
जिल्लाको महागढीमाई नगरपालिका, सुवर्ण र देवताल गाउँपालिकामा हावाहुरीपीडित स्थानीयले ४ दिन बितिसक्दा पनि सरकारी र गैरसरकारी निकायबाट राहत सहयोग प्राप्त गर्न सकेका छैनन् ।
हुरी प्रभावित क्षेत्रका लागि भनेर सरकारी र निजी क्षेत्रले वितरण थालेको राहत फेटा गाउँपालिकामा मात्र केन्द्रित भएपछि अन्य क्षेत्रका बासिन्दा थप बिचल्लीमा परेका छन् । राहतको अपेक्षामा बसेका पीडितले कतैबाट पनि सहयोग प्र्राप्त गर्न नसकेपछि उपेक्षाको महसुस गर्न थालेका छन् ।
फेटासँग सीमा जोडिएको देवतालको रामपुर्वा, सुवर्णको पर्शुरामपुर, हर्दिया, बगही र जमुनिया, महागढीमाईको तेलगाई टोलमा हुरीले धनजनको ठूलो नोक्सानी पु¥याएको छ । आइतबार आएको हुरीबतासबाट सुवर्ण र महागढीमाईमा गरी ३ जनाको ज्यान गएको र यस क्षेत्रमा पक्कीसहित ७ सय घर भत्किएको बारा क्षेत्र नम्बर २ बाट संघीय संसद्का सदस्य रामसहाय यादवले जानकारी दिनुभयो । उहाँले अन्य निकायबाट राहत र सहयोगमा चासो नदेखाइपछि पीडित स्थानीय थप बिचल्लीमा परेको पनि सुनाउनुभयो ।
उहाँले बारम्बारको अनुरोधपछि बुधबार दिउँसोबाट जिल्ला प्र्रशासन कार्यालय र केही निजी क्षेत्रबाट पनि राहत आउने क्रम शुरु भएको तर पर्याप्त नभएको बताउनुभयो । सुवर्ण गाउँपालिका–४ का ३२ वर्षीया रजिया खातुन, ७० वर्षीय श्रीप्रसाद यादव र महागढी नगरपालिका तेलगाईका ७२ वर्षीया कैलीदेवी यादवको ज्यान गएको छ । २ गम्भीरसहित घाइतेको संख्या यो क्षेत्रमा पनि ३ सयभन्दा बढी छ । सुवर्णका दुई गम्भीरको गम्भीर अवस्थामै काठमाडौंमा थप उपचार भइरहेको छ । आजको नेपाल समाचार पत्र दैनिकबाट |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij