
एजेन्सी । सन् २०१८ को पहिलो ४ महीनामा साउदी अरेबियाको अर्थतन्त्र मन्दीबाट बाहिरिन सफल भएको बताइएको छ ।
इन्धनको मूल्यमा भएको वृद्धिसँगै साउदी अरेबियाको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको बौद्धिक संस्था क्यापिटल इकोनोमिक्सले बताएको छ । पेट्रोलियम पदार्थको मूल्यमा भएको कमीबाट आर्थिक मन्दीको सामना गर्नुपरेको साउदी अरबलाई इन्धनमा गरिएको मूल्यवृद्धिबाट सन् २०१८ को पहिलो ४ महीनामा राहत मिलेको आर्थिक विश्लेषकहरूले बताएका छन् ।
सन् २०१७ मा ० दशमलव ७ प्रतिशतमा खुम्चिन पुगेको साउदी अर्थतन्त्र यो वर्षको जनवरी–अप्रिल अवधिमा १ दशमलव ५ प्रतिशतले बढेको छ । ‘इन्धनको मूल्यमा आएको सुधार नै साउदी अरबको अर्थतन्त्रमा देखिएको सकारात्मक सूचकको मुख्य वाहक हो,’ क्यापिटल इकोनोमिक्सले बताएको छ ।
सन् २०१६ मा प्रतिब्यारेल ३० डलरभन्दा तल झरेको पेट्रोलियम पदार्थको मूल्य सन् २०१८ मा आइपुग्दा प्रतिब्यारेल ८० डलर पुगेको थियो ।
पेट्रोलियम निर्यातक राष्ट्रको सङ्गठन (ओपेक) र आयात गर्र्ने प्रमुख मुलुकबीच भएको सम्झौतापछि तेलजन्य इन्धनको मूल्यमा समायोजन गरी तेल निर्यात गर्ने राष्ट्रको अर्थतन्त्रमा देखिएको सङ्कटलाई समाधान गर्न सम्भव भएको विश्लेषकको भनाइ छ ।
पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीसँगै सन् २००९ पछि साउदी अरबको अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिन थालेको थियो । एएफपी
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij