२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अनुमति अवधि समाप्तिपछि जलविद्युत् आयोजना लिजमा दिन सकिने

अनुमति अवधि समाप्तिपछि जलविद्युत् आयोजना लिजमा दिन सकिने

जलविद्युत् कम्पनीको सेयर सरकारलाई नजाने तर आयोजना सरकारको स्वामित्वमा जाने व्यवस्थामा पनि सरकार लचिलो हुने सम्भावना देखिएको छ । जलविद्युत् बिकास नीति २०५८ ले जलविद्युत् कम्पनीको अनुमती कायम रहने अवधि ५० वर्षसम्म उल्लेख गरेको छ । यही व्यवस्थालाई आधार मानेर जलविद्युत् कम्पनी सरकारले चलाउन नसक्ने देखिएमा निजी क्षेत्रलाई नै सञ्चालनको जिम्मा दिने सम्भावना रहेको छ ।

‘यसरी दिदा सरकारले प्रिमियम लिएर आयोजना चलाइरहेकालाई लिजमा दिने वा फेरी नयाँ लाइसेन्स जारी गर्ने सम्भावना पनि रहन्छ, हामी सबै विकल्प हेरिरहेका छौं,’ उर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्ण पन्थले बताए । जलविद्युत् बिकास नीति २०४९ र २०५८ दुवै कार्यान्वयनमा रहेको छ । २०५८ को नीतिले ५० वर्षसम्म अनुमती दिन सकिने व्यवस्था गरेकोले पनि यी विकल्पमा जान सकिने पन्थले बताए । पछिल्लो समय जलविद्युत् आयोजनाहरुको सञ्चालन अनुमती ३० देखि ३५ वर्षको लागि मात्र दिने गरिएको छ ।

यता, अनुमती सकिएपछि सरकारले आयोजना चलाउन परेमा भने आफ्नो ८० प्रतिशत स्वामित्व रहेको जलविद्युत् लगानी तथा बिकास कम्पनी अन्तरगत त्यस्ता संस्था सञ्चालनमा ल्याउने छ । जलविद्युत् लगानी तथा बिकास कम्पनी मार्फत् सबै आयोजना सञ्चालन गर्न नसकिने अवस्थामा भने माथी उल्लेखित विकल्पमा सरकार जान सक्ने भएको हो । हाल सबैभन्दा चाँडो सञ्चालन अनुमति खारेज हुनेमा माथिल्लो भोटेकोशी आयोजना रहेको छ । यो आयोजनाले ०९३ कात्तिक ३० गतेसम्म सञ्चालन अनुमति पाएको छ ।

 जलविद्युत् कम्पनी होइन आयोजना मात्र सरकारले लिने

सञ्चालन अनुमती अवधि समाप्तपछि सरकारले लिदा पनि जलविद्युत् आयोजनामात्र आफूले लिएर चलाउने तर लगानी गर्ने कम्पनीको सेयर अधिग्रहण भने गर्ने छैन् । अहिले प्राकृतिक स्रोत प्रयोग गर्ने जलविद्युत् जस्ता कम्पनीहरुले स्थानिय र सर्वसाधारणमा गरी कम्तिमा २५ प्रतिशत सेयर जारी गर्नैपर्ने प्रावधान रहेको छ ।
जलविद्युत् कम्पनीले आयोजनाकै नाममा सेयर जारी गरेपनि त्यस्तो सेयर आयोजनाको नभई कम्पनीको हुने भएकोले कम्पनीमा लगानीकर्ताको सेयर स्वामित्व कायम रहने छ ।

तर, एउटा मात्र आयोजना रहेको कम्पनीमा लगानी गर्नेको भने सेयर पुँजीको मूल्य (भ्यालु) भने घट्न सक्छ । यद्यपी अर्को आयोजना नहुने कम्पनीका लगानीकर्ताको पनि लगानी शून्य नै भने नहुन सक्छ । कम्पनीहरुले सञ्चालन गर्ने आयोजना सरकारले लिँदा भौतिक पूर्वाधारहरु (वाटर टु वायर अर्थात पानीदेखि विद्युत् बिक्रीको लागि प्रयोग भएको ग्रिडसम्मको सम्पत्ती)  सरकारको स्वामित्वमा जाने हो । तर कम्पनीको सञ्चितीमा रहेको रकम, कम्पनीले असामीबाट उठाउन बाँकी रकम, बैंकमा राखेको निक्षेप, अन्य क्षेत्रमा लगानी गरेको भए सो लगानी, आयोजनासम्बन्धी बाहेकका अन्य भौतिक सम्पत्ति (कर्पोरेट अफिस, जग्गा लगायत) कम्पनी र त्यसका लगानीकर्ताको नै हुन्छ । थप नयाँ आयोजना बनाउने निर्णय गरेन र कम्पनी खारेज भयो भनेपनि लगानीकर्ताको यस्ता सम्पत्तिमा हिस्सेदारी रहन्छ ।

तर यसमा लगानीकर्ता सचेत हुनुपर्ने अवस्था भने रहन्छ । कम्पनी त्यो समय घाटामा देखियो र बाँकी स्रोतले पनि त्यो घाटा परिपूर्ती हुने अवस्था रहेन भने चाँही लगानी शून्य हुनसक्छ । तर, अर्को जलविद्युत् आयोजना बिकास गरेका वा अन्यबाट प्रवर्द्धित आयोजनामा लगानी गरेका कम्पनीहरुबाट भने लगानीकर्ताले केही बढी लाभ पाउने अवस्था रहन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij