काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनु केही दिनअघिसम्म साढे १८ सय भन्दामाथि रहेको सेयर बजार ६ महिना बित्दा पहिरो गएर १४ सयको बिन्दुबाट ओरालो लागेको छ ।
बजार निरन्तर ओरालो लाग्नुलाई सेयर बजारले कम्यूनिष्ट सरकारसँग विश्वास गर्दैनन् भन्ने विश्लेषण गर्नेहरु पनि प्रशस्त छन् । कम्यूनिष्टहरु सरकारमा आएका बेला सेयर बजार निरन्तर ओरालो लाग्नुलाई ‘स्याल कराउनु बाख्रो हराउनु’ नेपाली उखानसँग तुलना गरिएको छ ।
तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टाईले सेयर बजारलाई जुवाको खालको संज्ञा दिएपछि बजारले कम्युनिष्टहरुलाई पत्याउन छोडेको हो । अहिलेको अवस्थामा बजार घट्नुलाई राजनीतिक कारण भन्न नहुने नेपाल स्टक ब्रोकर एसोसिएसनका पुर्वअध्यक्ष अन्जनराज पौडेलको भनाई छ । सेयर बजारमा उतारचढाव हुनु सामान्य मानिन्छ ।
नेपालको सेयर इतिहासमा कम्युनिष्टले नेतृत्व गरेकै बेलामा सबैभन्दा उच्च विन्दु १८८१ अंकको सेयर बजार पुगेकाले पनि त्यस्तो भ्रम लगानीकर्ताले पाल्न नहुने विष्लेशकहरु बताउँछन् । मङ्गलबार मात्रै २५ अंकले घटेको बजार बुधबार ३६ अंकले ओरालो लागेको छ । पछिल्लो समयमा बजार मात्रै घटेको छैन, कारोबार रकम पनि निकै ओरालिएको छ ।
‘पछिल्ला केही समययता राम्रा-राम्रा कम्पनीहरुको आईपीओ, एफपीओ आएको छ, अन्य पनि पाइप लाइनमा रहेका छन्’, पौडेल भन्छन्, ‘यो अवस्थामा बजारमा भएको पैसा पनि आईपीओ, एफपीओमा जम्मा भएको छ । त्यहीकारण बजारमा उल्लेख्यरुपमा सुधार आउला भन्न सकिन्न ।’ बजार घटे पनि कारोबार रकममा धेरै नघटेमा भने डराइहाल्नु पर्ने अवस्था नरहेको उनको भनाई छ ।
केही समयअघि लघुवित्तको चुक्तापुँजी बढ्ने चर्चा पनि चलेको थियो । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा चुक्तापुँजी बढाउने विषय प्रष्ट नआएपछि कारोबार रकममा गिरावट आउन थालेको हो, जुन अहिले पनि कायमै छ । बजार घटबढ हुनु र कारोबार रकममा उतारचढाव आउनुमा बिमा समूहको पनि भूमिका रहेको बताइन्छ । केही समयअघि बिमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने चर्चाले सेयर बजारमा चलखेल बढेको थियो ।
बजारको उतारचढावमा बिमा समूहको प्रत्यक्ष भूमिका रह्यो । बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष सुरु भएको ७ महिनाभित्र अर्थात पुस मसान्त भित्र साधारणसभा गरिसक्छन् । बैंक तथा वित्तीय संस्थाले बोनस र राइट सेयर दिइसक्ने भएकाले बजारमा लगानीकर्ताको आकर्षण घट्छ । त्यही कारण पनि ती समूहका कम्पनीको सेयर कारोबार कम हुने उनले बताए । नेप्से घटेपनि राम्रा कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण रहेको छ ।
आईपीओ तथा एफपीओमा पनि लगानीकर्ताहरुको आकर्षण बढ्ने क्रम कायम छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले दिने कर्जामा ब्याजदर बढेको छ । निरन्तर घट्दो बजारमा बढी ब्याजमा ऋण लिएर सेयर खरिद गर्ने भन्दा बैंकमा जम्मा गर्ने क्रम पनि देखिन थालेको छ । ऋण लिएर सेयर खरिद गर्नेहरु घट्न थालेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij