
गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ । शुक्रबार (आज)बाट नेपाल एयरलाइन्सको नाइन एन एबिटी कल साइनको जहाजले व्यवसायिक उडान गरेको हो ।
काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा सो जहाज उडेको थियो ।
सो जहाजले चालक दलका सदस्य बाहेक १३ जना यात्रु बोकेर रेसुङ्गा आएको सो जहाज रेसुङ्गाबाट १४ यात्रु बोकेर ७ बजेर ४५ मिनेटमा काठमाडौं फर्किएको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर आयुशा कार्कीले जानकारी दिइन् । अब रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलबार र शुक्रबार उडान हुनेछ ।
रेसुङ्गा विमानस्थलबाट काठमाडौंसम्मको हवाईजहाजको भाडा प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ तोकिएको छ । यसैगरी काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ भाडा तोकिएको छ । काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्मको दुरी ५० मिनेटको छ ।
रेसुङ्गा विमानस्थल गुल्मीको रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ किलोमिटर कच्ची बाटो पार गरेर विमानस्थल पुग्न सकिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij