महेश बस्नेत, प्रतिनिधि सभा सदस्य उम्मेदवार, भक्तपुर २(१) राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाभिमानप्रति कटिबद्ध, दत्तचित्त र दृढनिश्चयि ।
(२ ) कर्ममाविश्वास गर्ने, साहसिक, हस्तक्षेपकारी, ईमानदार, भ्रष्टाचार मुक्त, गरिबी मुक्त र समस्या मुक्त देश निर्माणका संकल्पकार, सैद्धान्तिक भन्दा बढी व्यवहारिक हुन रुचाउने ।
आम युवाहरूका आशा, कम विनाश गर्दै विकास गर्नुपर्छ र विकास बहुउद्देश्यीय र बहुउपयोगी हुनुपर्छ भन्ने विचार राख्ने तार्किक र कर्मठ नेतृत्व ।
(३ ) भक्तपुरलाई सिंहदरबारसँग जोड्ने सेतु , सम्पदा, संस्कृति र पर्यावरणका संरक्षक , युवा निति, युवा एजेण्डाका संस्थापक, सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्न हरदम कर्ममा समर्पित एमाले नेता ।
(४ ) विकासका मार्गदर्शक जसले विकासको अध्यारोमा बसेको भक्तपुरलाई समृद्धिको उज्यालो प्रदान गरे । उनले १५० किलोमीटर भन्दा बढी बाटो पिच गरे, ९२ वटा भन्दा बढी विद्यालयहरु निर्माण गरे, ३० वटा भन्दा बढी खानेपानीका ट्याङ्कीहरु निर्माण गरे, ६ वटा भन्दा बढी अस्पतालहरुको स्तरोन्नति गरे , दुइटा नयाँ अस्पतालहरु सुभारम्भ गरे, यहाँ रहेका २० वटा भन्दा बढी स्वास्थ्य चौकीहरुबाट स्तरीय सेवा दिनको लागि भूमिका खेले, मनोहरा कोरिडोर, हनुमन्ते कोरिडोर जस्ता असंख्य सडक निर्माणका कामहरुलाई अघि बढाए । सूर्यविनायक धुलिखेल खण्डको ६ लेनको बाटो बनाउने प्रक्रिया अगाडि बढाए । स्मार्ट सिटि बनाउने प्रक्रिया अगाडि बढाए, प्राणी उद्यान, ५ हजार क्षमताको सभाहल, रंगशाला लगायतका पुर्वाधारहरुमा डिपिआर गराएर त्यसको लागि खाका निर्माण लगायतका कार्यहरू गरे ।
(५) प्रत्येक प्रदेशमा ठुला औद्योगिक क्षेत्र, प्रत्येक जिल्लामा औद्योगिक क्षेत्र र प्रत्येक पालिकामा औद्योगिक ग्राम निर्माणको अवधारणाकार, उद्योग मन्त्री हुँदा विभिन्न स्थानमा रहेका फलाम खानीहरुको उत्खनन गर्ने कार्य, १० वटा पेट्रोल खानीको सम्भाव्यता भएका स्थानहरुको पहिचान र अध्ययन गरि नतिजा उन्मुख बनाउने सफल मन्त्री ।
(६) १३ महिना मन्त्री हुँदा विशेष पहल गर्दै सिटामोल, एमजिट र जीवनजल उत्पादनको कार्य सुचारु गर्ने व्यक्ति, मन्त्री हुँदा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याएर त्यस ऐनद्वारा नेपालमा ठुलाठुला एफ डि आई विदेशी लगानीहरु भित्र्याउदै त्यसमार्फत नेपालको आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्ति ।
कम्पनी रजिस्ट्रारमा डिजिटल पेमेन्ट, डिजिटल हस्ताक्षरबाट सेवाग्राहीहरुलाई सहज र झन्झटमुक्त बनाउन प्रविधिको उच्चतम प्रयोगको सुरुवातकर्ता । सेकुरिटी प्रेस कानुन निर्माणमा पनि मैले नै पहलकर्ता साथै नेपालमा रहेका ११ वटा उद्योगलाई परिणाममुखी बनाउँदै व्यवस्थित गर्ने कुरामा तथा नयाँ उद्योग स्थापना गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति , जिर्ण र बन्द भएका उद्योगलाई बजेट दिएर पुनर्सञ्चालन गराउने विकासप्रेमी नेता ।
सामाजिक सेवा उन्मुख राजनीतिबाट नै समाज रुपान्तरण गर्न सकिन्छ, राष्ट्रको तेजस् अस्तित्व निर्माण गर्न सकिन्छ भन्ने ध्येय राखेका बस्नेत कम्युनिस्ट आन्दोलनका एजेन्डा संस्थागत गर्नु आजको आवश्यकता रहेको तर्क राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, आज प्रतिक्रियावादीहरुले कम्युनिस्ट पार्टी र त्यसका नेताहरुको उल्टो भण्डाफोर गरिरहेका छन् । वास्तविकता यो होकि आज जुन पार्टीहरु संसद र सरकारमा प्रभाव जमाएका छन् । उनीहरु आफ्नो कम्युनिष्ट पार्टीको लोगो राखे पनि वैचारिक रुपले पतन भई सकेका छन । अहिले झन झन पतन हुदैछन् । यो कम्युनिष्टहरुको पतन होइन, बरु दक्षिणपन्थी संशोधनवादको पतन हो । यस्तो जटिल, गम्भीर र चुनौतीपूर्ण अवस्थामा पुगेको नेपालको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी ध्रुवीकरण र पुनगर्ठनको दिशामा अगाडि बढाउन दक्षिणपन्थी संशोधनवादको कडा विरोध गर्दै कदम चाल्न जरुरी छ । दक्षिणपन्थी संशोधनवादको विरोधको प्रवाहमा उठेको माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराले मात्र आधुनिक कम्युनिस्ट आन्दोलनलाई ठीक दिशामा अगाडि बढाउन सफल हुने छन् ।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमाले मार्फत उम्मेद्वार हुनुभएका बस्नेतसँग राष्ट्रिय आर्थिकका लागि रविन्द्र ढुंगेलले गर्नुभएको कुराकानी यसप्रकार छ ।

देश निर्वाचनमय भएको छ, नेकपा एमालेले तपाईंलाई भक्तपुर क्षेत्र नम्बर २ मार्फत प्रतिनिधिसभा तर्फ उम्मेद्वार बनाएको छ, तपाईं यसअघि पनि सांसद भइसक्नुभएको व्यक्ति फेरि किन हुनुपर्ने ? अघिल्लो कार्यकालमा कति काम गर्नुभयो ?
हामीविधायकहरुको कामभनेको मुख्यत कानुन निर्माण गर्नु हो, जनताको पक्षमा, जनताका आवाज उठाउनु मुख्य काम हो । जसरी मैले मेरो अघिल्लो कार्यकालमा भक्तपुरका जनताहरुको आवाजलाई सदनमा उठाए, त्यसअघिका सांसदहरुले भक्तपुरबासीहरुलाई आवाजबिहिन बनाउनुभएको थियो । मैले भक्तपुरका नागरिकहरुको आवाजलाई सशक्त रूपमा सदनमा उठाएँ, निति तथा कार्यक्रममा भक्तपुरलाई हरेक कोणबाट बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेँ । साथै सरकारले गरेका सकारात्मक कार्यहरुलाई समर्थन र गलत निर्णयहरूलाई सच्याउन मेरो बलियो उपस्थिति रह्यो । एउटा सांसदको भूमिका विधान निर्माण, कानुन निर्माणमा मात्र नभइ विकास निर्माणका निम्ति पनि रहन्छ । त्यसको निम्ति पनि विधायक सक्रिय हुनुपर्छ, त्यसको पहल उसले गर्नुपर्छ । गर्न सक्नुपर्छ । अघिल्लो पटक सांसद हुँदा मैले हरेक हिसाबले पछाडि परेको भक्तपुरलाई सिंहदरबारसँग जोड्छु भन्ने थियो र म यसमानेमा खुसी र सन्तुष्ट छु किनकिहामीले १५० किलोमीटर भन्दा बढी बाटो पिचगर्यौँ, ९२ वटा भन्दा बढी विद्यालयहरु निर्माण गर्यौँ, हामीले ३० वटा भन्दा बढी खानेपानीका ट्याङ्कीहरु निर्माण गर्यौँ, हामीले यो दौरानमा ६ वटा भन्दा बढी अस्पतालहरुको स्तरोन्नतिगर्यौँ, दुइटा नयाँ अस्पतालहरु सुभारम्भ गर्यौँ, यहाँ रहेका २० वटा भन्दा बढी स्वास्थ्य चौकीहरुबाट स्तरीय सेवा दिनको लागि भूमिका खेल्यौँ, मनोहरा कोरिडोर, हनुमन्ते कोरिडोर जस्ता असंख्य सडक निर्माणका कामहरुलाई अघि बढायौँ । सूर्यविनायक धुलिखेल खण्डको ६ लेनको बाटो बनाउने प्रक्रिया अगाडि बढायौँ ।
स्मार्ट सिटि बनाउने प्रक्रिया अगाडि बढायौँ, प्राणी उद्यान, ५ हजार क्षमताको सभाहल, रंगशाला लगायतका पुर्वाधारहरुमा डिपिआर गरेर त्यसको लागि खाका निर्माण लगायतका कार्यहरू भए तर अब मेरो कार्यकालमा अघिल्लो पटक मैले गरेका कार्यहरुलाई सफलतापूर्वक सम्पन्न गर्ने तथा यस क्षेत्रमा रोजगारीको क्षेत्रमा, पर्यावरणीय क्षेत्रमा, पर्यटनको क्षेत्रमा, औद्योगिक क्षेत्रमा, युवाहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्ने कुरा मेरो प्रमुखएजेन्डा हो ।
तपाईं युवाहरूको बीचमा लोकप्रिय हुनुहुन्छ तर तपाईंको अलि शिघ्र प्रतिक्रिया जनाउने र अलि एक्सन ओरिन्टेड विशेषताको कारण तपाईं केहि विवादमा पनि पर्नुहुन्छ, अहिले देशमा ४० प्रतिशत जनसंख्या युवाहरूको रहेको छ, त्यसको ठुलो हिस्सा विदेशी भूमिमा रगत र पसिना पोख्न बाध्य छ , यो बाध्यता सृजना गर्नुमा तपाईंहरुको पनि हात छ होला नि ? सनथै राजनीतिक क्रान्ति पछि अब नेपालसमृद्धिमा,आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने होइन र ?
हाम्रो देश उत्पादकिय वस्तु निर्यात गर्ने भन्दा पनि श्रम निर्यात गर्ने मुलुकमा पर्छ । हामीले नै युवा तथा खेलकुद मन्त्रालय बनायौँ , युवा निति निर्माण गर्यौँ , युवाहरूको पक्षमा कार्य गर्नको लागि राष्ट्रिय युवा परिषद गठन गर्यौँ , युवा स्वरोजगार कोषको स्थापना गर्यौँ यसरी आम युवाहरूको लागि रुपान्तरणकारी उपलब्धि हासिल भयो । हामी राष्ट्रिय युवा संघमा थिएनौं भने युवाहरूको निमित्त यो खाले उपलब्धि हाँसिल गर्न सकिदैन थियो । पछिल्लो समय अध्यक्ष ओलीद्वारा नेकपा एमालेले नेतृत्व गरेको सरकारको समयमा दलाल पुँजीलाई विस्थापित गर्दै, हाम्रो बढ्दो व्यापार घाटालाई क्रमशः घटाउँदै राष्ट्रिय पुँजीको विकास गर्नको लागि सम्पुर्ण युवाहरूलाई उत्पादन र औधोगिकरणमा क्रियाशिल गराउने कुरामा महत्त्वपूर्ण कार्यहरू सञ्चालन गर्यो । विदेशबाट आएका युवाहरू, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन चाहने युवाहरू, महिला युवाहरू, दलित युवाहरू, कृषि र पशुपालनको क्षेत्रमा काम गर्न चाहने युवाहरूलाई १५ लाखदेखि २ करोडसम्मको ऋण बिना धितो जत्तिकै परियोजना धितो राखेर वा शैक्षिक प्रमाणपत्र धितो राखेर जम्मा ६ प्रतिशत व्याजदरमा दिलाउने कार्यक्रम हाम्रै नेतृत्वको सरकारले ल्यायो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय सरकारसँग समन्वय गरेर सडक, विद्यालय, खानेपानी लगायतका कार्यहरूमा आमूल उपलब्धि हाँसिल गर्यो । न्युनतम ज्याला दोब्बर बनाएर प्रधानमन्त्री रोजगार कार्यक्रम हाम्रै सरकारले ल्यायो । हाम्रो सरकारले नै प्रधानमन्त्री आधुनिक कृषि कार्यक्रम ल्यायो जसमा कृषिको यान्त्रिकरण, बैज्ञानिकरण र आधुनिकीकरणको लागि विशेष अनुदानका कार्यक्रमहरू आए जसमा कृषि प्रविधि, बीउ बिजन, मल आदिमा ५० प्रतिशत छुट दिने तथा टनेल खेती, थोपा सिंचाइ लगायत इजरायल र अष्ट्रेलिएन प्रविधि र प्रणाली भित्र्याउने कार्य पनि हाम्रै नेतृत्वको सरकारले गर्यो , त्यसखाले कार्यक्रमबाट हाम्रो सरकारको पालामा आयात घट्दो क्रममा थियो भने निर्यातको दर बढ्दै गइरहेको थियो । यद्यपि निर्यातको दर २०० प्रतिशतले वृद्धि हुँदा आयात १० देखि १५ प्रतिशतले घट्दै गइरहेकोे थियो । गठबन्धन सरकारको आगमन भएपछि त्यो स्थिति ठिक उल्टो भएको छ ।
तपाईं १३ महिना उद्योग मन्त्री बन्नुभयो, नेपालमा औद्योगिक क्षेत्र बेहालको अवस्थामा छ, तपाईंले के गर्नुभयो ? तपाईंको पार्टीले करिब ३ बर्ष सरकारको नेतृत्व गर्यो, ओलीको कार्यकाल कस्तो रह्यो ?
प्रत्येक प्रदेशमा ठुला औद्योगिक क्षेत्र, प्रत्येक जिल्लामा औद्योगिक क्षेत्र र प्रत्येक पालिकामा औद्योगिक ग्राम निर्माणको अवधारणा नेकपा एमालेले नै सुरुवात गर्यो । त्यस्तै पुर्व – पश्चिम चारवटा सडक एकैपटक बनाउने सन्दर्भमा ६५ वर्षदेखि निर्माण हुननसकेको हुलाकी राजमार्ग निर्माणको काम, चालु पुर्व पश्चिम राजमार्ग चौडा गर्ने काम, मध्यपहाडी राजमार्ग राजमार्ग चौडा गर्ने काम, औद्योगिक कोरिडोरको रूपमा विकास गर्ने उदेश्यले मदन भण्डारी राजमार्ग आदि हाम्रै पार्टी नेतृत्वको सरकारको पालामा भएको हो । विभिन्न स्थानमा रहेका फलाम खानीहरुको उत्खनन गर्ने कार्य, १० वटा पेट्रोल खानीको सम्भाव्यता भएका स्थानहरुको पहिचान र अध्ययन गरि नतिजा उन्मुख बनाउने कार्य म उद्योग मन्त्री भएको समयमा मैले नै गरेको हुँ । लामो समयदेखि विदेशी कम्पनीहरुले स्थगित गरिराखेका ती खानीहरुको उत्खनन गर्ने कार्य ठोस रूपमा परिणाममुखी बनाउने कार्य ओली नेतृत्वको सरकारले गरेको थियो । लामो समयदेखि बन्द रहेका उद्योगहरुलाई सञ्चालन गर्ने कार्यमा म मन्त्री भएको बेला मैले विशेष पहल गर्दै पुनः सञ्चालन गर्न आवश्यक नितिगत तथा बजेट विनियोजन गर्दै तिव्रता दिएको हुँ । मैले नै विशेष पहल गर्दै सिटामोल, एमजिट र जीवनजल उत्पादनको कार्य सुचारु गरेको हुँ । मैले १३ महिना मात्र मन्त्री हुँदा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याएँ मेरो पहलमा ल्याइएको त्यस ऐनद्वारा नेपालमा ठुलाठुला FDI आई विदेशी लगानीहरु भित्रिएका छन् जस्तै हङ्सी सिमेन्ट । त्यसमार्फत नेपालको आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन महत्त्वपूर्ण योगदान पुगेको छ । नेपाललाई डिजिटल युगमा रुपान्तरण गर्ने कार्यमा पनि हामीले अग्रगामी उन्नति गरेका छौँ । नागरिक एप, बायोमेट्रीक प्रणाली, स्मार्ट लाइसेन्स, राष्ट्रिय परिचय पत्र, गाडीको नम्बर प्लेटलाई डिजिटल बनाउने जस्ता कार्यहरू पनि हामीले गर्यौँ । म मन्त्री भएको बखतमा नै कम्पनी रजिस्ट्रारमा डिजिटल पेमेन्ट, डिजिटल हस्ताक्षरबाट सेवाग्राहीहरुलाई सहज र झन्झटमुक्त बनाउन प्रविधिको उच्चतम प्रयोगको सुरुवात गर्यौँ । सेकुरिटी प्रेस कानुन निर्माणमा पनि मैले नै पहल गरेको हुँ साथै नेपालमा रहेका ११ वटा उद्योगलाई परिणाममुखी बनाउँदै व्यवस्थित गर्ने कुरामा तथा नयाँ उद्योग स्थापना गर्ने कार्यमा मैले महत्त्वपूर्ण भूमिका निर्वाह गरेँ ।
भक्तपुर सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको सहर हो , यसको सांस्कृतिक पहिचान, परिचय र रुपलाई नमेटिकन पुरातात्त्विक पक्षलाई विनाश नगरिकन विकास गर्नुपर्नेमा भक्तपुर पनि काठमाडौ जस्तै अव्यवस्थित र कुरुप हुँदै गएको हो ?
हामीकहाँचारवटा नगरपालिकाहरु रहेका छन, जसमा दुइवटा नगरपालिका भक्तपुर नगरपालिका र मध्यपुर ठिमी नगरपालिका सांस्कृतिक नगरपालिका हुन भने बाकी दुई सुर्यविनायक नगरपालिका र चागुनारायण नगरपालिका तिव्र गतिमा बस्ती विस्तार हुँदै गरेको नगरपालिकामा पर्दछन । जनगणनाको पछिल्लो तथ्यांक अनुसार भक्तपुर जिल्लामा ३ दशमलव ५ प्रतिशतले जनसंख्या वृद्धि भएको छ । एमाले सरकारको समयमा भक्तपुर जिल्लालाई सांस्कृतिक नगरी घोषणा गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर नगरपालिका र चागुनारायण नगरपालिकालाई डेढ डेढ अरब रूपमा विनियोजन गरेर त्यहाँ रहेका मठ मन्दिर, पोखरी, पाटी पौवा, सडक मर्मत गर्ने तथा ऐतिहासिकता संरक्षण गर्ने कार्यमा नेकपा एमाले सरकारको पालामा मेरो पहल मार्फत सम्भव भयो । मध्यपुर ठिमी नगरपालिकामा पनि हामीले त्यहाँ रहेका पार्क, मठ मन्दिर, पाटी पौवा पुनर्निर्माण गरेका छौँ ।
सडकलाई व्यवस्थित बनाएका छौँ । त्यहाँको सांस्कृतिक र ऐतिहासिक पक्षलाई अझै प्रदर्शित हुने तवरले विकास गरेका छौँ । अब खाली भूभागमा ३ वटा स्मार्ट सिटि बनाउन डिपिआर सम्पन्न गरिसकेका छौँ । र त्यो निर्माण हामी तिव्र गतिमा गर्नेछौँ । नत्रभने भक्तपुर पनि सिमेन्टेड जंगलमा परिणत नहोला भन्न सकिन्न, पुराना र इतिहास बोकेका बस्तीहरुलाई हामी बचाउन चाहन्छौँ । मेरो स्वभावको कुरामा म नागरिकहरुलाई दुःख नदिइकन विकास गर्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुँ ।
हामीले हरेक सडक पूर्वाधारको विकल्पखोजेका छौँ, हामीले अरनिको राजमार्गको विकल्प हनुमन्ते कोरिडोर खोज्यौँ, स्मार्ट सिटिमा जान अन्य बाटो प्रयोग नगर्न थानकोट भक्तपुर प्रसारण लाइन प्रयोग गर्यौँ , त्यो ट्रान्समिसन लाइन मुनी भएको २२ मिटर सडक निर्माण गर्दाखेरि अधिकांस खाली जमिनमा बाटो बन्छ र घरहरुको क्षति हुँदैन । सम्पदा बस्ती विनाश नगरिकन हाउस पुलिङ गरेर सम्पदा बस्तीलाई अझै सुविधायुक्त बनाउने हाम्रो योजना रहेको छ । हामी नवनिर्माण गर्दा पुरानोलाई क्षतिनपुर्याइ गर्न चाहन्छौँ, यदि क्षति भएको खण्डमा क्षतिपूर्ति र विकल्प दिने कुरामा हामी जिम्मेवार छौँ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij