
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बेइजिङको उत्तरपश्चिममा पर्ने यानछी ताल सभाकक्षमा आयोजित दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको राउन्ड टेबुल सम्मेलनलाई सम्बोधन गरेकी छन्। शनिबार बिहान नौ बजे सुरु भएको राउन्ड टेबुल सम्मेलनको सुरुमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका थिए। त्यसपछि विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखले सम्बोधनका क्रममा शनिबार अपराह्न राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन्।
शुक्रबारको उद्घाटन समारोहपछि उच्चस्तरीय सम्मेलनमा जस्तै राउन्ड टेबुल सम्मेलनलाई पनि राष्ट्रपति भण्डारीले नेपाली भाषामै सम्बोधन गरिन्। राष्ट्रपति भण्डारीले सम्बोधन गरेको गोलमेच सम्मेलनको विषय ‘संयुक्त राष्ट्रसंघको २०३० अजेन्डा कार्यान्वयन गर्न हरित तथा दिगो विकासको प्रवद्र्धन’ रहेको थियो। तसर्थ उनले आफ्नोे विषयमा केन्द्रित भएर ठोस विषयवस्तु र वतावरण संरक्षणमा बीआरआईले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरेकी छन्।
सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीको प्रशंसा गर्दै भनिन्, ‘यहाँले दिनुभएको दूरदृष्टियुक्त र सारगर्भित मन्तव्यका लागि महामहिम राष्ट्रपतिलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’ दिगो विकासका लागि २०३० अजेन्डा जनता, पृथ्वी र समृद्धिका लागि हो भन्दै उक्त सोच रूपान्तरणकारी, समावेशी र समन्यायिक विकासका लागि रहेको उनले औँल्याइन्। समावेशिताबिनाको दिगो विकास भ्रम मात्र हुने भन्दै यो महत्वाकांक्षी सोचको प्राप्ति राष्ट्रहरूबीचको उच्च तहको सहकार्यबाट मात्र सम्भव हुने कुरामा उनले जोड दिइन्।
वातावरणीय दृष्टिकोणबाट हानिकारक देखिएका विकासका मोडलहरुको पुनरावलोकन गर्ने बेला आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘पृथ्वीको जलवायु अनुकूलता जोगाइ राख्न सकेनौँ भने हाम्रा सन्ततिको भविष्य अन्योल मात्र होइन गम्भीर खतरामा जाने अनुसन्धानले देखाएका छन्।’ यस्तो अवस्थामा परिवर्तन ल्याउन अनिवार्य रहेको भन्दै त्यसो नभएमा दिगो विकास एक भ्रम मात्र हुने कुरालाई उनले दोहो¥याएकी छन्। दिगो विकासका तीनवटै अवयवलाई सन्तुलनमा राख्दै स्वच्छ, नवीकरणीय ऊर्जा र न्यून कार्बनका क्षेत्रमा बीआरआईले दिएको जोडले वातावरणमैत्री अर्थतन्त्रको रूपान्तरणका लागि महŒवपूर्ण सघाउ पु¥याउने भन्दै उनले बीआरआईको दोहो¥याएर प्रशंसा गरेकी छन्।
सूचना प्रविधिजस्ता उदाउँदा उद्योगमा गरिने सहयोगले सेवा क्षेत्रमा ठूलो वृद्धि ल्याउन सक्छ भन्दै वातावरणीय जोखिम न्यून गर्न वैज्ञानिक अनुसन्धान र त्यसमाथि आधारित समाधानका उपाय खोजिनुपर्ने धारणा उनले राखेकी छन्। नेपाल अग्ला हिमालको देश रहेको र ती अग्ला चुचुरा गर्मीमा शीतलता र जाडोमा न्यानोपनका स्रोत भएको उल्लेख गर्दै पर्यावरण प्रणालीका अभिन्न अंगका रूपमा रहेका हिमालय शृंखला मानव जगतका साझा सम्पत्ति रहेको कुरा राष्ट्रपति भण्डारीले विश्वसमक्ष राखेकी छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij