौतिक द्वन्द्व र समाजवादका
खोक्रो दर्शन पनि छाँट्यौ ।
तिम्रा यी वाद र सिद्धान्त
सत्ता प्राप्तिका साधन मात्र बने।
जनताका उत्सर्गलाई वली चढाएर
ब्यवस्था त फेर्यौ पटक-पटक
तिम्रा जीवन-स्तर पनि फेरिए।
तर, देश र जनताको स्तर यथावत् छ।
गाउँ छाडेर सहरमा बस्ती बसायौ।
एक शासकीय सामन्तको अन्त्यगरी
धेरै नवसामन्तीको उदय गरायौ।
जनताको मतादेशको भर्याङ बनाइ
सत्ताको शिखर चढेर
रीति ,थिति र नीतिलाई
आफ्नै अनुकूल ब्याख्या गर्दै
कर्तव्य -पथबाट पतित
सिद्धान्त बने केवल तथाकथित ।
निष्ठा-च्यूत राजनीति
स्खलित संस्कृति
दिग्भ्रमित लक्ष्य बोकेर
कुन दिशा लिँदैछौ ?
अज्ञेय यात्रा, परचक्री निर्देशित लक्ष्य !
वरिपरि माफिया र दलालले घेरिएर
कालो सूचीमा परेकालाई
नयाँ नियुक्तिपत्रले चोख्याएर
ठेक्कापट्टाका कमिसन असुलेर
अमानवीय अपराधीका
अपराधका कैद मिनाहा गर्दै
कस्तो राजनैतिक प्रणालीको
विकास गर्दै छौ?
रोग-भोक र शोकको
उपचार नखोजी
भोग र विलासको
साधन रोज्छौ।
गरीव, निमुखा र निर्धनको
बाँस नहेरी।
आफ्नै सत्ता दीर्घायुको
राज मात्र खोज्छौ।
त्यसैले, मतदान
त्याग,समर्पण ,समृद्धि र
स्वाधीनताको निशान हो।
छलछाम,जालझेल र कपट गरेमा
राष्ट्र र जनता कै अपमान हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij