२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

वन मन्त्रालयकाे कारण जलविद्युत परियाेजना अघी बढ्न सकेनन्

वन मन्त्रालयकाे कारण जलविद्युत परियाेजना अघी बढ्न सकेनन्

परियोजना बिकास सम्झौता (पिडिए) भइसकेका दुई ठूला जलविद्युत आयोजना निर्माणको प्रक्रियामा वन मन्त्रालय प्रमुख रुपमा बाधक भएको छ । सरकारले समयमै वन तथा जग्गा अधिग्रहणको समस्या नसल्टाउँदा निर्माण कम्पनीले म्याद लम्ब्याउने अवसर पाएको लगानी बोर्डले जानकारी दिएको छ ।

आयोजनाका प्रवर्द्धकले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत पैसा दिन सहमत भएका छन् । तर, वन मन्त्रालय भने वन क्षेत्रको जग्गा प्रयोगबापत सोही बराबरको सट्टा जग्गा प्रवर्द्धकले दिनुपर्ने र बृक्षारोपण गरिदिनुपर्ने अडानमा छ । यसले गर्दा सरकार र प्रवर्द्धकबीच जग्गा सहमति हुन सकेको छैन र आयोजनाको निर्माण प्रक्रिया नै अवरुद्ध भएको देखिएको छ ।

अरुण तेस्रोः जग्गा उपलब्ध गराउनुको साटो म्याद थप

संखुवासभामा बन्न लागेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनमा अहिले वनको जग्गा प्राप्तीमा समस्या देखिएको लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारी बताउँछन् । संसदको जलस्रोत तथा उर्जा समितिमा उनले भने ‘आयोजना निर्माण गर्नको लागि क्षतीपूर्ति भर्ने काम र ट्रयाक खोल्ने काम अघि बढेको छ । तर, वनबाट जग्गा उपलब्ध नहुँदा सतजल जलविद्युत निगम पावर डेभलपमेन्ट कम्पनीले काम अघि बढाएको छैन ।’

सतजल जलविद्युत निगम पावर डेभलपमेन्ट कम्पनीले गत असोजसम्म वित्तीय व्यवस्थापन गर्ने म्याद पाएको थियो । तर, सरकारले समयमै जग्गा उपलब्ध गराउन नसकेपछि वित्तीय व्यवस्थापनकै म्याद थप गरिदिएको छ ।

अरुण तेस्रोका लागि संखुवासभाको १ सय २५ हेक्टर वन क्षेत्रको जग्गा सरकारले उपलब्ध गराउनुपर्नेछ । सरकारले समयमै जग्गा उपलब्ध नगराउँदा निर्माण कम्पनीले पनि अहिले आलटाल गर्ने मौका पाएको छ ।  अरुण तेस्रोसँग ९ मंसिर ०७१ मा पिडिए भएको थियो । यो व्यवस्था अनुसार आयोजनाको वित्तीय व्यवस्थापन ९ मंसिर ०७३ भित्र भइसक्नुपर्ने थियो ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलोपटक बसेको लगानी बोर्डको बैठकले माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापन गर्नुपर्ने समय १० महिना थप गरेको थियो । प्रवर्द्धकले वित्तीय व्यवस्थापनका लागि एक वर्ष पनि नलाग्ने बताएपछि १० महिना मात्रै म्याद थप गरिएको हो ।

अरुण तेस्रोबाट सरकारले १ सय ९७ मेगावाट अर्थात २१.९ प्रतिशत ऊर्जा निःशुल्क पाउनेछ । साथै सहुलियत अवधि भरमा सरकारले १ सय ५० अर्ब रोयल्टी, ७७ अर्ब आयकर पनि पाउँछ । साथै सम्झौता अनुसार यस आयोजनाको प्रबर्धकले प्रतिप्रभावित घरधुरीलाई प्रतिमहिना ३० युनिट पनि उपलब्ध गराउनु पर्दछ ।

 

९ सय मेगावाटको अर्काे जलविद्युत आयोजना माथिल्लो कर्णालीमा पनि वन र मुआब्जाको समस्या रहेको लगानी बोर्डका सीईओ अधिकारी बताउँछन् । उनका अनुसार सरकारले दुई महिनाभित्रै यसका लागि आवश्यक बन क्षेत्रको जग्गा उपलब्ध गराउने निर्णय गरेको भएपनि हालसम्म यसको काम अघि बढ्न सकेको छैन । सरकारले जग्गा समयमै उपलब्ध नगराएका कारण यसले पनि हालसम्म बित्तीय व्यवस्थापन गरेको छैन ।

गत पुषमा नै अरुण तेस्रोसँगै यो आयोजनाको पनि बित्तीय व्यवस्थापन गर्ने म्याद थप गरिएको थियो । म्याद थपसँगै माथिल्लो कर्णालीको प्रवर्द्धक जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडले आगामी असोज २ सम्म वित्तीय व्यवस्थापन गर्नुपर्छ ।

लगानी बोर्ड र जिएमआरबीच २०७१ को असोज ३ मा भएको आयोजना विकास सम्झौता (पीडीए) अनुसार माथिल्लो कर्णालीका वित्तीय व्यवस्थापन दुई वर्षभित्र अर्थात् २०७३ असोज ३ सम्ममा गर्न पर्ने थियो ।  माथिल्लो कर्णालीका लागि दैलेख तथा अछामको २ सय ७३ हेक्टर जग्गा वनले उपलब्ध गराउनु पर्नेछ । त्यस्तै ४८ हेक्टर निजी क्षेत्रको जग्गा प्राप्तिका लागि भने स्थानीयसँग वार्ता सम्पन्न भएको सीईओ अधिकारी बताउँछन् । माथिल्लो कर्णालीमा नेपालले १ सय ८ मेगावाट-अर्थात १२ प्रतिशत र ऊर्जा तथा २७ प्रतिशत इक्विटी प्राप्त गर्नेछ । साथै १ सय ५६ अर्ब रोयल्टी र ८३ अर्ब आयकर पनि सरकारलाई प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij