
विनोद कुमार अधिकारी एक सफल पश्मिना निर्यातकर्ता उद्यमी हुन् । उनी लामो समय देखि पश्मिना निर्यात सम्बन्धी कार्यमा संलग्न छन् । आफ्नो आसन्न ह्याण्डिक्राफ्ट नामक कम्पनी मार्फत अधिकारीले खासगरी चिनियाँ बजारमा पश्मिना निर्यात गर्दै आएका छन् । हरेक बर्ष चीनका विभिन्न शहरहरुमा आयोजना हुने इन्टरनेसनल ट्रेड फेयरहरुमा उनी आफैं सहभागि हुने गर्छन् । विभिन्न समयमा आयोजना भएका इन्टरनेनल ट्रेड फेयरहरुमा सहभागि हुन अधिकारी चीनका छेन्दु, उरमुची, ल्हासा, लान्जाउ, तुङह्वाङ, सियान, इनर मंगोलिया, साङ्घाई, बेइजिङ, स्यामन, कुनमिन, गोन्जाउ, छोङछिङ, हार्विन, तालियान, फुजोउ लगायतका शहरहरुमा पुग्छन् । ती मेलाहरुमा भेटघाट हुने ग्राहकहरुको सम्पर्कबाट अधिकारीले आफ्ना उत्पादनहरु चिनियाँ बजारमा प्रवर्द्धन गर्दै आएका छन् ।
अधिकारी नेपाली पश्मिनाजन्य सामानहरु लिएर डेनमार्क, फ्रान्स, स्वीजरल्याण्ड, इटाली, जर्मनी लगायतका युरोपियन मुलुकहरु तथा रुस, ताइवान, थाइल्याण्ड, भियतनाम, मलेसिया लगायतका एसियन देशहरुमा आयोजना हुने ट्रड फेयरहरुमा समेत सहभागि भई नेपाली पश्मिनाजन्य सामाग्रीहरुको बजार प्रवद्धन गर्दै आएका छन् । हाल सम्म अधिकारी निर्यात प्रवर्द्धनकाे उद्धेश्यले विश्वका विभिन्न ३७ देशहरुको भ्रमण गरिसकेका छन् । आफ्नो व्यवसाय प्रवर्द्धनमा आफ्नी धर्मपत्नी यशोदा अधिकारीको समेत महत्वपूर्ण साथ प्राप्त हुँदै आएको विनोद बताउँछन् ।
नेपालमा उत्पादित पश्मिनालाई युरोप लगायतका अन्य विकसित देशहरुको तुलनामा चीनमा बिक्री गर्न सहज हुने विनोदको अनुभव छ । अहिले पनि चीनमा ठूलो परिमाणमा नेपाली पश्मिनाजन्य सामानहरुको माग रहँदै आएको उनी बताउँछन् ।

नेपाली पश्मिनाकाे अन्तराष्ट्रिय प्रवर्द्धन सम्बन्धमा अधिकारीकाे अनुभव यस्ताे छः
नेपाली पश्मिनाको अन्तर्राष्ट्रिय सम्भावना
नेपालमा उत्पादन हुने पश्मिनाजन्य सामाग्रीलाई आफ्नो गुणस्तर कायम राख्दै राम्रो तवरले अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन र बजारीकरण गर्न सकेको खण्डमा नेपाली पश्मिनाको सम्भावना निकै राम्रो छ ।
समस्या
बाह्य मुलुकमा ट्रेड फेयरमा जाने नेपाली व्यवसायीहरुले विभिन्न परिस्थितिमा आफूले साथमा लिएर गएका तर बिक्री हुन नसकेका पश्मिनाजन्य सामानहरु झण्झटिलो भन्सार प्रावधानको कारण आफू फर्किने बेलामा न्यून शुल्कमा समेत त्यहीँ छोडेर आउनुपर्ने बाध्यता छ । व्यापारमा विश्वास निकै महत्वपूर्ण हुने गर्छ । यदाकदा केही नेपाली पश्मिना व्यवसायीहरु सामानको गुणस्तरमा खासै सचेत रहेको पाईंदैन । सबै नेपाली सामानहरु गुणस्तरमा कमसल छन् भन्ने भ्र्रम पर्न नदिन र हाम्रो पश्मिना प्रतिको विश्वास कायम राख्दै अन्तर्राष्ट्रिय व्यवसाय प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता अहिले हामीमाझ छ ।
निर्यातकर्ताका प्रकारहरु
नेपालबाट पश्मिना निर्यात गर्ने व्यवसायीहरु सबै एकै किसिमका छैनन् । कतिपय व्यक्तिहरुले आफू १-२ पटक चीन भ्रमणमा जाँदा आफ्नो साथमा केही पश्मिनाका सलहरु सँगै लगेर बिक्री गर्छन् । सिजनल रुपमा छोटो अवधिलाई सोचेर पश्मिना निर्यात कार्यमा संलग्न हुने व्यक्तिहरु पनि यस क्षेत्रमा संलग्न छन् । यस्ता व्यक्तिहरुले अल्पकालिन अवधिमा नै उच्च लाभ लिन चाहन्छन् । यस किसिमका विभिन्न मान्यताले व्यवसायमा प्रवेश गर्ने कतिपय व्यवसायीहरुबाट केही त्रुटि हुन सक्छन् । हामी चाहन्छौं कि केही व्यवसायीहरुको गलत प्रवृत्तिको कारण सम्पूर्ण व्यावसायिक क्षेत्र नै धराशयी हुने अवस्था नआओस् । हामी व्यापारमा संलग्न रहने व्यक्तिहरु सजग र सचेत रहन सकेमात्र त्यो सम्भव हुन सक्छ । यसको साथै हाम्रो देशबाट निर्यात हुने सामानको गुणस्तरीयता कस्तो छ भन्ने सम्बन्धमा हाम्रो नियमनकारी निकायले पनि विशेष चासो राख्नुपर्छ । जसबाट हाम्रो गुणस्तरीयताको सुनिश्चितता हुन सकोस् ।

व्यापारमा संलग्न हुन चाहनेले जान्नुपर्ने कुराः
आफूले बिक्री गर्ने सामानहरु सबैभन्दा सस्तोमा किन्न सकिने ठाउँ कहाँ हो ? आफूले सबैभन्दा राम्रो मूल्यमा बिक्री गर्न सकिने अन्तिम गञ्तव्य कहाँ हो ? कुन सामानलाई कुन बजारमा कतिमा बिक्री गर्न सकिन्छ ? सामान बिक्री पश्चात् पनि लामो समय आपसी कारोबार कायम राख्नको लागि के–कस्ता आधारभूत सिद्धान्तहरु पालना गर्नुपर्छ ? समय र परिस्थिति अनुसार तत्काल निर्णय लिनुपर्ने अवस्थामा आफू कसरी प्रस्तुत हुने ? प्रतिष्पर्धी बजारमा आफ्नो अवस्था अग्रणी बनाउन कस्ता कुराहरुमा विचार गर्ने भन्ने जस्ता कुरामा राम्र्रो ज्ञान हासिल गरेको व्यक्तिले बजारमा सहजै आफ्नो स्थान अग्रणी बनाउन सक्छ । व्यापारका आधारभूत पक्षलाई विचार नै नगरी व्यवसायमा प्रवेश गर्ने हो भने ठूलो नोक्सानी व्यहोर्नुपर्छ । अधिकांश व्यक्ति व्यवसायमा प्रवेश गर्दा यस्तै ज्ञानको अभावको कारण नोक्सानी व्यहोर्न बाध्य हुन्छन् ।
बजार मूल्यमा एकरुपता जरुरी छ
हस्तकला अन्तरगतका अन्य व्यवसायीहरु (थाङ्का, मुर्ति, कार्पेट लगायतमा संलग्न)ले पनि थोरै सङ्ख्यामा पश्मिनाजन्य सामानहरु चिनियाँ बजारमा विक्री गर्ने प्रचलन अहिले पनि छ । यसरी क्षणिक लाभको उद्धेश्यले यस व्यवसायमा संलग्न व्यक्तिहरुलाई उक्त वस्तुको सही मूल्य कति हो भन्ने थाहा हुँदैन । जसले गर्दा बजारमा एकरुपता नहुन सक्छ । यसले निरन्तर पश्मिनाकै काम गरिरहेका व्यवसायीहरुलाई केही असर पार्न सक्छ । यसकारण चीनमा निर्यात गर्दा बजार मूल्यमा एकरुपता हुने गरी बिक्री गर्नु जरुरी छ ।
व्यापारका आधारभूत पक्षलाई विचार नै नगरी व्यवसायमा प्रवेश गर्ने हो भने ठूलो नोक्सानी व्यहोर्नुपर्छ । अधिकांश व्यक्ति व्यवसायमा प्रवेश गर्दा यस्तै ज्ञानको अभावको कारण नोक्सानी व्यहोर्न बाध्य हुन्छन् ।
उत्पादक र निर्यातकर्ता बीच व्यावसायिक सहकार्य आवश्यक
बाह्य विकसित मुलुकहरुमा पश्मिना निर्यात गर्ने व्यक्ति आफैंले उद्योग सञ्चालन गरेको व्यक्तिसँग नै सामान खरिद गर्न चाहन्छन् । वस्तुको गुणस्तरीयता र समयमा नै सेवा उपलब्ध हुन सक्ने हिसाबले उद्योबाट नै सामान लिनु राम्रो मानिन्छ । त्यसो भएपनि नेपालका सबै निर्यातकर्ताहरुले आफैं उद्योग सञ्चालन गर्ने अवस्था छैन । धेरैजसो व्यवसायीहरुले उत्पादकसँगको सहकार्यमा नै यी सामानहरु बाह्य बजारमा उपलब्ध गराउनुपर्ने हुन्छ । निर्यातकर्ता व्यवसायीहरुले कर्मचारी, उत्पादक, कार्गो लगायत सबै पक्षलाई सन्तुलित रुपमा व्यवस्थित गर्दै आफ्ना क्रियाकलाप अघी बढाउन सकेको खण्डमा मात्र हामीले बाह्य व्यापारीहरुलाई राम्रो सेवा दिन सक्छौं । यसको लागि उत्पादक र संकलक दुवै आपसी सहकार्यमा अघी बढ्नु जरुरी रहन्छ ।
व्यक्तिको मनोभावना बुझ्न सक्नुपर्छ
व्यापारमा सफल हुनको लागि व्यवसायीले ग्राहकको चाहना के हो भन्ने जान्न उसको स्वभावको आधारमा मनोविष्लेशण गर्न सक्नुपर्छ । ठाउँ, समय र परिस्थिति बमोजिम मानिसहरुका स्वभावमा परिवर्तन हुन सक्छ । कहाँका मानिसको स्वभाव कस्तो छ ? भन्ने पहिचान गरेर व्यापार गर्ने हो भने कतिपय अवस्थामा उनीहरुबाट अस्वीकृत हुन सक्ने वस्तुलाई समेत सहजै विक्री गर्न सकिन्छ । जुन एक विक्रेताको खुबी पनि हो ।
धेरैजसो व्यवसायीहरुले उत्पादकसँगको सहकार्यमा नै यी सामानहरु बाह्य बजारमा उपलब्ध गराउनुपर्ने हुन्छ । निर्यातकर्ता व्यवसायीहरुले कर्मचारी, उत्पादक, कार्गो लगायत सबै पक्षलाई सन्तुलित रुपमा व्यवस्थित गर्दै आफ्ना क्रियाकलाप अघी बढाउन सकेको खण्डमा मात्र हामीले बाह्य व्यापारीहरुलाई राम्रो सेवा दिन सक्छौं ।
चीनका मानिसहरुको स्वभाव बुझेर नै हामीले हाम्रा सामानहरु चीनियाँहरुलाई बिक्री गर्दै आएका छौं । चिनियाँहरुकै कुरा गर्ने हो भने बजारमा एक जनाले रहर गरेको वस्तु प्रति अर्को व्यक्ति पनि सहजै आकर्षित हुने प्रवृत्ति छ । साथै उनीहरु छोटो समयको अन्तरालमा नै एउटा वस्तुको प्रयोग गर्न छोडेर नयाँ वस्तुको उपयोग तर्फ आकर्षित हुने गर्छन् ।
अन्त्यमा
अहिले नेपालबाट चीनका विभिन्न ट्रेड फेयरहरुमा संलग्न भई सामान निर्यात गर्ने व्यवसायीहरु करिब ३ सयको हाराहारीमा छन् । जसमध्ये करिब ७० प्रतिशत त पश्मिनाकै कारोबारमा संलग्न व्यापारीहरु ती फेयरहरुमा सहभागि हुने गर्छन् । यसले पनि नेपाली पश्मिनाको माग चीनमा उच्च रहेको देखाउँछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij