
अर्थमन्त्री जनार्दन शर्माले सेयर किनेकै दिन विक्री गर्न सक्ने व्यवस्था मिलाउन नेपाल धितोपत्र बोर्ड (सेबन)का अध्यक्ष र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएका छन् ।
बुधबार धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलेसँगको छलफलमा अर्थमन्त्री शर्माले सेयर किनेकै दिन विक्री गर्न सक्ने व्यवस्था मिलाउन र ब्रोकरलाई व्यवस्थित गराउन निर्देशन दिएका हुन् ।
शर्माले फोनबाटै सेयर कारोबार, सेटलमेन्ट ग्यारेन्टी, भविष्यको मूल्यांकन गरेर सेयर खरिदबिक्री, मार्जिन ल्यान्डिङमा सुधार गर्न सक्ने व्यवस्था मिलाउन समेत आग्रह गरे । अर्थमन्त्री शर्माले ५० लाखको हाराहारी लगानीकर्ताहरु सेयर बजारमा जोडिएको भन्दै लगानीकर्ताहरुलाई प्रतिफल दिने गरी काम गर्नुपर्ने बताए ।
शर्माले भने, ‘५० लाखको हाराहारीमा मान्छे जोडिएका छन् । दोस्रो बजारमा नै ११ लाख सक्रिय छन् । साना लगानीकर्ताहरु समस्यामा परेका छन् । त्यो समस्या पनि समाधान गर्नुपर्छ । एसेम्बल गर्ने कम्पनीहरुलाई पनि पुँजी बजारमा भित्र्याउनका लागि काम गर्नुपर्ने बेला आएको छ ।’
अर्थमन्त्री शर्माले सेयर बजार सेटिङमा चल्ने गरेको गुनासो समेत गरे । अर्थमन्त्री शर्माले भने, ‘नेपाली सेयर बजारमा विभिन्न चलखेल हुने गरेको छ । सेटिङमा नै सेयर बजार घटाउन र बढाउन केही लागेका छन् । यो प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भनेर अर्थ मन्त्रालयले काम गरिरहेको छ ।’
कसरी बजार सुधार गर्ने र के गर्दा लगानीकर्ताको लगानी सुरक्षित हुन्छ भनेर मन्त्रालय लागि रहेको अर्थमन्त्री शर्माले बताए । पुँजीबजारले नै पुँजी निर्माण र लगानीकर्ताहरुलाई प्रतिफल दिने गरी काम गर्नुपर्ने भन्दै उनले धेरैले नबुझी सेयर बजार लगानी गरेको उल्लेख गरे ।
‘नबुझेका लगानीकर्ताहरुलाई पनि बुझाउन आवश्यक रहेको छ । इन्साइडर ट्रेडिङ भइरहेको छ । त्यसलाई रोक्नु पर्छ ।’ उनले भने ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij