२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

संघीयता कार्यान्वयनपछि मुलुक स्वास्थ्य र शिक्षामा आत्मनिर्भर बन्दै छ : सभापति देउवा

संघीयता कार्यान्वयनपछि मुलुक स्वास्थ्य र शिक्षामा आत्मनिर्भर बन्दै छ : सभापति देउवा

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीयता कार्यान्वयनपछि मुलुक शिक्षा र स्वास्थ्यमा क्रमशः आत्मनिर्भर बन्दै गएको बताएका छन् ।

पर्साको पटेवा सुगौली गाउँपालिकाको नवनिर्मित आधारभूत अस्पताल भवनको आज उद्घाटन गर्दै उनले संघीयतालाई थप बलियो बनाउँदै नागरिकहितमा काम गर्नुपर्नेमा जोड दिए ।

‘मुलुक संघीय संरचनामा गइसकेपछि सोही ढाँचा अनुसार नै क्रमशः शिक्षा र स्वास्थ्य क्षेत्रको विकास हुँदै गइरहेको छ, सरकारले आधारभूत सेवालाई जनस्तरसम्म पुर्याउनको लागि अधिकतम प्रयास गर्दै आइरहेको छ, जसको फलस्वरूप आज यहाँ पनि अस्पताल स्थापना भएको छ’, पूर्वप्रधानमन्त्री देउवाले भने, ‘अहिले जनताको सबैभन्दा ठूलो आवश्यकता नै स्वास्थ्य उपचार र शिक्षा हो, यी दुवै कुराको सम्बोधनका लागि सरकारले ध्यान दिइरहेको छ, यो विगतदेखि नै सरकारको नीति हो ।’

सभापति देउवाले आधारभूत अस्पताललाई जनतालाई स्वास्थ्य सेवा प्रभावकारी ढंगले प्रवाह गर्न अनुरोध गरे । उनले अस्पतालले पालिकाका मात्र नभइ अन्य क्षेत्रका बिरामीलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्ने विश्वा व्यक्त गरे । पूर्वप्रधानमन्त्री देउवाले जनहितका काम गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुको विकल्प नरहेको धारणा राखे ।

प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको सरकारले स्थायित्व र संविधान संशोधनका लागि सरकार बनेको बताए ।

‘संविधान संशोधनका विषयमा जनताको घर–घरमा सल्लाह र सुझाव लिएर प्रक्रिया अघि बढाउने छौँ’, उनले भने, ‘जनअधिकार रक्षा र संवर्धनका लागि सबैसँग समन्वय र सहमतिका आधारमा उपयुक्त ढंगले अगाडि बढ्न आवश्यक छ, यसमा हामी सचेत छौँ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij