काठमाडौं । सरकारले तीन वर्षअघि नेपाल वायु सेवा निगमका लागि सहुलियतपूर्ण ऋणमा चीनसँग खरिद गरेका चारमध्ये पहिलो मोर्डन आर्क (एमए–६०) टर्बोप्रोप इन्जिनयुक्त विमान काठमाडौं आइपुगेको छ ।
५६ सिट क्षमताको यो विमान (कलसाइन नाइन एन–एकेआर) सहित निगमसँग अब आन्तरिक रुटमा उड्ने जहाजको संख्या ५ पुगेको छ । यसअघि अनुदानअन्तर्गत ०७१ वैशाखमा चीनले नेपाललाई ५६ सिट क्षमताको एमए ६० तथा त्यसै वर्षको कात्तिकमा दुर्गम रुटका लागि १६ सिट क्षमताको वाई १२–ई विमान काठमाडौं ल्याइसकेको छ । यी दुइटा खरिद सम्झौताअन्तर्गतका कुल ६ वटा विमानमध्येका अनुदानका विमान हुन भने बाँकी चारवटा सहुलियतपूर्ण ऋणबाट खरिद गरिने विमान हुन् ।
नेपाल सरकारले ०७० मंसिरमा चीनले बनाएका दुई वर्गका ६ वटा विमान (दुइटा एमए–६० र चार वटा वाई १२–ई) का लागि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ हाराहारीको ऋण तथा अनुदान प्याकेजमा सम्झौता गरेको थियो । यो रकममध्ये २ अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो । बिहीबार साँझ ६ बजेर ५५ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यो विमान यही सहुलियतपूर्ण ऋणमा नेपालले चीनसँग खरिद गरेको विमानमध्येको एउटा हो ।
फ्याक्ट्री मूल्य १ अर्ब रुपैयाँ हाराहारी रहेको यो विमान चीनको कुन्मिङबाट नेपाली पाइलटहरूले उडाएर ल्याएका हुन । यो विमानलाई चीनको सियानस्थित फ्याक्ट्रीबाट चिनियाँ पाइलटले उडाएर कुन्मिङसम्म ल्याइदिएका थिए । त्यहाँबाट हङकङ, बंगलादेश, भारतको हवाई मार्ग हुँदै जहाज काठमाडौं ल्याइएको हो । निगमका सहायक प्रवक्ता शैलेश कंसाकारका अनुसार क्षेत्रीय रुटका लागि बनाइएको यो विमानलाई निगमकै चिनियाँ जहाजका प्रशिक्षक पाइलट गोपाल सिंह विष्ट तथा प्रसन्न राणाले कुन्मिङबाट बंगलादेशको ढाका हुँदै काठमाडौं ल्याएका हुन् ।
बिहीबार कुन्मिङबाट उडेको विमानलाई इन्धन भर्नका लागि केही घण्टा ढाका लगिएको थियो । यो जहाज लिन १२ दिनअघि निगमको इन्जिनियरिङ विभाग प्रमुख पोषकराज ज्ञवालीको नेतृत्वमा टोली चीन गएको थियो । उनीसँगै निगमका पाइलट र नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणबाट फलाइट सेफ्टी विभागका अधिकृत प्रभाकर मल्लिकलगायतको १४ सदस्यीय टोली यही जहाजमा फर्केको छ ।
अहिले निगमसँग दुइटा क्यानेडियन टुइनअटर र दुइटा चिनियाँ विमान आन्तरिक रुटका लागि छन् । तर, यी नियमित उडानमा भने छैनन् । अब आन्तरिक रुटमा निगमसँग तीन वर्गका ५ विमान पुगेका छन् । एमए–६० विमान धनगढी, नेपालगन्ज, भैरहवा, भद्रपुर, विराटनगर क्षेत्रमा उडाइनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij