२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

विपत्तिले खल्लो दसैँ, न परिवार न रौनक

विपत्तिले खल्लो दसैँ, न परिवार न रौनक

काठमाडौँ । काठमडौँको मूलपानी घर भएकी प्रविना मैनाली दसैँमा माइतीघर जाने र ९० वर्षीया हजुरआमा र बुबाआमाको हातबाट टीका लगाउन सर्लाहीको हरिवन जाने तयारीमा थिइन् । घरबाट माइती टाढा भएकाले वर्षको एक पटक दसैँकै मेसोमा आमाबुबालाई भेट्ने र पति र छोराहरूसहित घुमघाम गर्ने उनको योजना थियो ।

रोजगारी र आफ्नो व्यवसायका लागि काठमाडौँमा बस्दै आएका दीपेन्द्र पराजुली पनि छोराको विद्यालय बिदा हुनासाथ आफ्नो घर निजगढ जाने तयारीमा थिए । निजगढमा बाआमा मात्र भएकाले पनि फूलपातीसम्म घरमा पुग्नैपर्ने बाध्यता पनि थियो । श्रीमतीको जागिर र आफ्नो व्यवसाय पनि त्यतिबेलासम्म बन्द हुने भएकाले फूलपातीछेका सहजै घर पुगिन्छ र आफन्तसँग गाउँघरमा रमाइलोका साथ भेटघाट गर्ने पराजुलीको योजना थियो ।

त्यस्तै, धनगढी घर भएका विजेन्द्र चौधरी पढाइको सिलसिलामा कोटेश्वरमा भाडाको घरमा बस्छन् । स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दै गरेका चौधरी पनि सके घटस्थापना नत्र फूलपातीसम्म भए पनि घर जाने सोचमा थिए । वर्ष दिनभर पढाइ र काममा व्यस्त हुने चौधरी दसैँको लामो छुट्टीमा घर गएर बाआमालाई सघाउने र साथीभाइसँग घुम्ने योजना असोज लागेदेखि नै बनाइरहेका थिए ।

हरिवन माइतीघर भएकी मैनाली, निजगढ घर भएका पराजुली र धनगढीका चौधरी अहिले काठमाडौँको खाल्डोबाट उम्किन नसक्ने अवस्थामा छन् । असोज १० गतेपछि उनीहरूको योजना सपनामै सीमित भएको छ । असोज १० पछि आएको भीषण वर्षा र त्यसपछिको बाढीपहिरोले निम्त्याएको वितण्डताका कारण उनीहरू काठमाडौँबाट कतै पनि नजाने मानस्थितिमा पुगेका छन् ।

केही साताअघिसम्म दसैँको उल्लासमा हर्षित उनीहरू जस्ता लाखौँ नागरिक अहिले दसैँको मुखमा खल्लो अनुभव लिएर काठमाडौँ नछाड्ने मनस्थितिमा छन् । बाढी र पहिरोका कारण उपत्यकाबाट बाहिरिने सबै सडकमार्गहरू क्षत्विक्षत् भएका कारण विभिन्न कारणले काठमाडौँमा रहेका करिब ३० लाख जिल्लाबासीहरू अन्योल र त्रासमा दसैँ पर्खिरहेका छन् ।

अघिल्ला वर्षहरूको आँकडा हेर्ने हो भने २० देखि ३० लाख नागरिक दसैँका बेला आ–आफ्नो गाउँ फर्किने गरेका थिए । यो सडक मार्ग प्रयोग गर्नेहरूको मात्र आँकडा भएकाले हवाई मार्गबाट बाहिरिनेको संख्या पनि जोड्ने हो भने निकै धेरै हुन जान्छ । दसैँ र तिहारलाई पारिवारिक मिलन र खुसी साटासाट गर्ने अवसरका रूपमा पनि लिने गरिएकाले यसलाई नेपालीको महान् पर्व पनि भन्ने गरिन्छ ।

वर्षभरि परिवारसँग छुट्टिएर बस्नुपर्ने बाध्यतालाई दसैँले भेटघाटको अवसर जुराइदिन्छ । तर, यस पटक भने अवस्था फेरिएको छ । भेटघाट गर्न जाने बाटोघाटो नै बाढीपहिरोले बगाइदिएकाले यस पटकको दसैँ धेरैका लागि खल्लो हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार गराएको जानकारीअनुसार बाढीपहिरोबाट ३४ वटा राजमार्गका ८०५ स्थानका सडक संरचनामा क्षति पुगेको छ ।

८०५ स्थानमध्ये हालसम्म ७७४ स्थानको पहिरो हटाइएको छ भने २९ वटा राजमार्ग सुधार गरी यातायात सुचारु गरिएको छ । तर, ५ वटा मुख्य राजमार्गका ३१ स्थान भने अहिले पनि अवरुद्ध छन् । यातायात सञ्ंचालन भएका सडकमा पनि त्रासमा यात्रा गर्नुपर्ने बाध्यता छ । ठाउँ–ठाउँमा पहिरो गइरहेका कारण कतिबेला सडक अवरुद्ध हुने हो भन्ने चिन्ता चालक र यात्रुमा छ ।

कतिपय स्थानमा सडक र पुललाई डाइभर्सन गरी अस्थायी रूपमा सञ्चालन गरिएकाले त्यसमा ढुक्कका साथ यात्रा गर्न सक्ने अवस्था पनि छैन । ‘अब सबैतिरका सडकमा पहिरो गएको छ । कतै खोलामा डाइभर्सन गरेर बस चलाइएको छ, कतै पुल नै छैन । यस्तो अवस्थामा ढुक्कले कसरी यात्रा गर्नु ?,’ मैनाली भन्छिन्, ‘जानाजान खतरा मोलेर यात्रा गर्दा दसैँ नै दशा भइदियो भने !’ काठमाडौँबाट बाहिरिने तयारीमा रहेका उनीजस्ता हजारौँको मनमा अहिले यस्तै प्रश्नले घर गरेको छ ।

जबरजस्ती जोखिम मोलेर गाउँघर जाने कि अवस्था सहज भएपछि जाने भन्ने दोधारमा उनीहरू छन् । १० दिन अघिसम्म छुट्टै हर्ष र उमंग बोकेर सपना बुनिरहेका नागरिक बाढीपहिरोका कारण खल्लो महसुस गर्दै छन् । पैसा हुनेहरूका लागि त हवाई यात्रा विकल्प हुनसक्छ, तर पैसा नहुनेका लागि यसपालिको दसैँले साँच्चिकै खल्लो महसुस गराउने देखिन्छ ।

‘काठमाडौँमा पढाइ खर्च जुटाउनै समस्या छ, गाउँघरमा सामान्य खेती किसानी गरेर कमाएको पैसाले अब प्लेन चढेर कसरी घर जान सकिएला र ?,’ धनगढीका चौधरी भारी बनाउँदै भन्छन्, ‘उताबाट बाआमा बाटो राम्रो छैन, जबरजस्ती गरेर आउनुपर्दैन भन्नुहुन्छ । घर नगएको पनि डेढ वर्ष भइसक्यो । दसैँमै घर जाउँला भनेर बसियो, अब यसपालिको दसैँमा काठमाडौँमा एक्लै बस्ने भइयो ।’

दसैँमा घर जान नपाएकाहरूको पीडा एकातिर छँदै छ । अर्कातिर बाढीपहिरोले उठिबास लगाएकाहरूलाई दसैँभन्दा पनि गाँसबासकै पिरलो छ । कतिको घर उजाडिएको छ भने कतिको परिवार । उद्धार र राहतमा सरकारको भूमिका सन्तोषजनक नदेखिँदा अहिले पनि कतिपय नागरिक खुला आकासमुनि रात काट्न बाध्य छन् । अझ बालबालिका, सुत्केरी, वृद्धवृद्धाको अवस्था झनै दयनीय छ ।

२ दिनको अविरल वर्षाका कारण अहिलेसम्म २३६ भन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै, शनिबारसम्म सामान्यदेखि केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरोको त्रास झनै बढेको छ । काखमा दुधे बच्चा च्यापेर सरकारको प्रतीक्षा गर्ने सुत्केरी र सहारा खोज्दै गरेका वृद्धवृद्धाहरूका लागि केको दसैँ केको चाड ।

सबै सपना एकै झरीमा तहसनहस भएका उनीहरूका लागि अहिले चाहिएको भनेको २ छाक खाना, न्यायो कपडा र शिरमा छत मात्र हो । तर, उनीहरूको त्यति सामान्य आवश्यकता कसले पूरा गरिदिने ?

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij