
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको छ । राष्ट्र बैंक बैंकले इजाजतपत्र प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई एकमूष्ट रूपमा प्रदान हुने पुनरकर्जाको लागि आवेदन दिन एक सूचना मार्फत आहृवान गरेको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडा गरेको छ । यही रकम सदुपयोगको लागि कार्यविधि बनाइसकेको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको हो । बैंक तथा वित्तीय संस्थाले असोज १४ गतेसम्म राष्ट्र बैंकमा आवेदन दिन सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले ३ प्रकारका कर्जामा पुनरकर्जा सुविधा उपलब्ध गराउनेछ । यसमध्ये लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग २ प्रतिशत व्याज लिनेछ भने बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकसँग ५ प्रतिशत व्याज लिन पाउने छन् ।
यस्तै, विशेष पुनरकर्जामा राष्ट्र बैंकले १ प्रतिशत व्याज लिनेछ भने बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग ३ प्रतिशत व्याज लिन पाउने छन् । साधारण पुनरकर्जामा राष्ट्र बैंकले ३ प्रतिशत व्याज लिन्छ भने बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकसँग ५ प्रतिशत व्याज लिनुपर्ने हुन्छ ।
बैंक तथा वित्तीय संस्थाहरुले माग गर्ने कुल पुनरकर्जा रकम सो संस्थाको प्राथमिक पुाजीको २५ प्रतिशतसम्म मात्रै हुनुपर्नेछ । आवेदनको लागि छनोट गरिएका कर्जाको भुक्तानी अवधि कम्तिमा पनि १ वर्ष बाँकी रहेको हुनुपर्ने शर्त राष्ट्र बैंकको छ ।
एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणीको हकमा भने ऋणी स्वयम्ले म यो बैंक वा वित्तीय संस्थाबाट मात्रै पुनरकर्जा सुविधा लिन्छु भनेर जानकारी गराउनु पर्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij