
काठमाडौं । यो वर्ष कात्तिकमै ह्वात्तै जाडो बढ्यो । छिट्टै बढेको चिसोले हिमालमा हिउँ जम्यो। हिउँ जमेपछि नदीमा पानीको बहाव कम भयो। त्यसको सोझो असर पर्यो, बिजुली उत्पादनमा।
नेपाल विद्युत प्राधिकरणका अनुसार कालीगण्डकी ए बाट मंसिर पहिलो साता पोहोरभन्दा २२ मेगावाट बिजुली कम उत्पादन भयो। १४४ मेगावाट क्षमताको यो आयोजनामा दिनभरि पानी जम्मा गरेर पिक आवरमा बिजुली निकालिन्छ।
पानीको बहाव कम भएपछि ७० मेगावाटको मध्यमर्स्याङ्दी पनि पोहोर यही समयभन्दा ८ मेगावाट र ६९ मेगावाटको तल्लो मर्स्याङ्दीमा १० मेगावाट बिजुली कम उत्पादन भयो। देशभरिका आयोजनामा यो साल मंसिर पहिलो साता पोहोरभन्दा झन्डै ४५ मेगावाट बिजुली कम उत्पादन भयो।
बिजुलीको माग भने नदीमा पानीको बहाव घट्नुअघि बढीसकेको थियो।
पोहोर लक्ष्मी पूजाको साँझ देशभरि १४४४ मेगावाटले बत्ती बाल्न पुगेको थियो। यसपालि लक्ष्मीपूजाको साँझ १५०८ मेगावाट बिजुली खपत भयो। जबकी लक्ष्मीपूजा यसपालि पोहोरभन्दा २ हप्ताअघि परेको थियो।
यो हिउँदमा बिजुलीको माग पोहोरभन्दा १४५ मेगावाट बढ्ने प्राधिकरणको प्रक्षेपण छ। पोहोर माघ–फागुनमा बिजुलीको माग १३२५ मेगावाटसम्म पुगेको थियो, यसपालि १४७० मेगावाट बिजुली चाहिने प्राधिकरणको अनुमान छ।
माग बढे पनि प्राधिकरणले हिउँदमा देशभरि लोडसेडिङ नगर्ने लक्ष्य लिएको छ। पोहोर लक्ष्मीपूजाबाट काठमाडौं आसपासमा लोडसेडिङ हटेको थियो भने पछि पोखरा, विराटनगर लगायतका सहरलाई लोडसेडिङ मुक्त पारिएको थियो।
यसपालि निजी क्षेत्रका आयोजनाबाट ६० मेगावाट बिजुली थपिएपनि प्रर्याप्त नभएकाले लोडसेडिङ हटाउन भारतमाथि थप निर्भर हुनुपर्ने भएको छ।
प्रवक्ता अधिकारीका अनुसार यसपालि भारतबाट थप ८५ मेगावाट बिजुली किन्ने प्राधिकरणको तयारी छ। पोहोर भारतबाट ३८५ मेगावाटसम्म बिजुली आयात भएकोमा यसपालि ४७० मेगावाट बिजुली आयात गर्नु पर्ने भएको हो।
प्राधिकरणले नयाँ बनेका दुई प्रसारण लाइन कटैया–कुशहवा रक्सौल–परवानीपुरबाट १००, टनकपुर–महेन्द्रनगरबाट ३५, सुरजपुरा–गण्डकबाट ३५, ढल्केबर–मुजफ्फपुरबाट १३०, पुरानो कटैया–कुशहवाबाट १३० र विभिन्न साना प्रसारण लाइनबाट ४० मेगावाट बिजुली भारतबाट आयात गर्ने योजना बनाएको छ।
मंसिर दोस्रो सातासम्म भारतबाट ३०७ मेगावाट बिजुली आयात भइरहेको छ। अहिले देशभित्र प्राधिकरणले ३५० र निजी क्षेत्रबाट २८३ मेगावाट बिजुली उत्पादन गरिरहेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij