
पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति संयोजक डा. बाबुराम भट्टराईले बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता भएको प्रकरणको जरैसम्म पुगेर छानबिन हुनुपर्ने बताएका छन् । उनले सोमबार संसद बैठकमा सम्बोधन गर्दै त्यसमा नियतवश संलग्नता देखिएमा आफू पनि दण्ड स्वीकार्न तयार रहेको बताएका छन् ।
‘संयोगले यो प्रकरणमा नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई, तत्कालीन एमालेभित्र सापेक्ष ढंगले स्वच्छछवि मानिनुभएका माधवकुमार नेपाल, तत्कालीन माओवादीभित्र यहाँहरु सबैले माया गरेर स्वच्छ छवि बनाइदिनुभएको म बाबुराम भट्टराई समेत तीनवटैको सरकारका पालामा ललिता निवास प्रकरणमा गलत निर्णय भयो भन्ने आएको छ,’ भट्टराईले भने, ‘व्यक्तिको नियतमात्रै ठीक भएर हुँदो रहेनछ । यसको गम्भीरतापूवएक छानबिन गरियोस् र जरोसम्म उधिनेर हाम्रा संस्थाहरु कतिसम्म बेकम्मा, भष्टाचारयुक्त रहेछन् भन्ने कुराको उठान पनि होस् । यदि हाम्रो नियतवश संलग्नता आउँछ भने हामीलाई पनि दण्ड दिनुपर्छ । त्यसमा म दण्ड स्वीकार्न तयार छु ।’
ललिता निवासको जग्गामा एक अर्कालाई आरोप प्रत्यारोप गरेर मात्र समस्या समाधान नहुने भएकाले यस विषयमा गम्भीरतापूर्वक छानबिन हुनुपर्ने उनले माग गरे । ‘एक अर्कालाई आरोप प्रत्यारोप गरेरमात्र बस्ने हो भने यो समस्या बल्झेर आइरहन्छ,’ उनले प्रश्न गरे, ‘यो मुद्दालाई हामीले एकले अर्कोको कोटमा फ्याँकेर समस्या समाधान हुन्छ ?’
व्यक्तिगत रुपमा जति स्वच्छ रहे पनि भ्रष्टाचार रोकिदैन भन्ने कुरा वाइड बडी प्रकरण, बुढीगण्डकी, तारागाउँ होटल र ललिता निवासले देखाएको उनले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij