
सरकारले सेफगार्ड्स, एन्टी–डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग विधेयक संसदमा पेश गरेको छ | उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आइतबारको बैठकमा संसदमा सो विधेयक पेश गरेका हुन् |
प्रतिनिधिसभाले विधेयक पारित गरेपछि अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रिने सस्ता र ब्राण्ड पहिचान स्पष्ट नभएका मालवस्तु पूर्णरुपमा प्रतिबन्ध हुनेछ । उद्योगमन्त्री यादवले लागत मूल्यभन्दा कम मूल्यमा आयात वा सहुलियत प्राप्त मालवस्तुको अत्याधिक आयात हुँदा स्वदेशी उद्योग धारासयी बन्ने अवस्थाको अन्त्य गर्न सघाउ पुर्याउन विधेयक पेश गरेको बताए । उनले विदेशी कम्पनीलाई नत्थी लगाउन नभई स्वदेशी उत्पादनको बजार ब्यबस्थीत गर्न विधेयक ल्याउनुपरेको बताए ।
मन्त्री यादवले पेश गरेको विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । यसअघि सैद्धान्तिक छलफलको क्रममा सांसदहरुले विधेयक ल्याउन ढिलो भएको भन्दै गुनासो गरेका थिए । सरकारले गत फागुन ११ गते उक्त विधेयक संसद्मा दर्ता गरेको थियो । विधेयक हुबहु पारित भए अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रिने सस्ता वस्तुको आयात रोकिने छ भने डम्पिङ्ग गरिएको देखिए भन्सार र अतिरिक्ति एन्टी–डम्पिङ्ग शुल्क लाग्ने छ ।
यस्तै, अन्तर्राष्ट्रिय बजारबाट भित्रिने सहुलियत तथा अनुदान प्राप्त मालवस्तुमा पनि प्रतिबन्ध लाग्ने छ । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले यस्ता वस्तुको आयात–निर्यात गर्न नहुने बताएपनि नेपालमा हालसम्म यस्ता बस्तु आयात रोकिन सकेको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij