कुमार श्रेष्ठ कुनै दिन नेपाली समाजमा निकै नै कुख्यात डनकाे रूपमा चर्चित थिए । अर्थात घैंटे । २०७२ भदौ ३ गते उनी प्रहरीकाे इन्काउन्टरमा मारिए । सामाखुशी, कपुरधाराको भित्री गल्लीमा २० नम्बरको हरियो रंग भएकाे एक तल्ले घर उनकै थियाे । पहिले निकै नै चहलपहल हुने याे घर अहिले भने सुनसान छ ।उनी मारिए सँगै उनी बस्दै अाएकाे उक्त घर त शुन्य बनेकाे छ । कुमार घैंटेको चार आना जग्गामा रहेको यो घरमा अहिले कोही पनि बस्दैन । गत भदौमा आफन्तहरुले वार्षिकी कर्म त्यही घरमा गरे । तर अन्य उनका सन्मत्तिहरूमा कसले राज गरिरहेकाे छ भन्ने कुरा खाेजकाे विषय बनेकाे छ । पहिले घैंटेको करोडौंको सम्पति भएको भनिएकाेमा अहिले भने प्रहरी प्रशाशन पूर्ण रूपमा माैन छ । । उनकाे सम्पत्तिकाे छानविन त के फाइल पल्टाएर समेत हेरिएको छैन ।
प्रहरीले तयार पारेको विवरण अनुसार कुमार घैंटे डन भनिएकाहरु मध्ये सबैभन्दा धनी थिए । उनको करिब २० करोड भन्दा बढीको सम्पति थियो भनिएको थियो । तर, अहिले त्यो सम्पति कसको नाममा छ त ? न राज्यले खाजेको छ, न उसका आफन्तको हातमा परेको छ ?
कुमार घैंटेको नयाँ बसपार्क नजिकै २० आना जग्गा थियो, जसको मूल्य अहिले ७ करोडमाथि छ । स्रोतहरूका अनुसार घैंटेको उक्त जग्गा उनकै सबैभन्दा विश्वासिलो पात्र शान्ता महर्जनको नाममा छ । त्यही जग्गामा अहिले ट्रष्ट बनाउने काम भइरहेको छ ।

त्यस्तै सामाखुशी नजिकै एउटा गुठीको जग्गा पनि घैंटेकै थियो । त्यही जग्गामा घर बनाउने स्केच समेत तयार पारेका थिए । १६ आना जग्गामा ४० लाख तिर्न बाँकी भएको घैंटेले आफू निकट व्यक्तिहरुलाई बताएका थिए । उक्त जग्गा घैंटेकी छोरीको नाममा ल्याउने प्रक्रिया चलिरहेको छ । नावालिकाको लागि भन्दै उक्त जग्गा छोरीलाई दिलाउन अदालतमा प्रक्रिया चलिरहेको स्रोतले जनाएको छ ।
घैंटेले धादिङको नौविसेमा ढुंगा खानी संचालन गरेका थिए । ७ जना भन्दा बढीको संयुक्त लगानी रहेको त्यो ढुंगा खानीमा एक करोड भन्दा बढी घैंटेको लागानी थियो । नौविसेमै घैंटेको एक सय रोपनी जग्गा पनि छ । ‘बगैंचा बनाएर राखिएको सय रोपनी जग्गा पनि कस्ले खायो हामीलाई थाहा छैन, खानेले मेरो नाममा छ भन्दैन, कसैले खोज्दैन,’ स्रोतले भन्यो ।
लाजिम्पाट स्थित फ्राइडे रेष्टुरेन्टमा घैंटेको लगानी थियो । तर त्यसमा उसलाई प्रहरीका अधिकृतहरुले समेत साथ दिएका थिए । दुई करोडको लगानी रहेको फ्राइडेमा रोकेश कार्कीको लागानी भएको देखाइएको थियो । तर, त्यसमा प्रहरीका उच्च अधिकृतहरुको समेत लगानी भएको स्रोतको दाबी छ ।
नगद तथा डाेजर र ट्रिपर ः
कुमार घैंटको नाममा एनआईसी, इन्भेष्टमेन्ट र स्ट्यान्डर्डचार्टड बैंकमा खाता छ । जसमध्ये इन्भेष्टमेन्ट बैंकमा केही नगद हुन सक्ने स्रोतले बतायो । त्यसबोहक घैंटेले सञ्चालन गरिरहेको एउटा डोजर, दुईवटा टिप्पर र एउटा गाडी गायब भएको छ । ‘सबै गाडीहरु घैंटेले कस्को नाममा राखेको थियो भन्ने केही सीमित प्रहरी अधिकृतहरुलाई समेत जानकारीमा छ । तर त्यसलाई किन बाहिर ल्याउन खोजिएन हामीले बुझ्न सकेका छैनौं,’ स्रोतले भन्यो ।
यसैगरी गजुरमुखी ठेक्का कम्पनिमा पनि घैंटेको लगानी थियो । ‘क’ श्रेणीको ठेक्का कम्पनीमा नुवाकोटका कांग्रेस सभापति जगदिशनर सिंह केसी, फरार सूचीमा रहेका समिर बस्नेत, घैंटेका विश्वास पात्र शान्ता मर्हजन र प्रितम थापाको लगानी थियो । स्रोतका अनुसार दिपक गौतमको नाममा रहेको कम्पनी घैंटेको समूहले गौतमलाई सेयर दिएर साइड लगाएका थिए । तर, पछि फेरि १२ करोड लोन तिरेर दिपक गौतमले अहिले आफ्नै बनाएको स्रोतको दाबी छ ।
प्रहरीले घैंटेको इन्काउण्टर लगत्तै विश्वासपात्र शान्ता महर्जनलाई पक्राउ गरेको थियो । स्रोतका अनुसार डोजर, टिप्पर, नौविसेको सय रोपनी जग्गा, नयाँ बसपार्कको २० आना, ढुंगाखानी लगायत गरेर २५ करोड भन्दा बढीको सम्पति थियो । प्रहरी इन्काउटरपछि हङकङबाट आएकी कान्छी श्रीमतीले घैंटेको सम्पतिमा चासो दिएकी थिइन् । तर, उनी घरको सामान समेत फुटाएर खाली हात फर्किएकी थिइन् । अाखिर कहँा कसले भाेगचलन गरिरहेकाे हाेला त उनकाे सम्पत्ति ? अनुसन्धानकाे विषय बनेकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij