
ठगी मुद्दाका फरार आरोपी पक्रान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) परिचालन गरिएको छ । विद्यार्थीको जाहेरीपछि आरोपीमध्येका दुईलाई नियन्त्रणमा लिए पनि अन्य फरार छन् ।
उनीहरूको खोजीका लागि जिल्ला प्रहरी कास्कीले सहयोग मागेपछि सीआईबीलेसोमबारबाट टोली परिचालन गरेको हो ।
फरारलाई पक्राउ गर्न ब्युरो प्रमुख नीरजबहादुर शाहीलाई पत्राचार गरी सहयोग मागेको कास्कीका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । ‘हामीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘मुद्दा अदालतमा लैजाने बेलासम्म आरोपी सबैलाई नियन्त्रणमा लिन सीआईबीसँग सहयोग मागेका हौं ।’
ठगी मुद्दाका आरोपी पक्राउ गर्न टोली परिचालन भइसकेको उनले सुनाए । सरकारद्वारा निर्धारितभन्दा बढी असुल गरिएको रकम फिर्ता गर्नुपर्नेसहितका चार सूत्रीय माग राखेर विद्यार्थी आन्दोलित थिए । डेढ महिनासम्म पठनपाठन बन्द गरेर रिले अनशन गरेका विद्यार्थीले माग सुनुवाइ नभएपछि कलेज सञ्चालक अध्यक्ष खुमा अर्यालयसहित १० जनाविरुद्ध फागुन २१ मा प्रहरीमा जाहेरी दिएका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ |