२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

लोडसेडिङ्ग कम हुनुको जस लिन खोज्दै भारत

लोडसेडिङ्ग कम हुनुको जस लिन खोज्दै भारत

काठमाडौं। लोडसेडिङ्ग कम हुँदै जानुको जस लिन भारत अघि सरेको छ । गत शनिबार नीति अनुसन्धान प्रतिष्ठानद्वारा भारतमा अध्ययन गरी नेपालमा स्थापित भएका विभिन्न विधाका गनेचुनेका व्यक्तिहरूलाई सम्मान गरिएको कार्यक्रममा भारतीय राजदूत रञ्जित रेले जस लिन खोजे ।

अहिले काठमाडौंमा लोडसेडिङ्गको अन्त हुनुमा भारतबाट आयातित विजुली मुख्य कारण रहेको र अबको एक वर्षमा भारतले पाँच सय मेगावाट विजुली नेपाललाई निर्यात गरेपछि नेपाल झिलिमिली हुने सुनाए । यति भन्दै गर्दा कार्यक्रमका प्रमुख अतिथि पर्यटनमन्त्री जीवनबहादुर शाहीले नेपालले परनिर्भरताका लागि विदेशी सहयोग नचाहेको र आत्मनिर्भरताका लागि वातावरण निर्माणमा विदेशी सहयोग चाहेको कुरा सुनाए । नेपालको चाहना आत्मनिर्भरता हो परनिर्भरता होइन । परनिर्भरताका लागि गरिने सहयोग वास्तविक सहयोग होइन । सहयोगका नाममा विदेशीले नवउपनिवेश खडा गर्ने जे जस्ता गतिविधि अहिले गरिरहेका छन् त्यसप्रति सचेत हुन जरुरी छ ।

भारतबाट पक्कै पनि विद्युत आयात भएको छ । भविष्यमा आयात वृद्धि गर्ने लक्ष्य बनेको छ । भारतको विजुलीले हामी झिलीमिली भइरहँदा हाम्रो परनिर्भरताको विषयलाई भुल्न मिल्दैन । भारतले भुटानबाट दुई रुपैयाँ प्रति युनिट भन्दा कम मूल्यमा विद्युत किनेर नेपाललाई पाँच रुपैयाँ प्रति युनिटभन्दा कम मूल्यमा बेच्छ । भारतमा अबको केही वर्षमा विद्युत उत्पादन निकै बढ्छ । नेपालको विजुलीसँग उसलाई खासै सरोकार छैन । उसले उल्टै नेपाललाई विजुली बेचेर मुनाफा आर्जन गर्न खोजिरहेछ ।

नेपालमा विद्युत उत्पादन बढोस् भन्नेमा भारत सकारात्मक छैन । बरु उसलाई नेपालको पानीसँग सरोकार छ । नेपाल ऊर्जामा परनिर्भर नै बन्दा भारतलाई लाभ मिल्ने बुझाईका कारण होला भारतले नेपालका जनविद्युत आयोजना अगाडि बढाउन गम्भीरता देखाएन । महाकाली र पञ्चेश्वर सम्झौता भएको दुई दशक बित्नलाग्दा समेत पञ्चेश्वरको डीपीआर तयार भएको छैन । जाँदाजाँदै भारतीय राजदूत रे पञ्चेश्वरको डीपीआर बनाउन सक्रिय छन् । तर, त्यो सम्भव देखिदैन । पाँच हजार मेगावाट विद्युत उत्पादन हुने सपना नेताहरूले दुई दशक अगाडि नेपाली जनतालाई देखाए ।

भारतीय राजदूतले देखाउनु कुनै नौलो रहेन । अरुण तेस्रो र माथिल्लो कर्णाली भारतीय कम्पनिले लाइसेन्स पाएका छन् । दुई वर्षभित्र निर्माण बढाइसक्नुपर्नेमा नसकेपछि थप एक वर्ष म्याद थपिदिएको छ प्रचण्ड सरकारले । तर, लाइसेन्स लिएर नबनाउने शैली भारतीय कम्पनिमा पनि देखिएको छ । विगतमा पश्चिमाहरूले त्यसरी नै लाइसेन्स लिएर काम गरेनन् । अर्कोतर्फ, ऊर्जामा मात्र नभई विभिन्न परियोजना निर्माणमा भारतीय पक्षले चासो बढाएको देखाइरहेछ । हुलाकी मार्गको सुदुरपश्चिम क्षेत्रको पहिलो खण्ड उद्घाटन भयो । भारतले बनाउने भनेको वर्षौं बितिसक्दा पनि पूरा हुन नसकेको आयोजना पूरा नहुँदै उद्घाटन गरिएकोमा विरोध भयो । काम कम हल्ला बढी गर्ने शैली भारतीयको मात्र नभई अन्य विदेशी शक्तिहरूको पनि छ । विकासका नाममा पश्चिमाहरूले सहयोगको खोलो बगाएको देखाउँछन् तर परिणाम सून्यप्रायः छ । पछिल्लो समय चर्चका नाममा समेत सहयोग आउन थालेका छन् । ती सहयोगको पारदर्शिताको प्रश्न छ । नेता देखि कर्मचारीसम्म बोल्नुभन्दा आफ्नो दुनो सोझ्याउनुमा उचित ठान्छन् । आफ्ना लागि विदेश सयर, सेवानिवृत्त भएपछि परामर्शदाता बन्ने बाटो खोल्नेदेखि आफन्तलाई अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा प्रवेश दिलाउने स्वार्थले विदेशीको स्वार्थलाई साथ दिइरहेछन् । जो साथ दिदैनन् तिनको प्रगति रोकिनसक्ने अवस्था निर्माण हुँदै गएको छ ।

पश्चिमाहरूले सामाजिक विकासमा गरेका खर्चको पारदर्शिताले प्रश्न खडा गरेको छ । कतिपय योजनाहरू विवादमा परेका छन् । टाठाबाठाको गोजी भरिनेगर्छ । एनजीओ माफियाहरू जन्मिएका छन् । तिनले समाज सेवाभन्दा आफ्नो सेवामा ध्यान दिएका छन् । भूकम्पपछि गैरसरकारी संस्थाहरू पीडितलाई सहयोग प्रदान गर्न भन्दा डलर भित्राउन सक्रिय भए । अहिले भूकम्पपीडितका नाममा आएको पैसा गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले विभिन्न नाममा बाँडिरहेका छन् । नक्कली पीडितले समेत पैसा पाएका छन् । यो नेपालीहरूलाई मगन्ते बनाउने योजनावद्ध क्रियाकलाप हो । घर बनाउन सक्षमहरू समेत केही हजारका लागि लामवद्ध हुनपुगेका दृश्य देखिएका छन् । नेपालीहरूलाई दरिद्र, असभ्य, पीडितहरूको देशका रूपमा प्रचार गर्न डलरका खेतीवालाहरू सक्रिय छन् । जति देशको गरिबी, समस्याहरूबारे बढाईचढाई देखायो उति सहयोग बढाउनसक्ने बुझाई एनजीओकर्मीको छ । विदेशीको नजरमा नेपाल बर्बाद भइसकेको, भोकानाङ्गा, अशिक्षितको देश जस्तो बनाइएको छ । महिला बेचबिखनविरुद्ध लाग्नेहरूले नेपाललाई केटी बेच्नेहरूको देशका रूपमा प्रस्तुत गरेका छन् । पैसा भित्राउनका लागि देशको बेइज्जती गर्न समेत पछि परेका छैनन् । उनीहरूलाई मात्र सहयोग भित्राउनु छ । अनि कुनै नेपाली विदेश पुग्यो र राम्रो स्तर निर्माण ग¥यो भने विदेशीहरू उक्त व्यक्ति नेपाली हो भनी पत्याउन गा¥हो मान्छन् । नेपालीहरूको परिचय बिगार्ने कार्य विदेशी पैसामा रवाफ गर्ने कथित बुद्धिजीवी हुन् । परनिर्भरता बढाउन तिनले विदेशीलाई सघाऊ पु¥याइरहेछन् ।

नेपालमा आएका सहयोगबारे गहिरोसँग केलाउँदाको विदेशी स्वार्थ बुझ्न कठिन छैन । विगतमा कृषिमा बीऊविजनका लागि प्रदान गरिएको सहयोगले किसानलाई परनिर्भर बनायो । मोन्टेसाङ्ग्रो बीऊ लगाएर किसानले मकैको घोगाबाट मकैका दाना पाएनन् । रुवावासी गर्दै सडकमा आए । धानका बीऊबाट धान नफलेका उदाहरणहरू छन् । यस्ता बीऊविजन नेपालमा परिक्षण गर्न पठाइएका थिए । केही एनजीओ आइएनजीओले स्वार्थ लुटे । नेपाललाई प्रयोगशाला बनाउन ठाउँ ठाउँमा प्रयोग गरिएका छन् । यहाँ भित्राइने खोपहरू प्रयोगका लागि ल्याइएका तथ्यहरू छन् । हात्तिपाइले रोगको चक्की सित्तैमा खुवाउन ल्याइएको विदशी सहयोगको दुःखद परिणामहरू बिर्सन नसकिने छन् । खेलाडीमा समेत परिक्षण भएको छ । जर्मन सहयोगमा नेपाली धावक राजेन्द्र भण्डारीमाथि केही शक्तिवद्र्धक औषधी प्रयोग गरिएको रहेछ । शक्तिवद्र्धक औषधीबारे थाहा लागेपछि सार्कमा जितेको दुई स्वर्ण खोसियो भण्डारीको । एथलेटिक्समा जर्मन सहयोगको गलत परिक्षणबारे गुपचुप राख्न खेल पदाधिकारी सक्रिय भए । खेलाडी बलीको बोको बनाइए । विदेशीका स्वार्थसहित भित्राइएका योजनाहरूले हरियो वत्ती पाएको पायै छन् । कमजोर नियमन र स्वार्थी अधिकारीलाई प्रभावमा पार्न सक्नेहरूले सर्वत्र प्रभाव बनाउँदै नेपाललाई परनिर्भरतातर्फ धकेल्दैछन् । यसमा कोहीभन्दा कोही कम छैन । विदेशीले बनाइदिएको ट्राफिक लाइटको बिजोग छ । नबल्ने वत्ती नबन्ने निश्चित भएपनि निकालिएको छैन । यो परीक्षणका लागि निर्माण गरी छाडिएको रहेछ । झट्ट हेर्दा हामी नेपालीले संरक्षण गर्न नसकेको जस्तो । विदेशीले बनाइदिएको बाटोघाटोमध्ये अधिकांशमा समस्या देखिएको छ । कतिपय साँघुरो भएर दुर्घटनास्थल जस्ता छन् । उनीहरूले निर्माणमा आफ्ना इञ्जिनियर राखेर परीक्षण र अनुभव दिलाउने गरी दुवैबाट फाइदा लिएका छन् । बनाइदिनुमा पनि स्वार्थ छ ।

नेपाल खाद्यान्नबाट आत्मनिर्भर थियो । अहिले परनिर्भर बन्दैछ । दक्षिण र उत्तर अमेरिका देखि नेपालमा खाद्य सामाग्री भित्रन्छ । भारत हुँदै धेरै खाद्य सामाग्री भित्रन्छ । प्याज र लसुनको मूल्य घटबढमा भारत र चीनको उत्पादन र मूल्यमा भर पर्छ । चामल भारत मात्र नभई बङ्गलादेशबाट समेत भित्रन्छ भन्दा आश्चर्य लाग्छ । आफ्नै नागरिक भोकमरीमा पर्ने अवस्थामा परेको बङ्गलादेशले नेपाललाई चामल सहयोग दिएको विषय चर्चामा थियो । हाम्रा भूमीहरू बाजो हुँदै गएका छन् । युवाशक्ति विदेश पलायन भएका छन् । खेती गर्ने परम्परालाई नकारात्मक मान्न थालिएको छ । किसानको इज्जत गरिदैन । बरु भ्रष्टाचार गरी अकूत पैसा कमाउने समाजमा हाई हाई भएको छ । हामी यस्तै कुसोच र संस्कारको बन्धक बन्दै गएका छौं । विदेश जाने मौका मिल्यो भने घरखेत बेच्न तयार हुने संस्कार विकास भइसकेको छ । स्वदेशमा लगानी गर्ने र स्वदेशमा परिश्रम गर्ने भावना विकास हुन दिइएको छैन । पश्चिमाहरूको विकास र हाईफाई जीवनको ग्ल्यामरसमा आकर्षण बढाउने कार्य भएको छ । त्यहाँको दुःख र पीडा छोप्ने गरिन्छ ।

हामीले आफूलाई चिन्नुपर्छ । आफूलाई बुझ्नुपर्छ । आफ्नो स्रोत र साधनको उचित प्रयोग गर्ने अभ्यास हुनुपर्छ । घर देखि विद्यालय र विश्वविद्यालय तहमा आफ्नो सुसंस्कारको जर्गेना र स्रोतको उचित प्रयोगबारे जोड दिने शिक्षा नीति बन्नुपर्छ । हाम्रा लागि छिमेकी मुलुकहरू या टाढाका विदेशीहरू सहयोगी या स्वार्थी जे पनि हुनसक्छन् । हामीले तिनीहरूले दिएको लिंदा पनि सोच्ने गर्नुपर्छ । कतै हामी परनिर्भर त बन्दै छैनौं ? हाम्रो धर्म र संस्कृतिले लिने भन्दा दिनेलाई बढी मान्यता दिन्छ । हामीले लिने होइन दिने संस्कृतिको विकास गर्नुपर्छ । त्यसका लागि परिश्रम गरेर दिनसक्ने क्षमता अभिवृद्धि गर्नुपर्छ । कसैको सहयोगका पछाडि स्वार्थ मिसिएको हुनसक्छ । निस्वार्थ सहयोग गर्ने कमै हुन्छन् । हामीलाई आत्मनिर्भरता चाहिएको छ कसैको दयामा बाँच्ने प्रवृत्तिबाट टाढा रहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij