
मंगलबार मात्रै प्रहरीले आठ जिल्लाबाट १२ जना पक्राउ गरिसकेको छ । जसमा धेरैजसो जिल्लास्तरीय नेताहरु रहेका छन् । प्रहरीले मंगलबार मात्रै चितवनबाट २ जना, अछामबाट ४ जना, नवलपरासीबाट १ जना, संखुवासभाबाट १ जना, मकवानपुरबाट १ जना, इलामबाट १ जना, सुनसरीबाट १ जना र कास्कीबाट १ जनालाई पक्राउ गरेको छ ।
चन्द समूहका नेता कार्यकर्ता विरुद्ध कठोर बन्दै गएको संकेत गृह मन्त्रालयले पनि देखाइरहेको छ । गृह मन्त्रालयले पछिल्लो दश दिनमा मात्रै चन्द समूहप्रति लक्षित दुईवटा प्रेस बिज्ञप्ती जारी गरीसकेको छ, भने समूहका केन्द्रिय नेताहरु पक्राउ गर्नका लागि प्रहरीलाई कडा निर्देशन दिइरहेको छ ।
गृहले चैत १ गते अवैध वा नविकरण नगरेका हतियार ३५ दिनभित्र प्रहरी कार्यालय वा सेनाको ब्यारेकमा बुझाउन सार्वजनिक अपिल गरेको थियो । त्यसलगत्तै चैत १० गते गृहले दोस्रो विज्ञप्ती जारी गर्दै चन्द समूहलाई प्रत्यक्ष परोक्ष सहयोग पुर्याउने व्यक्ति, संस्था वा समूहलाई समेत कारवाहीको दायरामा ल्याइने भन्दै सूचना जारी गरेको छ ।
गृहको पछिल्लो विज्ञप्ती लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदीय दलको बैठकमा बोल्दै चैत महिनाभीत्रै चन्द समूहका धेरै नेता तथा कार्यकर्ता नियन्त्रणमा लिइने बताएका थिए । चैत महिनाभित्र चन्दलाई पनि नियन्त्रणमा लिइने उनको दाबी थियो ।