
प्रदेश–३ मा मन्त्रीले नै सचिवको कार्यकक्षमा ताला लगाइदिएका छन् । प्रदेश–३ का सामाजीक विकास मन्त्री युवराज दुलालले आफ्नै मन्त्रालयका सचिव लोकनाथ पौडेलेको कार्यकक्षमा मंगलबार ताला लगाई दिएका हुन् । मन्त्री र सचिवबीच केही समयदेखि चल्दै आएको विवाद उत्कर्षमा पुगेपछि मन्त्री दुलालले सचिवको कार्यकक्षमा ताला लगाइदिएको स्रोतले जनाएको छ ।
मन्त्री र सचिवको विवादले अहिले सामाजीक विकास मन्त्रालयको काम नै ठप्प भएको छ । मन्त्रीले नै सचिवको कार्यकक्षमा ताला लगाइदिएपछि सचिव पौडेल काठमाडौं गएका छन् । मन्त्री र सचिवको दोहोरीले मन्त्रालयका अन्य कर्मचारी भने अन्यौलमा परेका छन् । सचिव पौडेलले काम नगरेका कारण बाध्य भएर ताला लगाउनु परेको मन्त्री दुलालको भनाइ छ ।
उनका अनुसार सचिव पौडेलले फाइलहरु अड्काएर राख्ने, काम नगर्ने, असहयोग गर्ने बाररम्बार गरिरहेपछि उनको कार्यकक्षमा ताला लगाएको बताए । सचिवले फाइल थुपारेर बस्ने तर काम नगर्ने गरेपछि स्पष्टिकरण सोधेको मन्त्री दुलालले जानकारी दिए । तर सचिव पौडेलले स्पष्टिकरणलाई बेवास्ता गर्दै काम नगरेपछि ताला लगाउनु परेको उनले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij