
सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न कलंकी चोक र त्यसको आसपास तथा गौशाला चोक र त्यसको आसपास मध्यम तथा लामो दूरीका यात्रुबाहक सवारीसाधनको टिकट काउन्टर खडा गर्न निषेध गरेको छ । ती स्थानबाट यात्रु चढाउने तथा ओराल्ने कार्यसमेत हुँदै आएकोमा २२ वैशाख ०७६ देखि सो कार्य पूर्ण रूपले निषेध गरिने यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्तकुमार पन्तका अनुसार अब ट्राफिक प्रहरीले तोकेको स्थान वा बसपार्कमा मात्र मध्यम तथा लामो दूरीका यात्रुबाहक सवारी रोक्न पाइनेछ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । गौशाला र कलंकीमा सवारी दुर्घटना बढी भएको, भिडभाडले ट्राफिक व्यवस्थापनमा समस्या भएको, यात्रु ठगी, जथाभावी चढाउने र ओराल्ने समस्यालाई समाधान गर्न यस्तो निर्णय भएको विभागका महानिर्देशक दाहाले बताए । ‘आउँदा दिनमा थप अन्य स्थानमा पनि निषेध गर्दै जानेछौँ,’ उनले भने ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij