
बुधबार साँझ राजधानीमा अचानक मुसलधारे पानी पर्यो। झन्डै तीन घन्टा परेको पानीले केही दिनयता बढेको जेठको हपहपी गर्मीबाट राहत त भयो तर एक्कासी आएको ठूलो पानीले ढल फुट्यो। पानीसँगै चलेको हावाहुरीले थापाथली र लगनखेलमा रूख ढालिदियो। सडकमा ढलको पानी जमेपछि राति अबेरसम्म कोटेश्वर, बानेश्वरलगायत ठाउँमा जाम पर्यो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा बुधबार २० मिलिमिटर पानी परेको थियो। पानी पर्ने क्रम बिहीबार पनि रोकिएको छैन। बिहीबार उज्यालो नहुँदै सुरू भएको पानी पर्ने क्रम दिउँसो फेरि सुरू भएको छ।
महाशाखाले अझै तीन दिन साँझपख पानी पर्ने बताएको छ।
मध्यजेठमै किन आरी घोप्ट्याएजस्तो पानी परिरहेको छ त? कि मनसुन सुरू भइसकेको हो?
महाशाखाका मौसमविद् वरूण पौडेलले अहिले प्रि-मनसुन चलिरहेकाले पानी पर्नु स्वभाविक भएको बताए।
‘मनसुन सुरू भएको होइन। स्थानीय प्रणालीका कारण पानी परेको हो,’ पौडेलले भने, ‘पानी सानो क्षेत्रमामात्र परेको छ। काठमाडौंमा पनि कोटेश्वरमा जति पानी कलंकीमा परेको छैन।’
उनले मनसुन सुरू हुँदा पूर्वबाट देशभरि फैलिने बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij