२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपाली लोक्ता कागज: समस्यामा व्यवसाय खुम्चिँदै कारोबार

नेपाली लोक्ता कागज: समस्यामा व्यवसाय खुम्चिँदै कारोबार

बेनुदास श्रेष्ठ, प्रबन्ध निर्देशक, जुगल नेपाली हातेकागज उद्योग

बेनुदास श्रेष्ठ वि.सं २०४९ देखि हाते कागज उत्पादन कार्यमा संलग्न रहँदै आएका व्यक्ति हुन् । उनी सिन्धुपाल्चोकमा जुगल नेपाली हाते कागज उद्योगका सञ्चालक हुन् । वि.सं २०७२ मा आएको भूकम्पले सृजना गरेको विषम परिस्थिति पश्चात् बन्द भएको उनको उद्योग अहिले सम्म पनि सञ्चालनमा आउन सकेको छैन । अब छिट्टै नै उद्योग पुनः सञ्चालनमा ल्याउने योजना सहित उनले काम गरिरहेका छन् ।

नेपाली हाते कागज उद्योगको अवस्था
नेपालमा सञ्चालनमा रहेका हाते कागज उद्योगहरुबाट बार्षिक ठूलो परिमाणमा हाते कागज उत्पादन हुँदै आएको छ । हातेकागजको लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थ लोक्ता हो । जुन नेपालका विभिन्न क्षेत्रका ग्रामीण भेगबाट सङ्कलन गरिन्छ । नेपालमा लोक्ताबाट उत्पादन हुने कागजको विशेष महत्व रहँदै आएको छ । नेपालमा लोक्ताबाट उत्पादन हुने हाते कागजको माग बाह्य बजारमा समेत निकै राम्रो छ । साथै हाते कागजको बजार सम्भावना राम्रै रहेपनि यस क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन नसक्दा र व्यवसायलाई समयानुकुल परिमार्जन गर्न नसक्दा यस उद्योगको अवस्था कमजोर बन्दै गएको छ ।

शुद्ध लोक्ताबाट बनेको कागजको विशिष्ट स्थान छ । कागज पट्याउँदा नभाँचिने, किराले नखाने, पानीमा नभिज्ने, लेखेको अक्षर बर्षौंसम्म नउड्ने जस्ता विशेषतायुक्त नेपाली लोक्ता कागज तमसुक एवं सरकारी कामकाजमा प्रयोग हुने इतिहास लामो छ । तर अहिले भने बजारमा नेपाली कागजको नाममा उपलब्ध हुने बिना मिश्रण लोक्ताबाट बनेको कागज पाउन गाह्रो छ । बावियो, पराल लगायतका वस्तुहरुको समेत मिश्रणबाट तयार पारिएका कागजहरु बजारमा भएकोले नेपाली कागजले आफ्नो गरिमा कायम राख्न चुनौती देखिन्छ ।

राज्यले लिनुपर्ने नीति
नेपाली बजारमा तमसुकको अलावा खाम, फाइल लगायतका लामो समय रकेर्ड रहने गरी भण्डार गर्नुपर्ने कागजजन्य सामानहरु लोक्ताबाट निर्मित नेपाली कागज नै हुनुपर्छ भन्ने सम्बन्धमा नेपाल सरकारले स्पष्ट व्यवस्था गर्नु जरुरी छ । यसो हुन सकेको खण्डमा नेपाली कागजको प्रयोग स्वदेशी बजारमा बढाउन सकिन्थ्यो ।

नेपाल सरकारले स्वदेशमा उत्पादित सामान तुलनात्मक रुपमा १५ प्रतिशत सम्म महँगो नै भएपनि स्वदेशी नै प्रयोग गर्नुपर्ने नीतिगत व्यवस्था त गरेको छ । तर अहिले सम्म यो नीति पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । नेपाल सरकारले यसको कार्यान्वयन गरेको खण्डमा नेपाली कागजको खपत आन्तरिक बजारमा निकै नै विस्तार हुने अवस्था छ । नेपालमा उत्पादन हुने लोक्ताको कागज तुलनात्मक रुपमा अलि महँगो त छ । तैपनि स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिनसकेमात्र हाम्रा उद्योगको क्षमता बलियो हुन सक्ने स्थितिलाई राज्ये आफ्नो दायित्वको रुपमा लिनु जरुरी रहन्छ ।

कागज उत्पादकहरुले तत्काल कागजको पैसा नगद रुपमा प्राप्त गर्न नसक्नु ठूलो समस्या बनेको छ । सानो लगानीमा सञ्चालनमा रहेका उद्योगहरुले समयमा पैसा समेत पाउन नसक्ने अवस्था रहेको कारण कागज उत्पादकहरुको अवस्था माथि उठ्न सकेको छैन ।

अबको आवश्यकता
नेपालमा हाते कागज क्षेत्रमा अहिले सम्म आधुनिक मेसिन र प्रविधिको प्रयोग हुन सकेको छैन । विश्व प्रविधिको क्षेत्रमा निकै अघी बढिसकेको भएपनि नेपालले भने यस सम्बन्धमा खासै ध्यान दिन सकेको छैन । नेपालले अहिले पनि परम्परागत तवरबाट नै कागज उत्पादन गर्दै आइरहेको छ । जुन अत्यन्तै झण्झटिलो समेत छ । नेपालमा उत्पादन गर्ने कागजको लागि विभिन्न प्रक्रियाहरु पार गर्नुपर्छ । जसअन्तरगत कागज हातले नै बनाउने, काठको फ्रेम प्रयोग गर्ने, दाउराले ड्रममा पकाउने, घाममा सुकाउने लगायत पर्दछन् । सबैजसो कामहरु परम्परागत रुपमा नै हुने भएको र घाम लागेको समयमा मात्र कागज सुक्न सक्ने अवस्था रहेको कारण यो क्षेत्रले राम्रो उपलब्धि हासिल गर्न सकेको छैन । यसकारण नेपालमा हातेकागजको लागि अन्य विकसित देशका प्रविधिहरु भित्र्याएर नयाँ प्रविधि तर्फ यस क्षेत्रलाई अघी बढाउनुपर्ने जरुरी छ ।

जस अन्तरगत घाम नलागेको समयमा सुकाउनको लागि वैकल्पिक तरिकाहरु अवलम्बन गर्नुपर्ने, लोक्तालाई पकाउनको लागि छिटो पकाउन सकिने किसिमको ठूलो साइजको भाँडो वा प्रेसर कुकर वा अन्य उपयुक्त भाँडोको व्यवस्था गर्नुपर्ने जरुरी छ । यसको अलावा उत्पादन हुने कागजको लागत घटाउन सकिने विधिहरुको खोजी गर्नुपर्ने जरुरी छ । यसो हुन सकेको खण्डमा हामीले सहजै तेस्रो मुलुकमा यी कागजलाई प्रतिष्पर्धी मूल्यमा निर्यात गर्न सकिन्छ ।

तत्काल नगद प्राप्त नहुने अवस्था
कागज उत्पादकहरुले तत्काल कागजको पैसा नगद रुपमा प्राप्त गर्न नसक्नु ठूलो समस्या बनेको छ । सानो लगानीमा सञ्चालनमा रहेका उद्योगहरुले समयमा पैसा समेत पाउन नसक्ने अवस्था रहेको कारण कागज उत्पादकहरुको अवस्था माथि उठ्न सकेको छैन । कागज उत्पादकले कागज उत्पादनको लागि आवश्यक पर्ने लोक्ता लगायतका कच्चा पदार्थको लागि नगद रकम खर्च गर्नुपर्ने हुन्छ । तर उसले आफूले उत्पादन गरेको सामान अर्को व्यापारीलाई विक्री गरेपछि तत्काल पैसा नपाई अन्तर्राष्ट्रिय बजारमा व्यापार भई पैसा आएपछि मात्र प्राप्त हुने अवस्था छ । जुन दुखद छ ।

अहिले लोक्ता काठमाडौं उपत्यकामा प्रतिकिलो २ सय र ग्रामीण भेगमा डेढ सयमा उपलब्ध हुन्छ । १ टन लोक्ता लिनको लागि नै डेढ-दुई लाख रकम आवश्यक रहन्छ । त्यसको अलावा दाउरा, पानी, पकाउने, केलाउने, घाममा सुकाउने, सेतो बनाउने, कास्टिङ सोडा, किलाकाँटी, जाली लगायतका सामानहरु र जनशक्ति समेत व्यवस्था गरी कागज उत्पादन गर्दा निकै झण्झट व्यहोर्नुपर्ने उत्पादक समयमा पैसा नपाउँदा कामबाट थप निराश भई विस्थापित नै हुनुपर्ने अवस्था छ । विगत ४ बर्ष पहिलेको तुलनामा अहिले निकै कम कागज उद्योगीहरु सञ्चालनमा छन् । केही बर्ष पहिले सम्म सिन्धुपाल्चोकमा १६ ओटा कागज उद्योगहरु सञ्चालनमा रहँदै आएकोमा अहिले सबैजसो बन्द अवस्थामा छन् । यसो हुनुमा उत्पादकले बजार सम्भावना राम्रो देख्न नसक्नु नै मुख्य हो ।

यसै क्षेत्रलाई निरन्तरता दिने योजनामा बेनुदास
व्यवसायी वेनुदास श्रेष्ठ भन्छन्, ‘अन्य व्यापारीहरु यस व्यवसायबाट विस्थापित भइसकेपनि म आफू भने विगतको तुलनामा १० प्रतिशतमा कारोवार सीमित हुनपुगेपनि मेरो पहिले देखिकै व्यापार यही भएको कारण यसै क्षेत्रमा नै संलग्न रहिरहन्छु । थुप्रै समस्या र चुनौती भएपनि हाते कागज क्षेत्रको आफ्नो अलग्गै पहिचान छ । यो व्यवसाय आफूले सिकेको सीप र स्थानीय कच्चा पदार्थ एवं श्रम शक्तिको उपयोगबाट सामान उत्पादन गर्न सकिने प्रतिष्ठित क्षेत्र हो ।’

अन्त्यमा
नेपाल सरकारको स्पष्ट नीति नभएको, सही लोक्ताबाट बनेको कागजलाई प्रोत्साहन मिल्न नसकेको, राज्यले लो विडिङको नाममा कम गुणस्तरीय कागजलाई प्रश्रय दिएको लगायतका कारण नेपाली कागजले राम्रो स्थान पाउन नसकेको बेनुदासको ठम्याई छ ।

वेनुदास श्रेष्ठ भन्छन्, ‘अन्य व्यापारीहरु यस व्यवसायबाट विस्थापित भइसकेपनि म आफू भने विगतको तुलनामा १० प्रतिशतमा कारोवार सीमित हुनपुगेपनि मेरो पहिले देखिकै व्यापार यही भएको कारण यसै क्षेत्रमा नै संलग्न रहिरहन्छु । थुप्रै समस्या र चुनौती भएपनि हाते कागज क्षेत्रको आफ्नो अलग्गै पहिचान छ ।

अहिले मालपोतमा प्रयोग गरिने कागज लोक्ताबाट बनेको कागज नभएको कुरा उक्त कागजमा मसी प्रयोग गरेर लेखिने कलमले लेख्न नसकिनु नै मुख्य प्रमाण भएको बेनुदास बताउँछन् । साथै आगामी दिनमा यस क्षेत्रको गरिमा कायम राख्नको लागि राज्यले सरकारी काममा नेपाली कागज नै प्रयोग गर्ने नीति लिने स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नको लागि राज्यले विशेष व्यवस्था गर्ने हो भने अझै यो व्यवसायले आफ्नो पहिचान कायम गर्न सक्ने समेत बेनुदास बताउँछन् । यसको लागि स्वदेशी लोक्ताको कागजलाई पहिचान गरी यसको ब्राण्डिङ गर्नुपर्ने जरुरी छ । साथै पराल, बाबियो लगायतबाट निर्मित कागजलाई नेपाली कागज भनेर प्रयोग गर्ने प्रचलनलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता समेत छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij