
काठमाडौं । पछिल्ला बर्षहरुमा नेपालमा डिजिटल सिग्नेचरको प्रयोग बढ्दो छ । डिजिटल सिग्नेचरको प्रयोग बढाउने उद्धेश्यले नै नेपाल सर्टिफाइङ कम्पनी स्थापना भएको छ ।
यो कम्पनीको स्थापना हुनु भन्दा पहिले देखि नै यदाकदा डिजिटल सिग्नेचर प्रयोग हुँदै आएको थियो ।
अहिले भने नेपालमा नै आधिकारिक रुपमा डिजिटल सिग्नेचरकै प्रयोगलाई बढावा दिने उद्देश्यले स्थापित कम्पनीबाट यो सुविधा लिन सकिने अवस्था सृजना भएको छ । यस्तो अवस्थामा डिजिटल सिग्नेचरको प्रयोग नेपालका कर्पोरेट कम्पनी तथा बैंकिङ क्षेत्र एवं अन्य सरकारी निकायहरुमा बढ्दो क्रममा छ ।
नेपाल सरकार मातहत नेपाल राष्ट्र बैंकको समेत लगानी रहेको नेपाल क्लियरिङ हाउसमा भले भने अहिले सम्म आधिकारिक माध्यमबाट उपलब्ध गराइएको डिजिटल सिग्नेचर डिभाइस प्रयोग गरिएको छैन । जसले गर्दा नेपाल क्लियरिङ हाउसले विद्युतीय कारोवार ऐनको विपरीत हुने गरी काम गरिरहेको आरोप समेत खेप्दै आएको छ ।

सरकारकै स्वामित्वमा रहेको कम्पनीले यसरी काम गर्दा अन्य कम्पनीहरुलाई पनि प्रश्रय मिल्ने भएकोले यथाशक्य छिटो आधिकारिक माध्यमबाटै डिजिटल सिग्नेचर डिभाइस लिइ सेवा प्रवाह गर्न नेपाल सर्टिफाइङ कम्पनीले आग्रह समेत गरेको छ ।
विद्युतीय कारोवार ऐनमा भएको व्यवस्था अनुसार अनाधिकारिक रुपमा डिजिटल सिग्नेचर प्रयोग गर्दा २ बर्ष सम्म कैद र १० लाख रुपियाँ सम्म जरिवाना हुने व्यवस्था छ । यस व्यवस्थालाई जानिबुझि प्रतिष्ठित बैंकहरु तथा नेपाल राष्ट्र बैंक जस्ता संस्थाहरु संलग्न रहेको नेपाल क्लियरिङ हाउसले आधिकारिक तवरले डिजिटल सिग्नेचर प्रयोग गरेर आफूहरुलाई पनि सहयोग गर्न सर्टिफाइङ कम्पनीले आग्रह गरेको छ ।
आफ्नो कार्य क्षेत्र भन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुने सर्टिफाइङ कम्पनीका अध्यक्ष विप्लवमान सिंह बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij